बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

उदयपुरमा यस वर्ष सात करोडको तेजपात उत्पादन

शनिबार, ०१ फागुन २०७२, १० : ५९
शनिबार, ०१ फागुन २०७२

गाईघाट – उदयपुर जिल्लाको मध्य पहाडी तथा पूर्वी पहाडी क्षेत्र र पश्चिमी पहाडी क्षेत्रमा व्यावसायिक रूपमा खेती गरिँदै आएको तेजपात उत्पादनमा वृद्धि भई यस वर्ष झन्डै सात करोडको तेजपात उत्पादन भएको छ ।

जिल्ला वन कार्यालय उदयपुरका अनुसार जिल्लाको पश्चिमी पहाडी क्षेत्रको सिरिसे, हर्देनी, मयङ्खु, तावाश्री क्षेत्रमा यस वर्ष तेजपात उत्पादनमा वृद्धि भएको हो ।

यस्तै जिल्लाको मध्य पहाडी गाविसको डुम्रे, मुर्कची, साउने, खाँबु र भुटार क्षेत्रमा पनि यस वर्ष राम्रो मात्रामा तेजपात उत्पादन भएको छ ।

जिल्लाको पूर्वी क्षेत्रको कटुञ्जे बबला, सिद्धिपुर र चौदण्डी क्षेत्रमा पनि राम्रो तेजपात उत्पादन भएका कारण जिल्लामा कुल सात करोड बराबरको तेजपात उत्पादन भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।

उदयपुर जिल्लामा २५० हेक्टर क्षेत्रफल जग्गामा उत्पादन हुँदै आएको तेजपात पछिल्लो चरणमा अझ वृद्धि भएर यसको खेतीको विस्तार भएको जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले बताए।

जिल्लाको सबैभन्दा बढी तेजपातखेती हुने रौता गाविसको मुकुची क्षेत्र रहेको छ । यस क्षेत्रमा विश्वकै सबैभन्दा उत्कृष्ट जातको सिनामोल अमला नामको तेजपात उत्पादन हुने तेजपात व्यवसायी भरत थापा बताउँछन् ।

मुर्र्कुची क्षेत्रमा मात्र झन्डै दुई करोड ५० लाख बराबरको तेजपात उत्पादन हुने गरेको थापाले बताए ।

जिल्ला वन कार्यालयका अनुसार जिल्लामा सिनामोल अमला र सिनामोल टोलमाला नामका दुई जातका तेजपात उत्पादन हुँदै आएका छन् । सिनामोल अमला विश्वको नै उत्कृष्ट तेजपात रहेको वनका कर्मचारीहरू बताउँछन् ।

अहिले जिल्लाको स्थानीय बजारमा तेजपातको बजार मूल्य प्रतिकेजी रु ४० देखि रु ६० सम्म रहेको तेजपात उत्पादक कृषक बताउँछन् ।

बहुउपयोगी तेजपात मुख्य त यसको पात र बोक्राबाट औषधि, मसला तथा खाद्य पदार्थलाई सुगन्धित बनाउका लागि प्रयोग हुने गरेको छ ।

तेजपात उत्पादनमा वृद्धि भए पनि यस वर्ष असोजदेखि तराईका नाका बन्द हुँदा सोचेजस्तो तेजपात बिक्री हुन नसकेको रौता–७ मुर्कचीका एक कृषक होमराज मगरले बताए ।

अहिले तराईका नाकाहरू खुल्ने क्रम सहज भएपछि यसको बिक्रीमा सहज हुन थालेको तेजपात उत्पादक कृषक बताउँछन् ।

उदयपुरको पश्चिमी पहाडी क्षेत्रमा उत्पादन भएका तेजपात जिल्लाको कटारी बजार हुँदै वीरगन्ज तथा विराटनगर भएर भारत निर्यात हुने गरेको छ ।

जिल्ला वन कार्यालय उदयपुरले आठवटा विभिन्न नर्सरीबाट झन्डै तीन लाख ५० हजार तेजपातका बिरुवा वितरण गरेपछि यसको खेतीमा अझ विस्तार भएको जिल्ला वन कार्यालय उदयपुरले बताएको छ ।

यस्तै उत्पादित तेजपातको भण्डारणमा समस्या र ठेकेदार तथा दलालका कारण सही मूल्य पाउन नसक्दा आफूहरू पीडित बन्न परेको मुर्कची–७ का तेजपात उत्पादक कृषक विजय बलाम्पाकी मगर बताउँछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप