मधेसी मोर्चाद्वारा संविधान संशोधनको ‘मौन स्वागत’
काठमाडौं– मधेसी मोर्चाले संविधान संशोधनको विरोध गरेको जस्तो गरेपनि भित्रभित्रै भने त्यसको स्वागत गरेको तथ्य फेला परेको छ । विगत पाँच महिनादेखि मधेसी मोर्चाले तराई मधेसमा नाकाबन्दीसहितको आन्दोलन गर्दै आएको र उसको मागकै सम्बोधनको लागि व्यवस्थापिका संसदबाट शनिबार संविधान संशोधन विधेयक पारित भएको थियो । सोलगत्तै मोर्चाले आफूहरुको माग पूरा नभएको अभिव्यक्ति दिँदै आएपनि भित्रभित्रै भने संशोधनको स्वागत गरेको हो । मोर्चाको सोमबार जारी गरेको विज्ञप्तीले त्यसलाई पुष्टि गरेको छ । मोर्चाको विज्ञप्तीमा संशोधनको मौन समर्थन गर्दै भनिएको छ, ‘हाम्रा मुद्दाहरुको राजनीतिक सम्बोधन नभएसम्म सघर्ष हाम्रो बाध्यता भएकाले यी सबै मुद्दाहरुको एकमुष्ट सम्बोधन नहुन्जेल आन्दोलन यथावत रहने स्पष्ट पादछौं ।’ स्रोतका अनुसार मोर्चाले संशोधनमा समर्थन रहेपनि सबै माग पूरा नभएको र त्यसको एकाएक समर्थन गर्दा जनता थप रुष्ट हुने देखेर बाहिर विरोधजस्तो गरेपनि भित्रभित्रै भने मौन समर्थन गरेको हो । यसविषयमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष रामबाबु रावतले विज्ञप्तीप्रति ढाकछोपको प्रयास गर्दै भने, विज्ञप्तीको भाषा बिग्रिएको हुन सक्छ, तर हामीलाई संशोधन स्वीकार्य छैन ।’ यसअघि मोएमाओवादी अध्यक्ष प्रचण्डले संविधान संशोधन भएपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु पनि खुसी बनेको दाबी गरेका थिए । आइतबार बिहान पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान संशोधनपछि अब सीमांकनको विषय मिल्ने जिकिर गरेका थिए । प्रचण्डले भनेका थिए, ‘संविधानको पहिलो संशोधनपछि मोर्चाका साथीहरु पनि भित्रभित्रै खुसी हुनुहुन्छ । तर, सीमांकन नमिलेसम्म वहाँहरु बोल्ने अवस्था नभएकाले अहिले केही बोल्नुभएको छैन ।’ प्रचण्डको आइतबारको अभिव्यक्ति र मोर्चाको आजको विज्ञप्तीले मोर्चाको संशोधनमा भएको समर्थनलाई थप पुष्टि समेत गरिदिएको छ । स्मरण रहोस् मोर्चाकै मागको सम्बोधनकै लागि कांग्रेस एमाले र एमाओवादीको समर्थनमा मोर्चाको बहिस्कारकाबीच शनिबार संविधान संशोधन भएको थियो । संविधान संशोधनबाट मोर्चाको केहि माग पूरा भएको भएपनि नागरिकता लगायतको विषय अझैं सम्बोधन नभएकाले ‘बार्गेनिङ’ र जनतामा विस्वास कायमै राख्न संशोधनको विरोध गर्दै आएको बताइन्छ ।
यद्यपी मोर्चाले माग पूरा गर्न सरकार गम्भीर नभएको भन्दै थप आन्दोलनको घोषणा गरेको छ ।
मोर्चाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
घोषित कार्यक्रमअनुसार माघ १३ अनुसार शहिदको सम्मानमा सदरमुकामहरुमा सर्वजनिक स्थानमा मैनवत्ती प्रज्वलन गर्ने, माघ १६ गते जनतालाई आन्दोलन र विकसित परिस्थितिबारे जानकारी गराउन क्षेत्रीयस्तरका सभाहरु गर्ने र माघ १८ गते सदरमुकामहरुमा राजनीतिकर्मी, बुद्धिजीवि, कर्मचारीसहित समाजका सबैवर्गलाई सहभागि गराएर आन्दोलन र विकसित परिस्थितिबारे जानकारी दिने रहेको छ । मोर्चाले अरु थप आन्दालको कार्यक्रम पनि सोपछि घोषणा गर्ने बताइएको छ । यसअघि लामो समयदेखि मोर्चाले मधेसमा विरोधका कार्यक्रमका साथै सीमानाकामा अवरोध गर्दै आएको छ । मोर्चाले आफूहरु वार्ताको लागि सकारात्मक हुँदाहुँदै पनि सरकारबाटै वार्ताको वातावरण विगार्ने काम भएको आरोप समेत लगाएको छ । पत्रकार सम्मेलनमा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले एकतर्फी रुपमा भएको संशोधन मोर्चालाई अस्वीकार्य रहेको भन्दै आन्दोलन नरोकिने बताए । उनले वार्ताको वातावरण समेत सरकारकै कारण विग्रिएको दाबी गर्दै भने, ‘ वार्ताको लागि हामी लचक छौं तर हालसम्म हामीसँग कुनै अपौचारिक र अनौपचारिक कुराकानी भएको छैन। वार्ताको वातावरण सरकारबाटै विगार्ने काम भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण