शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ

शनिबार, ०९ साउन २०८३, २१ : २६
शनिबार, ०९ साउन २०८३

कोस्टारिका । कोस्टारिकाको प्रहरीले देशका सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर अलेजान्ड्रो एरियास मोन्गेलाई पक्राउ गरेको छ।

पक्राउ अभियानका क्रममा भएको सुरक्षा कारबाहीमा एक जनाको मृत्यु भएको छ भने आठ जना प्रहरी घाइते भएका छन्।

कोस्टारिकाका महान्यायाधिवक्ता कार्लोस डियाजका अनुसार ‘एल डियाब्लो’ उपनामले चिनिने मोन्गेलाई शुक्रबार बिहान उत्तरपूर्वी हेरेडिया प्रान्तको रियो फ्रियोबाट पक्राउ गरिएको हो। उनको पक्राउका लागि अमेरिकाले पाँच लाख अमेरिकी डलर पुरस्कार घोषणा गरेको थियो।

डियाजका अनुसार ग्रामीण क्षेत्रमा आपराधिक समूहका नाइकेहरूको बैठक भइरहेको सूचनाका आधारमा सुरक्षा निकायले कारबाही गरेको थियो। उक्त कारबाहीमा अर्का आपराधिक समूहका नाइके रोनी रियोस मारिएका छन्।

सुरक्षा कारबाहीका क्रममा करिब दुई हजार पाँच सय राउन्ड गोली चलेको र आठ जना प्रहरी घाइते भएको महान्यायाधिवक्ता डियाजले जानकारी दिएका छन्।

सान जुआनस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै सफल कारबाहीका लागि कोस्टारिका सरकारलाई बधाई दिएको छ।

अधिकारीहरूका अनुसार ‘एल डियाब्लो’ करिब एक दशकदेखि फरार थिए। उनी फरार अवधिको केही समय छिमेकी मुलुक निकाराग्वामा लुकेर बसेको आशङ्का गरिएको छ।

कुनै समय मध्य अमेरिकाकै सुरक्षित मुलुकका रूपमा चिनिएको कोस्टारिकामा पछिल्ला वर्षमा लागुऔषध तस्करी र सङ्गठित अपराधका गतिविधि बढ्दै गएपछि सुरक्षा चुनौती थपिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप