बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

दीप ज्योतीका उज्यालो कर्महरु

मङ्गलबार, ११ फागुन २०७२, १२ : ०२
मङ्गलबार, ११ फागुन २०७२

नाम जस्तै काम गरेर सवैको हाईहाई पाउन सजिलो छैन । सामाजिक सेवाको नाउँमा आकर्षक नाउँ राखेर व्रम्हलुट मच्चाउने संघसंस्था विगविगी मच्चिरहँदा पाँचथरका एक क्लवले भने नाम जस्तै काम गरेर सवैकोको हाइ हाई आएको छ । जिल्लाको सुदुरपुर्वी गाविस सिदिनस्थित दीप ज्योती क्लव सामाजिक सेवामा जिल्लाकै क्लवमध्ये अब्बल नमुना बनेको हो । जिल्लाको दूरदराज गाउँ सिदिनमा खडा भएको क्लवलाई सामाजिक,शैक्षिक, पर्यावरणीय तथा लोपोन्मुख वन्यजन्तु क्षेत्रको विकास तथा प्रवद्र्धनमा उल्लेखनीय काम गरेर जिल्लामा चर्चा मात्र होइन प्रशंसा र सम्मान थाप्न भ्याइनभ्याइँ छ ।

दुई दशक अघिसम्म पाँचथर सिदिनका वालवालिका गरिवी र भौगोलिक विकटताका कारण पठनपाठनबाट वञ्चित थिए । गाउँमा अहिलेको जस्तो विद्यालय प्रशस्त खुलेका थिएनन् । गाउँको अवस्था दयनीय थियो । विद्यालय स्थापनाका लागि सम्वन्धित निकायमा पटकपटक पहल गर्दा पनि सुनुवाई नभएपछि क्लवले गाउँको पायक पर्ने ठाउँमा विद्यालय स्थापना गर्ने निर्णयमा पुगेको वताउँछन् क्लवका पूर्व अध्यक्ष मञ्जित राई । ‘विद्यालय खोल्ने त निर्णय गरियो । तर, व्यवस्थानका लागि आवश्यक सामग्री केही थिएन । सहयोग मागौ कहीबाट नपाइने सुरुमा विद्यालय सञ्चालन गर्न धौधौ भो ,’ उनले भने ।

सानो कटेरो (खोल्मा)बाट पठनपाठन सुरु गरिएका विद्यालय अहिले आएर सुविधा सम्पन्न भवनमा परिवर्तन भई करिव डेढसय जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालय व्यवस्थापन कुनै निजी इङलिस वोर्डिङ स्कूलभन्दा कम छैन । विद्यालयले पोशाकको रुपमा दौरासुरुवाल र गुन्यु चोली विद्यार्थीहरुललाई प्रदान गर्दै आएको छ । गुन्यूँचोली, दौरासुरुवाल पोशाकका लागि रु एक लाख रुपैयाँ वराबरको विद्यालयले छुट्टै अक्षयकोष खडा गरिएको छ । सो रकमको व्याज र अन्य अनुदानबाट विद्यालयले वार्षिक रुपमा प्रत्येक कक्षाबाट उत्कृष्ट हुने ३–३ जना गरी १५ जना जेहेन्दार एवं उत्कृष्ठ विद्यार्थीलाई पुरस्कारका साथै सवै विद्यार्थीलाई पोशाक वितरण गरिने विद्यालयका प्रधानाध्यापक सुनिल वान्तावाले बताए ।

क्लव यतिमै सीमित रहेको छैन । हिमाली क्षेत्रमा रहेका प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन तथा बहुमूल्य जडिवुटीहरुको संरक्षण र यसको व्यावसायिक खेतीको सहजीकरणमा पनि उतिकै सक्रिय छ । चिराईतो,लौठ सल्ला,विख्मा,क्यान्जो लगायत जडिवुटी खेती एवं पशु पालनको व्यवसायिकरणमा सहजीकरण र अभिमुखिरणको भुमिका क्लवले निर्वाह गर्दै आएको छ । हाल जिल्लाको सिदिन,प्राङबुङ,मेमेङ,च्याङथापु,फलैचा,ओयाम र ताप्लेजुङको कालीखोला र सादेवामा क्षेत्रमा जडिबुटी खेती लोपोन्मुख वन्यजन्तु संरक्षण साथै व्यावसाययिक पशुपालनमा काम गर्दै आएका क्लवका कार्यकारी निर्देशकसमेत रहेका प्रअ वान्तावा बताउँछन् ।‘गाउँमा सञ्चालित जडिबुटी र पशुपालन व्यवसाय प्रभावकारी बन्दै छ,’उनले भने ‘ आयआर्जनको पाटोमा हामीले सोचभन्दा राम्रो भएको छ । किसानहरुको जीवन शैलीमा अप्रत्याशित आएको परिवर्तनले हामी उत्साहित छौं ।’

वन्यजन्तु संरक्षण तथा जडिवुटी संरक्षणमा महत्वपूर्ण योगदान पु¥याए वापत जिल्लाकै उत्कृष्ट क्लवको रुपमा जिल्ला विकास कार्यालयले पुरस्कृत गरेको छ । द माउण्टेन इन्ष्टिच्यूटसंगको सहकार्यमा क्लवले उन्नत खालका भेँडा,चौरी,गाई पालनमा किसानलाई सहयोग पु¥याउँदै आएको छ । क्लवले सहयोमा दुई दर्जन बढी व्यावसायिक किसानहरु पशु पालन तथा जडिबुटि व्यवसायमा संलग्न छन् । यसरी स्रोत साधनमा सम्पन्न तर ज्ञान र सीपको अन्धकारमा रुमलिरहेका हिमाली वस्तीका किसानहरुका लागि दीप ज्योती अन्धकारका आँखा बनेका प्राङबुङ ८ का किसान सुरेन्द्र तामाङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप