आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

सगरमाथा आधार शिविर हिँडे आईसफल डाक्टर

शनिबार, १५ फागुन २०७२, १८ : १३
शनिबार, १५ फागुन २०७२
सोलुखुम्बु– सगरमाथा आरोहणका लागि बाटो बनाउन आईसफल डाक्टरहरु सगरमाथाको आधार शिविरतर्फ लागेका छन् । हरेक वर्ष सगरमाथा आरोहणको समयमा सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति(एसपीसीसी) का आइसफल डाक्टर (हिउँमा बाटो बनाउनेहरु) आज नाम्चेबाट सगरमाथाको आधारशिविरतर्फ हिँडेको एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभयो । राईका अनुसार १० जना आईसफल डाक्टर तथा व्यवस्थापकीय कर्मचारीसहितको टोली आज नाम्चेबाट सगरमाथाको आधार शिविरतर्फ हिँडेको हो । उनीहरुले आधार शिविरमा पुगेर क्याम्प खडा गरी बाटो निर्माणको काम गर्नेछन् । गत वैशाख १२ गते भूकम्पसँगैको हिमपहिरोले बाटो धेरै बिगारेको कारण यस वर्ष बाटो बनाउन बढी मेहनत गर्नुपर्ने जनाइएको छ । आधार शिविरबाट अगाडि आईसफल प्रशस्त भएको ठाउँबाट बाटो खोल्दै एसपीसीसीको टोलीले दोस्रो शिविरसम्म बाटो बनाउनेछ । त्यहाँभन्दा अगाडि पनि विभिन्न आरोहण दल तथा आरोहण सञ्चालकले तिनै आईसफल डाक्टर प्रयोग गरेर बाटो बनाउने गर्छन् । हिमपहिरोका कारण लगातार दुई वर्ष सगरमाथा आरोहण अवरुद्ध हुदै आएको छ । २०७१ सालको वैशाखमा हिमपहिरोमा परी १६ जना आरोहण सहयोगीको मृत्यु भएपछि त्यो वर्ष आरोहण रोकिएको थियो भने गत वर्ष वैशाखमा आएको भूकम्पसँगै हिमपहिरो गएको कारण आरोहण रोकिएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप