सहिदका नाममा निर्माण हुन लागेको स्मारक अलपत्र
काठमाडौँ–मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि जीवन अर्पण गर्ने सहिदको सम्झनामा काठमाडौँको गोकर्णमा सरकारले निर्माण गर्न लागेको राष्ट्रिय सहिद स्मारक अलपत्र बनेको छ ।
‘लोकतन्त्र, शान्ति र राष्ट्रिय एकताका लागि भन्ने’मूल नाराका साथ सहिदको बलिदानीलाई चिरस्थायी एवम् सदा ताजगी राख्नका लागि मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ र मन्त्रिपरिषद् सामाजिक समितिको मिति विसं २०६४ जेठ २८ को निर्णयानुसार गोकर्णमा राष्ट्रिय सहिद तथा शान्ति तथा निजामती स्मारक निर्माण गर्ने निर्णय भएको थियो ।
यज्ञडोल सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा सहिदका नाममा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजना अन्तर्गत स्मारक निर्माण भइरहेको हो । स्मारकको काम निर्माण व्यवसायीको ढिलासुस्तीका कारण ढिला हुन पुगेको स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।
“विस्तृत आयोजना प्रतिवेदन कार्यकारी सारांश परियोजना कार्यान्वयन तालिका अनुसार पार्क सञ्चालन आरम्भ २०७१ साल वैशाखमा हुनुपथ्र्यो, पार्कका सबै निर्माणका काम २०७२ साल चैत मसान्तमा सकिनुपथ्र्यो, तर प्राथमिकता प्राप्त आयोजनाको काम सकिनुपर्ने समयमा आधा पनि सकिएको छैन”– उनले भने ।
स्मारक अन्तर्गत चार क्षेत्र छुट्याइएको छ । स्मारकको ६५० रोपनी क्षेत्रफलमध्ये ७२ रोपनीमा सहिदको स्मृति क्षेत्र, ५२ रोपनीमा संस्थागत क्षेत्र, १७२ रोपनीमा मनोरञ्जन क्षेत्र, १५ रोपनीमा धार्मिक क्षेत्र र ३३९ रोपनीमा संरक्षित क्षेत्र गरी गुरुयोजनामा चार क्षेत्र निर्धारण गरिएको हो ।
स्मृति क्षेत्रमा शान्ति पिरामिड, सहिद सङ्ग्रहालय, निजामती स्मारक, शान्ति स्तूप, सहिद स्मारक, शौचालय, खानेपानी र पैदल मार्ग लगायत संरचना निर्माण हुँदैछ । संस्थागत क्षेत्रमा बहुउद्देश्यीय कक्ष, सामुदायिक पसल, स्मारक व्यवस्थापन कार्यालय, सामुदायिक भवन, सीप विकास तालिम एवम् अध्ययन केन्द्र र रेस्टुराँ बन्दैछ ।
मनोरञ्जन क्षेत्र अन्तर्गत विसं २०६४ असोज ९ गते ताप्लेजुङ जिल्लाको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका वन राज्यमन्त्री गोपाल राई लगायत वन र संरक्षण क्षेत्रका २४ व्यक्तित्वको स्मृतिमा स्मारक निर्माण हुनेछ । यस अन्तर्गत विभिन्न प्रजातिका फूल र बोटबिरुवाको बगैँचा, वनभोजस्थल एवम् मृगस्थली निर्माण भइरहेको छ ।
धार्मिक क्षेत्र अन्तर्गत ऐतिहासिक भगवती मन्दिर, प्रवचन कक्ष लगायत संरचना निर्माण सम्पन्न भइसकेको छ । यो संरचना स्थानीयवासीको जनसहभागितामा निर्माण भएको स्मारक समितिले जनाएको छ ।
स्मारक यज्ञडोल सामुदायिक वन गोकर्णको विस्तृत आयोजना कार्यकारी सारांश बमोजिम निर्माणको काम डाँफे÷गौरी, पर्वत÷सुनौला खिम्ती जेभी, बोखिम कन्स्ट्रक्सन शान्तिनिर्माण सेवा, सूर्य÷आबि÷जनपथ÷जेभी र चक्रेश्वरी/सूर्यजीवन जेभीका निर्माण व्यवसायीलाई छनोट गरी २०६८ सालदेखि निर्माण गर्ने जिम्मेवारी दिइएको हो ।
मन्त्रालयका तर्फबाट सहिद स्मारक आयोजना हेर्न खटिएका आयोजना प्रमुख ध्रुवप्रसाद पौडेल ठेकेदारसँग सम्झौता भई काम सुरु गर्ने समयमा वनसँग रुख काट्ने अनुमति नलिएकाले ढिला हुन पुगेको स्विकार्छन् । “वनसँगको समस्या समाधान भएपछि निर्माण सामग्रीको अभाव र निर्माण सामग्री पाउन थालेपछि नाकाबन्दीले डिजेलको समस्याले नसकिएको हो, अब आव २०७२/०७३ मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ”– उनले भने ।
स्मारकको काम नयाँ नमुनाअनुसार सरकार, समुदाय र निजी साझेदारीमा भइरहेको छ । यो नमुना अनुसार सरकारी बजेटमा काम हुन लागेको स्मारक नेपालकै पहिलो उदाहरण हो । नीतिगत अप्ठ्याराका कारण गुरुयोजनानुसारको भौतिक संरचना निर्माण गर्ने स्थानमा सामुदायिक वनका रुख परेको थियो । काटिएको रुखको पाँच गुणा बढी रोप्ने निर्णय गरिएको एक वर्षपछि मात्र काम सुरु भएको थियो ।
स्वीकृत गुरुयोजनामा उल्लिखित काम र मन्त्रिपरिषद् सामाजिक समितिको २०६९ वैशाख ४ को निर्णयलाई कार्यान्वयनमा ल्याउन लागिएको स्मारकले जनाएको छ । सहिदको अभिलेख सङ्कलन र सहिद तथा घाइतेसँग जोडिएका ७५ जिल्लाका सङ्घसंस्थाबीच स्थानीय शान्ति समितिमार्फत समन्वय गर्ने जिम्मेवारी पनि सरकारले स्मारकलाई दिएको छ ।
सहिदको परिभाषा एवम् वर्गीकरण र सहिदसम्बन्धी विभिन्न प्रतिवेदनलाई एकीकृत गरी अगाडि बढाइनुपर्ने अध्यक्ष सिग्देल बताउँछन् । परिभाषा एवम् वर्गीकरण गर्न गृह र शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट समितिको समेत सहभागितामा कार्यदल गठन गरिएको छ । गुरुयोजनामा व्यवस्था भए बमोजिम अङ्ग्रेजी र नेपालीमा सहिदको अभिलेख राखिने छ ।
निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा अहिलेसम्म सञ्चालनमा आउनुपर्ने स्मारक अलपत्र बन्न पुगेको स्मारकका सदस्य सचिव गोविन्दबहादुर श्रेष्ठले बताए । “हाल ४५ प्रतिशत काम सम्पन्न भएकाले पहिलो चरणको काम छ महिनाभित्रमा सम्पन्न गर्ने गरी समय थपिएको छ”– उनले भने ।
स्मारकको स्वामित्वमा रहेको तर अहिलेसम्म नापीमा यकिन गर्न नसकिएको जग्गा नापी विभागको सहयोगमा छुट्याई सोको समुचित सुरक्षा गर्ने काम हुन लागेको छ । स्मारक निर्माणको लागत सहायक स्मारक बाहेक रु ४६ करोड ७१ लाख अनुमान गरिएको छ । मूल स्मारक अन्तर्गत २००७ सालको क्रान्ति स्मारक बूढानीलकण्ठ नगरपालिकाको पञ्चकन्या सामुदायिक वनमा, पञ्चायतकालका सहिदको स्माकर कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी सामुदायिक वनमा, २०४६ सालको आन्दोलनका सहिदको स्मारक बूढानीलकण्ठ नगरपालिकाको गुठ सल्लाघारी सामुदायिक वनमा, दशवर्षीय जनयुद्धका सहिदको स्मृति स्मारक गोकर्णेश्वर नगरपालिकाको गाम्चा सामुदायिक वनमा र पत्रकार एवम् नागरिक समाजका सहिदको स्मारक डुमुकी सामुदायिक वनमा निर्माण गर्न लागिएको स्मारकका कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण