बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

राम्रो काम गरे कसैसँग डराउनु पर्दैन : प्रधानमन्त्री ओली

आइतबार, ०२ फागुन २०७२, १७ : ३०
आइतबार, ०२ फागुन २०७२

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीतन्त्रमा काम पन्छाउने र आफूभन्दा ठूला पदका व्यक्तिसँग डराउने प्रवृत्तिप्रति असन्तोष व्यक्त गर्दै राम्रो काम गरे कसैसँग पनि डराउनु नपर्ने बताएका छन् ।

विकास सम्झौता कार्यान्वयनका लागि जिल्ला तहका सरकारी अधिकारीका लागि आयोजित तालिमको उद्घाटनमा प्रधानमन्त्री ओलीले सरकारी कर्मचारीलाई निर्भीकताका साथ राम्रो काम गर्न आग्रह गरे ।

लगानी बोर्डको कार्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित सो कार्यक्रममा ठूला परियोजनामा स्थानीय जनताको अवरोध देखिने गरेकामा चिन्ता व्यक्त गर्दै उनले भने, “स्थानीय प्रशासन र लगानीकर्ताले स्थानीय जनतालाई सम्झाई विश्वस्त बनाउनुपर्छ ।”

उनले राजनीतिक अधिकारका रुपमा संविधानसभाबाट संविधान जारी भइसकेकाले अब विकास र समृद्धिमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले विकास आयोजनालाई दु्रतगतिमा अघि बढाउन सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रियालाई छोट्याएको उल्लेख गर्दै अबको कर्मचारीतन्त्र सामाजिक सम्बन्धमुखी र विकासमैत्री हुनुपर्नेमा जोड दिए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तलेस्थानीय प्रशासनले प्रभावित क्षेत्रका जनतामा आयोजनाप्रति अपनत्वको भावना जगाउनु अपरिहार्य रहेको धारणा राखे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले मुलुकको विकास प्रशासन थला परेको अवस्थामा यस्ता तालिमले स्थानीय कर्मचारीमा जिम्मेवारी र उत्तरदायित्व वहन गर्ने भावना जगाउने विचार व्यक्त गरे ।

तालिम यही फागुन ६ गतेसम्म चल्नेछ । तालिममा माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् परियोजना प्रभावित जिल्ला दैलेख, अछाम, सुर्खेत र सङ्खुवासभाका प्रजिअ, स्थानीय विकास अधिकारी, मालपोत अधिकृत, वन अधिकृत र नेपाल विद्युत् प्राधिकरणका प्रमुख गरी २० जनाको सहभागिता छ ।

स्थानीय अधिकारीलाई विकास परियोजना सम्झौतालाई कार्यान्वयन गर्ने सम्बन्धमा देखिने चुनौती तथा समस्यालाई समाधान गर्न कसरी काम गर्ने सम्बन्धमा विज्ञबाट तालिम दिइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप