छोरीका लागि नेपालले जितेको छ : सभामुख
काठमाडौँ - सभामुख ओनसरी घर्तीले नेपालको संविधानले महिलासम्बन्धी धेरै विषयलाई सम्बोधन गरेको बताएकी छिन् ।
डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३६औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले भनिन्–“नयाँ संविधान पूर्णरुपमा कार्यान्वयन भएको दिन यो देशमा छोरी भएर जन्मिएको कारण म पछि परेकी हुँ भनेर कसैले पनि बाधा–विरोध सहेर बस्नु पर्दैन ।” नेपालको संविधानले नेपाली महिलाका लागि उज्ज्वल भविष्यको मार्ग कोरिसकेकाले छोरीलाई अघि बढ्ने सन्दर्भमा अब कसैले पनि रोक्न र छेक्न नसक्ने बताउँदै सभामुखले भनिन्–“अघिल्लो पुस्ताका महिलाले गरेको आन्दोलन र योगदानको परिणामस्वरुप अहिले राष्ट्रपति, सभामुखमा महिला पाएका छौँ, त्यसले उनीहरुको सपना पूरा भएको छ ।”
दुई महिला उच्च पदमा पुग्ने बित्तिकै सबै महिलाको जीवनस्तरमा छुमन्तरको ढङ्गबाट परिवर्तन नहुने भए पनि चुलोचौकाको जिम्मेवारीबाट बाहिर निस्कन उत्साह, हौसलाका साथै धावा बोल्न साहस प्रदान गर्ने उनको भनाइ थियो । सभामुख घर्तीले भनिन्–“भविष्यमा गर्ने कर्म छनोट गरिसक्नुभएको होला, त्यो मार्गमा अघि बढ्नुस्, आज छोरीका लागि नेपालले जितेको छ, हामीले जितेका छौँ, यो जितमा तपाईंहरुले पनि जित्न सक्नुपर्छ ।”
सो अवसरमा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले सरकारी र निजी क्षेत्रभन्दा पृथक ढङ्गबाट सञ्चालन हुँदै आएको कन्या क्याम्पसले महिला शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको बताए ।
क्याम्पस सञ्चालन समितिका सदस्यद्वय होमनाथ दाहाल र सावित्री भुसालले अनेकौँ आरोह र अवरोहको बीचमा पनि नारी शिक्षाको उन्नयनमा कलेजले निकै ठूलो फड्को मारेको बताए । अर्का सञ्चालक समितिका सदस्य एवम अग्रज पत्रकार देवेन्द्र गौतमले क्याम्पसलाई महिला विश्वविद्यालयका रुपमा विकास गर्न सुझाव दिए । क्याम्पस प्रमुख अपराजिता अर्यालले नारीलाई शिक्षित, आत्मविश्वासी, सबल र प्रतिस्पर्धी बनाउने उद्देश्य लिएर स्थापित क्याम्पसले आफूलाई महत्वपूर्ण शैक्षिक संस्थाका रुपमा परिचय बनाउन सफल भएको बताए ।
स्नातक तहमा बिए, बिबिएस र बिएड तथा स्नातकोत्तर तहमा एमए अङ्ग्रेजी, समाजशास्त्र, मानवशास्त्र र एमबिएसका कक्षा सञ्चालन भइरहेको उक्त क्याम्पसमा हाल एक हजार ६०० छात्रा अध्ययनरत छन् । कलेजले निकट भविष्यमा बिबिएम र बिएसडब्लुका कक्षा सञ्चालनमा ल्याउने सोच बनाएको छ । वार्षिक परीक्षाका विभिन्न विषयमा छ पटकसम्म सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल उक्त कलेजले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ ।
नियमित पठनपाठन, अनुशासन र गुणस्तरीय शिक्षा कलेजको पहिचान बनेको छ । समारोहमा त्रिविका विभिन्न सङ्काय र तहका वार्षिक परीक्षामा उच्चतम अङ्क प्राप्त गर्ने छात्रालाई पदक र छात्रवृत्तिका साथै अतिरिक्त क्रियाकलापमा विजयी हुने व्यक्ति र टोलीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । वर्षभरिमा कलेजमा राम्रो पढाउने पूर्वप्राचार्य भोलानाथ रेग्मी र कुशल व्यवस्थापन गरेबापत सुमन कार्कीलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण