आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँमा काँग्रेसको वडा अधिवेशन सम्पन्न

शुक्रबार, १५ माघ २०७२, १९ : १३
शुक्रबार, १५ माघ २०७२

काठमाडौँ–नेपाली काँग्रेसको १३औँ महाधिवेशन तयारीका क्रममा काठमाडौँ जिल्लाका महानगरपालिका र नगरपालिकाका वडामा वडा अधिवेशन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।

जिल्लाका एक महानगर र नौ वटा नगरपालिकामा आज अधिवेशन सम्पन्न भएको काँग्रेस काठमाडौँले जनाएको छ । काठमाडौँ महानगरपालिका, कीर्तिपुर, तारकेश्वर, चन्द्रागिरी, दक्षिणकाली, नागार्जुन, टोखा, बूढानीलकण्ठ, गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकाका २१० वडामा आज शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको सभापति भीमसेनदास प्रधानले जानकारी दिए ।

“जिल्लाभरबाट एक हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन्, आज नगरका वडाको मात्र अधिवेशन गरिएकाले नगर समिति गठनका लागि अर्को दिन अधिवेशन गरिनेछ, धेरै ठाउँमा प्रजातान्त्रिक प्रक्रियाअनुसार मतदान भएको छ, कतै पनि अप्रिय घटना भएको छैन”– उनले भने ।

गाउँ/वडा तहको अधिवेशन सम्पन्न

नेपाली काँग्रेसको १३ औँ महाधिवेशनअन्तर्गत गाउँ तथा नगरपालिका वडा तहको अधिवेशन सम्पन्न भएको छ ।

ललितपुर उपमहानगरपालिकासहित बज्रबाराही, गोदावरी, कार्यविनायक र महालक्ष्मी नगरपालिकामा रहेका ९६ वटा वडाबाट क्षेत्रीय प्रतिनिधि चयन सम्पन्न भएको हो ।

नगरपालिकाका प्रत्येक वडाबाट एक÷एक महिला र वडा सभापतिलगायत दुई जना प्रत्यक्ष रुपमा क्षेत्रीय प्रतिनिधि चयन भएको काँग्रेस जिल्ला सचिव रविन्स शर्माले बताए ।

उपमहानगरपालिकाका हकमा भने एक वडा सभापतिसहित छ जना क्षेत्रीय प्रतिनिधि र गाउँ तहबाट न्युनतम १० जना क्षेत्रीय प्रतिनिधि चयन गरिने व्यवस्था रहेको उनले बताए ।

गाउँतहबाट चयन गरिने प्रतिनिधिहरुमा दुई महिला, एक दलित, एक आदिवासी जनजाति, एक मधेसी/मुस्लिम/पिछडिएको/अल्पसङ्ख्यक र प्रत्यक्ष रुपमा चार जना रहने व्यवस्था रहेको छ ।

नगरपालिकाको तर्फबाट जम्मा ४४४ जना र १९ गाविसवाट १९० गरी कुल ६३४ जना क्षेत्रीय प्रतिनिधि चयन भएको बताइएको छ । जसमध्ये ११५ जना गाउँ/वडा सभापति र न्यूनतम १३५ जना महिला प्रतिनिधि रहेको उनले बताए ।

यसरी चयन भएका प्रतिनिधिले क्षेत्रीय कार्यसमिति, जिल्ला सदस्य र महाधिवेशन एवम् महासमिति सदस्य छानिने अधिकार रहने काँग्रेसको विधानमा उल्लेख गरिएको छ ।

जिल्लाभरिका क्षेत्रीय प्रतिनिधिहरुले जिल्ला सभापति, जिल्ला सचिव तथा जिल्ला कोषाध्यक्षको चयन गर्न सकिने अधिकार रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप