आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पत्रकारको वर्गीकरण र योग्यता निर्धारण गरिनुपर्छ

शुक्रबार, १५ माघ २०७२, १९ : २६
शुक्रबार, १५ माघ २०७२

काठमाडौँ– पत्रकारिता क्षेत्रलाई व्यावसायिक, योग्य, मर्यादित, भरपर्दो, जिम्मेवार, पारदर्शी र सक्षम बनाउनका लागि पत्रकारको योग्यता र वर्गीकरणको मापदण्ड निर्धारणबारे छलफल थालिएको छ ।

नेपालमा बदलिँदो संवैधानिक परिपेक्षमा प्रजातन्त्रको आधार मानिने पत्रकारिता पेसाको उच्च मर्यादा र व्यावसायिकतालाई ध्यानमा राखेर प्रेस काउन्सिल नेपालले पत्रकारको वर्गीकरण र योग्यता निर्धारणबारे छलफल अगाडि बढाएको हो ।

“कानुन व्यवसायी, इन्जिनियर, चिकित्सक, नर्स, चार्टर एकाउन्टेन, प्राध्यापक वा शिक्षक हुनका लागि योग्यता चाहिन्छ भने पत्रकार हुनका लागि पनि योग्यता चाहिन्छ, परीक्षा उत्तीर्ण गर्नुपर्छ, त्यसैले यसबारेमा काउन्सिलले छलफल अगाडि बढाएको छ”– काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले भने।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले पत्रकारको योग्यताको विषयमा संसारभर छलफल भइरहेका अवस्थामा नेपालमा पनि योग्यता निर्धारण गरेर व्यावहारिक पत्रकारिता गर्न जरूरी रहेको बताए ।

“पत्रकार महासङ्घले यसबारेमा छलफल गरेको छैन, तर पत्रकार बन्नका लागि कम्तीमा पत्रकारितामा स्नातक गरेको हुनुपर्छ सँगै तालिमको पनि आवश्यकता छ”– अध्यक्ष विष्टले भने ।

सर्वोच्च अदालतका पूर्वरजिस्टार डा रामकृष्ण तिमल्सेनाले अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा औपचारिक पत्रकारिताको अध्ययनबिना पत्रकारिता गरेको पाइँदैन, सुरूका दिनमा पत्रकार स्वअध्ययन र तालिमबाट खारिँदै आउने गरेको अनुभव भए पनि अहिले विश्वका अधिकांश देशले पत्रकारिताको अध्ययनलाई नै आधार मानेको देखिन्छ भने ।

‘दिव्यचक्षु’ साप्ताहिकका प्रबन्ध सम्पादक अश्वस्थामाभक्त खरेलले पत्रकारिता क्षेत्रको व्यावसायिकतासँगै गुणात्मक विकासका लागि पत्रकारले परीक्षा उत्तीर्ण गरेरमात्र लाइसेन्स ९परिचयपत्र० लिन पाउनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

पूर्वरजिस्टार तिमल्सेनाका अनुसार संयुक्तराज्य अमेरिकामा एक हजार ५०० भन्दाबढी संस्थाले पत्रकारिताको डिग्री प्रोग्राम सञ्चालन गरेको छ । उनको भनाइमा अमेरिकामा सामान्यतया पत्रकार बन्नका लागि स्नातक तहको पत्रकारिता वा आमसञ्चारको अध्ययन गरेको हुनुपर्छ ।

अस्ट्रेलियामा पत्रकार हुन पत्रकारितामा डिग्री लिई एक वर्षको क्याडेटसीप लिन आवश्यक छ । यदि त्यस्तो योग्यता नभए तीन वर्षको क्याडेटसीप अनिवार्य मानिन्छ । संयुक्त अधिराज्यमा कुनै विषयको ग्राजुएट र अन्डरग्राजुएटमा पत्रकारिता अध्ययन गरेको व्यक्ति पत्रकार बन्न सक्छ ।

वरिष्ठ पत्रकार हुनका लागि कम्तीमा १५ वर्षभन्दा बढी नियमित पत्रकारिता पेसामा संलग्न भएको हुनुपर्ने, पत्रकार हुनका लागि पत्रकारितामा कम्तीमा स्नातक तहको अध्ययन पूरा गरेको वा स्नातक तह उत्तीर्ण गरी पत्रकारिताको तालिम लिनुपर्नेबारे छलफल भइरहेको छ । तर माथि उल्लेखित व्यवस्था लागू हुनुपूर्व नै पत्रकारिता गरिरहेको व्यक्तिलाई न्यूनतम शैक्षिक योग्यताको प्रावधान नराख्ने संवाददातामा पनि वरिष्ठ संवाददाता, संवाददाता वा सहायक समाचारदाताका रूपमा राख्न उपयुक्त हुनेबारे छलफल अगाडि बढेको छ ।

नेपालमा व्यावसायिक पत्रकारिताको आवश्यकता भइरहेका अवस्थामा उपयुक्त स्वतन्त्र संयन्त्रले पत्रकारको योग्यता परीक्षण गरी पत्रकारिता गर्नका लागि प्रमाणपत्र दिने, पत्रकारको वरिष्ठताका आधारमा वर्गीकरण गर्ने, पत्रकार बन्नु पूर्वतोकिए बमोजिमको सपथ ग्रहण गर्नुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन् ।

पत्रकार रामकृष्ण पौडेलले पत्रकारितामा आउनका लागि कुनै पनि परीक्षा उत्तीर्ण गर्न नपर्ने भएका कारण पनि पत्रकार आचारसंहिता उल्लङ्घन भइरहेको टिप्पणी गरे ।

नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेले पत्रकारको वर्गीकरण र योग्यता नतोकिएका कारण पनि पत्रकारिता क्षेत्रमा विकृति मौलाउँदै गएको अवस्थामा जतिसक्दो चाँडो मापदण्ड बनाइ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप