शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अख्तियारले रोक्न सकेन मुकेश काफ्लेको कर्तुत : आखिर आफ्नै साथीको कम्पनीलाई गरे सिफारिस

बुधबार, १९ फागुन २०७२, १९ : २४
बुधबार, १९ फागुन २०७२

काठमाडौं–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले अन्ततः आफ्नै साथीको कम्पनीलाई त्रिशुली करिडोरको ठेक्काका लागि सिफारिस गरिछाडेका छन् । प्राधिकरणका यसअघिका ठेक्का लिएर समयमा काम पूरा नगरी घाटा पुर्याएको ‘मुडवरी एण्ड जोशी जेभी’लाई समुन्द्रटार–त्रिशुली ३ बी प्रसारण लाइनको ठेक्का दिन प्राविधिक प्रस्तावका लागि सिफारिस गरेका हुन् ।

पटक–पटक अख्तियार दुरुपयोग अनुसन्धनन आयोगलाई जानकारी गराउँदा समेत आयोगले ख्याल नगरेपछि काफ्लेले सिफारीस गरेको कर्मचारीहरुले बताएका छन् । यसमा अख्तियारको सम्म मिलेमतो भएको उनीहरुको गुनसो छ । ‘प्राधिकरण डुवाउन ठूलै खेल हुँदैछ भनेर जानकारी गराउँदा समेत अख्तियारले वास्ता नगरेपछि उनले मुडवरीलाई सिफारीस गरेका हुन्’ एक कर्मचारीले भने, ‘यसमा अख्तियारको मिलेमतो छ ।’

काफ्लेले मार्च १३ आइतबारका दिन आर्थिक प्रस्ताव खोल्नका लागि आउन भनेर सम्बन्धित कम्पनीलाई पत्र पठाइसकेका छन् । एडिबी र युरोपियन इन्भेस्टमेन्ट बैंकको लगानीमा निर्माण हुन लागेको उक्त आयोजनाका लागि आयोजना कार्यन्यवन निर्देशनालयका उप–कार्यकारी निर्देशक सुरेन्द्रराज भण्डारी संयोजकत्वको मूल्याङ्कन समितिले ‘मुडवरी एण्ड जोसी’को प्रस्ताव अयोग्य ठहराएको थियो । तर, कम्पनी सिफारीस गर्न पाउने आफ्नो अधिकार दुरुपयोग गर्दै काफ्लेले आफ्नै साथीको कम्पनी भएको कारण उक्त कम्पनीको नाम समेत सिफारीस गरेर पठाएका हुन् । उक्त योजनाका लागि गतवर्ष मार्च १५ मा आह्वान गरिएको थियो । टेण्टरमा ५ वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । डवल ईन्भलप प्रणालीको ठेक्का प्रकृयामा मूल्याङ्कन समितिले प्राविधिक प्रस्तावको मूल्यांकन गरी स्पेनको कोब्रा र चिनको ईटर्नल–सिसिसिई–एफईपिईसिको संयुक्त उपक्रमको प्रस्ताव स्विकृत गरेको थियो ।

काफ्लेले मुल्याङ्कनकै समयमा काफ्लेले आफ्नो साथीको मुडवरी एण्ड जोसीलाई जसरी पनि प्राविधिकप्रस्तावमा योग्य ठहराउन दवाव दिएका थिए । तर मूल्यांकन समितिले उनको दवाव नमानेपछि काफ्लेले मूल्यांकन समितिलाई दवाव दिई अयोग्य कम्पनीलाई ठेक्का दिन पुनर्मूल्यांकन गर्नका लागि पत्राचार गरेका थिए । मूल्यांकन समितिको प्रस्तावमा आफ्नो साथीको कम्पनी नपरेपछि उनले लामो समयसम्म सिफारीस नै रोकेर राखे । उक्त कुरा रातोपाटीमा सार्वजनिक भएपछि मूल्यांकन समितिले पेश गरिसकेको प्रतिवेदन लुकाएर अयोग्य ठहरीएको कम्पनीको नाम समेत सिफारीस गरेर पठाएका थिए । समितिले सिफारीस गरेको लामो समयपछि मात्रै उनले आर्थिक प्रस्ताव खोल्नका लागि पत्राचार गरेका हुन् ।

‘मुडवरी एण्ड जोशी’ कम्पनीमाथि विगतमा प्राधिकरणका धेरै ठेक्का समयमै सम्पन्न गर्न नसकेर प्राधिकरणलाई घाटा लगाएको कम्पनीका रुपमा परिचित छ । ‘सवस्टेशन र ट्रान्समिसन लाईनका धेरै ठेक्का लिने, समय बढाउने र काम नगरेर करोडौँ घाटा लगाउने कम्पनी हो यो’ स्रोतले भन्यो, ‘यसपटकको ठेक्कामा पनि प्राविधि मुल्यांकनको क्रममा फालिएको उक्त कम्पनीलाई ठेक्का दिन काफ्लेले माहोल बनाईरहेका छन् ।’ स्रोतका अनुसार मुडवरीलाई राख्न कांग्रेस नेतृ सुजाताले पनि दवाव दिएकी थिईन् । सुजता कोइरालाले उक्त कम्पनीलाई राख्न सिफारीस गरेको र काफ्लेको आफ्नै साथी पनि भएकोले मुडवरीलाई जसरी पनि ठेक्का दिनुपर्ने उनीहरुले योजना बनाएका हुन् । ‘काफ्लले पहिला आफ्नै साथी भनेर दवाव दिएका थिए, पछि सुजाता कोईरालाको समेत दवाव आएपछि त जोड बल पुग्यो होला नि’ स्रोतले भन्यो, ‘त्यही दवावका कारण यस्तो अवस्था आएको भन्ने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप