साफ च्याम्पियन जित्दा विराट गोल्ड कप चम्किने आशा
काठमाडौं–पूर्वको चर्चित र ऐतिहासिक ‘विराट गोल्ड कप फुटबल टुर्नामेन्ट–२०७२’ आउँदो ६ गते (बिहीबार)देखि मोरङको विराटनगरमा सुरु हुँदैछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय गरेर दश वटा टिमले सहभागीता जनाउने प्रतियोगितामा देशका चर्चित फुटबलरहरुको जम्काभेट हुँदैछ । २३ वर्ष अघिदेखि जित्न नसकेको साफ गेम जिताएर चर्चाको शिखरमा पुगेका इलामका नवयुग श्रेष्ठका फ्यानहरु उनलाई भेट्न ब्यग्र प्रतिक्षामा छन् । यस्तै अर्का खेलाडी विमल घर्तीमगर, अञ्जन विष्ट जस्ता स्ट्राइकरको खेल हेर्न पनि यहाँका फुटबल प्रेमीहरु उत्सुक छन् । यस्तै सुनसरीका प्रकाश बुढाथोकी पनि एक फुटबल प्रेमीका लागि प्रिय नाम हो । जसले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा भारत विरुद्ध विश्वस्तरीय फ्रि किक प्रहार गरे ।
यस्तै नेपाली राष्ट्रिय टोलीकै गोलकिपर विकेश कुथु पनि यहाँका फुटबल प्रेमीले मनपराएको नाम हो । उनले भारतले लगातार प्रहार गरेको गोलको उत्कृष्ट बचाउ गर्दै साफ च्याम्पियन बन्ने नेपाली टोलीलाई हारबाट बचाएका थिए । यि खेलाडीहरुको सहभागीता हुने कारणले पनि यस पटकको विराट गोल्डकप अझ बढी रोमाञ्चित र चर्चित बन्ने अपेक्षा गर्न सकिन्छ । नेपाली टोली साफ च्याम्पियन भएसँगै आफूहरुको पनि उत्साह थपेको विराट गोल्डकप आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतले बताए । ‘हाम्रो हौसला बढेको छ, यसले गर्दा दर्शक धेरै आउने अपेक्षा गरेका छौं ।’ ‘यस अघिका खेल प्रतियोगितामा प्रचार र माइकिङ गर्दा पनि दर्शकको अभाव देखिन्थ्यो,’ उनले भने ‘यस पटक त्यसै पनि फुटबलको चर्चा चुलिएको छ, कारण साफ गेम र बंगबन्धु गोल्डकप नै हो, त्यही राष्ट्रिय टोलीका चर्चित खेलाडीहरु यहाँ पनि विभिन्न क्लबमार्फत खेल्न आउँछन् ।’ ¬मोरङ फुटबल क्लवका प्रशिक्षक संजीव बुढाथोकीको विचारमा साफ च्याम्पियन जित्नुको मज्जा यस पटक विराट गोल्डकपले पनि लिँदैछ । ‘दर्शकको ओइरो लाग्ने त निश्चित नै छ त्यसका अलावा ओरालो लाग्दै गएको फुटबल खेलमा नयाँ आशा र नयाँ रक्तसंचार पनि गराउने देखिन्छ,’ बुढाथोकीले भने, ‘जसको फाइदा विराट गोल्डकपले लिने छ ।’ यस्तै पूर्व राष्ट्रिय टिमका सदस्य तथा अहिलेका मोरङ फुटबल क्लवका क्याप्टेन दिपक राई साफ च्याम्पियन नेपालले जित्दा आफैं खेलिरहेको अनुभव गरेको सुनाउँछन् । ‘खेल क्षेत्रमा पनि भारतीयहरुले दबाब र हेपाहा प्रवृत्ती देखाइरहेको बेलामा उनीहरुकै भूमिमा हाम्रा साथीहरुले राम्रो प्रदर्शन मात्र गरेनन् नेपाली फुटबल टिममा पनि क्षमतावान साथीहरु छन् भन्ने प्रमाणित गरे ।’ त्यसको असर विराट गोल्डकपमा पनि देखिने राईले दाबी गरे । ‘तपाइँ हेर्दै गर्नुहोला यस पटकको विराट गोल्डकपमा दर्शकको कमि हुँदैन,’ उनले भने, ‘साफ च्याम्पियन बन्दाको फाइदा विराट गोल्ड कपले लिँदैछ ।’ त्यसो त, विराट गोल्ड कप ट्रष्टका कार्याबहाक अध्यक्ष सन्तोष बानियाको भनाई पनि मिल्दो जुल्दो नै छ । ‘यस पटक उत्साह बढेको छ, सबैमा फुटबलको क्रेज पनि बढेको छ,’ उनले भने, ‘यस पटकको विराट गोल्ड कप पहिलेको भन्दा व्यवस्थित र उत्साहजनक पनि हुनेछ ।’ पछिल्लो समय नेपालको फुटबल म्याच फिक्सिङ प्रकरणले अविश्वासिलो र निराशाजनक बन्दै गएको थियो । तर, त्यसपछिका बंगबन्धु गोल्डकपको उपाधि जित्दै साफ च्याम्पियन बन्दा नेपाली फुटबल पुनः शिखरमा पुगेको सबैले अनुभव गरेका छन् । ‘आशै मरिसकेको बेलामा च्याम्पियन बनेर नेपाली टोलीले नेपालको शिर उँचो बनाएका छन्,’ मोरङ विराटनगरका फुटबल प्रेमी अर्जुन खनालले भने, ‘सरकारले नेपाली फुटबललाई अझ लगानी गर्नुपर्छ र खेलमा प्रोत्साहन गर्नुपर्छ ।’ गत वर्ष पनि विराट गोल्ड कपबाट आयोजकलाई फाइदा भएको थियो । यस पटक अघिल्लो वर्ष भन्दा बढी फाइदा हुने आयोजकको अपेक्षा छ । सर्वसाधरणका लागि यस पटक विराट गोल्डकप हेर्न जाने दर्शकले जनही न्यूनतम १०० तिर्नुपर्नेछ । यद्यपि शुल्क बढी भएको फुटबल प्रेमीको गुनासो छ । ‘सबै खेल हेर्ने इच्छा छ तर टिकट दर महँगो भयो,’ फुटबल प्रेमी विराटनगरका सुदिप दाहालले भने,’ आयोजकले हामी जस्ता दर्शकका लागि शुल्कको दर घटाउनु पर्छ ।’ मोफसलकै सर्वाधिक राशी पुरस्कार (विजेताले ५ लाख १ हजार, उपविजेताले ३ लाख १ हजार पाउने) रहेको यो विराट गोल्डकप प्रतियोगिताको फाइनल १५ गते हुनेछ । यो प्रतियोगितामा सशस्त्र प्रहरी, त्रिभुवन आर्मी, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी, रमपम झापा–११, मोरङ फुटबल, रुपन्देही ११, युनाइटेड सिक्किम, जर्ज टेलिग्राफ, उडिसा स्टेट, बंगलादेश फुटबल क्लबको सहभागीता रहनेछ । विराटनगरमा २०१८ सालमा उद्योगी–व्यवसायी र समाजका खेलप्रेमीको सहभागितामा ‘श्री ५ महेन्द्र गोल्डकप’ स्थापना गरी सञ्चालन सुरु महेन्द्र गोल्डकपले अहिले विराट गोल्डकपको स्वरूप पाएको छ यसवर्षको फुटबल आयोजना गर्नका लागि ७७ लाख रूपैयाँ लागत अनुमान गरिएको छ । तयारी पुरा यसैबीच ६ गतेदेखि सुरु हुने विराट गोल्डकप फुटबल टुर्नामेन्ट–२०७२ को तयारी पुरा भएको अध्यक्ष राउतले जानकारी दिए । ‘पहिलो पटक प्रतिस्पर्धा हुने क्लबहरु विराटनगर आउने क्रम जारी छ’, राउतले भने, ‘आज बेलुका सम्ममा खेलाडीहरु आइपुग्छन् ।’ रंगशाला निर्माणको काम सकिएको छ । उद्घाटन सत्रलाई भव्य बनाउन प्रचारको काम तीब्र गतिमा भइरहेको छ । विराट गोल्ड कपको उद्घाटन नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालले गर्ने बताइएको छ । क–कस्ले जितेका थिए विराट गोल्डकप ? इलेभन जेवल्स भारत–२०१८ मोरङ–११– २०१९ भातृ संघ भारत–२०२० माल्दा टाउन भारत–२०२१ माल्दा टाउन भारत–२०२२ विद्याचन्द क्लब भारत–२०२३ मैत्री सम्मेलिनी भारत–२०२४ सान्ता फोसिया क्लब भारत–२०२५ साना विएससी क्लब भारत–२०२६ एषा टेलिहस्र्ट भारत–२०२७ कोक ओभर भारत–२०२८ जर्ज टेलिग्राफ भारत–२०२९ टाउन क्लब भारत–२०३० थिम्पु–११ भुटान–२०३१ सेन्ट्रल एक्साइस कस्टम भारत–२०३२ एसियन नर्थ क्लब भारत–२०३३ महेन्द्र पुलिस क्लब काठमाडौं–२०३४ लार टाउन क्लब भारत–२०३५ महिन्द्रा एण्ड महिन्द्रा भारत–२०३६ ब्वाइज युनियन क्लब काठमाडौं–२०३८ जनकपुर चुरोट कारखाना–२०४४ मनाङ–मस्र्याङ्दी क्लब काठमाडौं–२०४५ जनकपुर चुरोट कारखाना–२०४८ इष्टर्न रेल्वे भारत–२०५१ एनआरटी क्लब काठमाडौं–२०५४ रानीपोखरी क्लब काठमाडौं–२०५६ महेन्द्र पुलिस क्लब काठमाडौं–२०५९ महेन्द्र पुलिस क्लब काठमाडौं–२०६० हिमालयन शेर्पा काठमाडौं–२०६८ संकटा क्लब काठमाडौं–२०६९ झापा–११–२०७१
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण