शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सडकबाट : यात्रु सोध्छन्– नेपाल यातायातको सिटमा बस्दा कस्तो होला ?

बुधबार, २६ फागुन २०७२, १४ : ०५
बुधबार, २६ फागुन २०७२

दीपक निश्चल, गोगंबु दैनिक त होइन तर म प्रायः नेपाल यातायात चढ्छु । राजधानीमा कुन सार्वजनिक यातायातमा सहजै यात्रा गर्न सकिन्छ र ? नेपाल यातायातमा त झन् गाह्रो हुन्छ । यो यातायातको एउटै मात्र विशेषता भनेको चक्रपथमा जतासुकैबाट पनि चढ्न सकिने भएकाले यसको प्रयागकर्ता धेरै छन् । नेपाल यातायात चढेर बालकुमारीबाट बालुवाटारसम्म जान्छु । यत्रा वर्षमा नेपाल यातायातको सिटमा बसेर यात्रा गरेको त अनुभव नै छैन भन्दा पनि फरक पर्दैन । यो यातायातको पार्किङस्थलबाटै सिट पाउन झन् गाह्रो छ । त्यसमाथि हामी त उपत्यकाका बीचसडकबाट चढ्ने यात्रु पर्यौं । बसभित्रै आनन्दले उभिनमात्रै पाए पनि सहज हुन्थ्यो । तर, आफू त जहिले पनि फतक्कै हातखुट्टा गल्नेगरी ढोकामा झुन्डिए यात्रा गर्दै आएको छु । भन्नलाई १० मिनेटको फरकमा नेपाल यातायात चढ्न पाइन्छ भनिन्छ तर २० मिनेटको यात्रा गर्न २० नै मिनेट पर्खंदासमेत बस चढ्न पाइँदैन । कमसेकम १० मिनेटको फरकमा मात्र बस छुट्ने व्यवस्था भइदिए हामीलाई सकस हुने थिएन ।

सुवास झा, कोटेश्वर म दिनहुँ नेपाल यातायात प्रयोग गर्छु । कोटेश्वरमा रहेको मेरो डेराबाट पुतलीसडक कलेजसम्म जान म नेपाल यातायात नै चढ्छु । काठमाडौंमा नेपाल यातायातमात्र यस्तो यातायात हो, चक्रपथदेखि भित्री सडकबाट पनि पाइन्छन् । यो गाडीमा चढेपछि जहाँ पुग्नु परे पनि एउटै गाडीमा पुगिने भएकाले सजिलो छ । त्यस्तै भाडा पनि अरू गाडीमा भन्दा कम लिन्छन् । दुवै सुविधाले म जहिले पनि नेपाल यातायात प्रयोग गर्छु । मजस्तै सबै यात्रुलाई सजिलो लाग्ने भएकाले त होला अधिकांश यात्रु पाएसम्म नेपाल यातायात नै चढेका देखिन्छन् । मैले नेपाल यातायात चढ्न थालेको तीन वर्ष भयो । आजसम्म यो गाडीको सिटमा बस्दा कस्तो अनुभव हुन्छ भन्ने अनुभूति गर्न नै पाएको छैन । पैसा कमाउने लोभ कसलाई हुँदैन तर दुई पैसा कमाउने लोभमा मानिसलाई गुन्द्रुक कोचेझैं कोचेर गाडी चलाइन्छ । नचढी पनि नहुने । आधा घन्टाको दूरीमा पनि दुई गाडी चढेर समय र पैसा खेर फाल्नुभन्दा यही नै सजिलो लाग्छ । कार्यालय समयमा त दुई/तीनवटा नेपाल यातायात यत्तिकै छाड्नुपर्छ, ढोकाबाहिरसम्म मानिस झुन्डिएका बसमा कसरी चढ्नु त ? बरु ढिलै होस् तर त्यस्तो चढ्दिनँ ।

सञ्जीव श्रेष्ठ, थापाथली म दैनिकजसो नेपाल यातायात नै प्रयोग गर्छु । कलेज–घर आउन–जान सधैँ यही बस प्रयोग गर्ने गरेको छु । यसको विकल्पमा साझाबस पनि चढ्छु । नेपाल यातायातमा भाडा सस्तो र जहाँसुकैबाट पनि चढ्न पाइने हुनाले सकेसम्म नेपाल यातायात नै चढ्ने गरेको छु । सजिलो त छ नै तर नेपाल यातायात चढ्नु महाभारत नै हुन्छ । यात्रु यसरी कोच्चिएका हुन्छन् कि जोडिएका जिउको खाली ठाउँबाट हावा वहनसमेत पाउँदैन । कोचाकोच, एक–अर्काको खुट्टामा टेकाटेक हुन्छ । बुझ्नेले त बुझेकै हुन्छन्, कोही त जानाजान खुट्टामा टेकिदिएझैँ गाली गर्छन् । त्यसमा पनि केटीहरू त आँखा सन्काएर हेर्छन् । बसभित्र बसौँ भने सासै फेर्न गाह्रो हुन्छ । ढोकामा झुन्डिनुपरे हातै चुँडिएलाझैँ हुने । यति समस्या लाग्छ– नेपाल यातायातको छत भए त्यहीँ बसेर कलेज जान्थेँ होला । साझामा चढौँ भने चढ्न त जसरी पनि चढिन्छ ओर्लनै गाह्रो ।

प्रस्तुति : फातिमा बानु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप