साउदीमा बन्दी जीवन बिताइरहेका सात नेपाली महिलाको उद्धार
दमाम - अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब आई घरेलु कामदारका रुपमा बन्दी जीवन व्यतित गरेका सातजना नेपाली महिलाको उद्धार गरिएको छ ।
लामो समयदेखि साउदीमा अलपत्र परेका ती नेपाली महिलाको रियादस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काइएको हो ।
दलालमार्फत घरेलु कामदारका रुपमा साउदी ल्याइएका ती नेपाली चेलीले घरधनीको शोषण र यातना सहन नसकेपछि घरबाट भागेर राजदूतावासको आश्रयमा आएका थिए ।
महिनौँदेखिको काम गरेको पारिश्रमिक नदिइएको, शारीरिक तथा मानसिक यातना दिइने गरेका कारण जीवन रक्षाका लागि उनीहरु साउदी नागरिकको घरबाट भागेका थिए । उनीहरुको उद्धारपश्चात् आवश्यक कानुनी प्रक्रिया पूरा गरी यात्रा अनुमतिपत्र बनाई शुक्रबार स्वदेश पठाइएको कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए ।
कुबेत हुँदै साउदी आएकी डाँडाबारी–३ झापाकी रीतादेवी मगर, खर्वाङ–७ बागलुङकी झवी राना, गुलरिया–७ बर्दियाकी मीना विक, बाबियाबिर्ता–७ मोरङकी मायादेवी राजधामी, ओखरकोट–९ प्यूठानकी जमुना रोका, त्रिवेणी–२ नवलपरासीकी पार्वती थापा र बेथान–५ रामेछापकी जानकी लामालाई उद्धार गरी स्वदेश पठाइएको कावा राजदूत शर्माले बताए ।
उनीहरुलाई केही वर्ष कुबेती नागरिकको घरमा कामदारका रुपमा राखिएको र त्यसपश्चात् कुबेतबाट भ्रमण भिसामा साउदी ल्याई कामदारका रुपमा राखिएको थियो ।
साउदी अरब र कुबेतका नागरिकबीच पारिवारिक एवम् वैवाहिक सम्बन्ध हुने गरेकाले पनि कुबेतमा कार्यरत नेपाली चेलीलाई साउदी नागरिकले सहजै रुपमा साउदी ल्याउने गरेको पाइएको शर्माको भनाइ छ । कुबेतबाट आएर गैरकानुनी रुपमा बसेकाहरुलाई १५ हजार साउदी रियाल जरिवाना भुक्तान नगरी नेपाल पठाउन नमिल्ने जनाएपछि कावा राजदूत शर्माले यहाँको अध्यागमन विभागका प्रमुखलाई भेटेर स्वदेश फिर्तीका लागि आग्रह गरेका थिए । शर्माको आग्रहलाई स्वीकार गरी अध्यागमन विभागका प्रमुखले जरिवाना मिनाहा गरी स्वदेश फर्काउन सहमत भएपछि ती नेपाली चेली स्वदेश फर्कन सफल भएका हुन् ।
सरकारले घरेलु महिला कामदारलाई कानुनी रुपमा साउदी अरब आउन प्रतिबन्ध लगाएको भए पनि दलालमार्फत गैरकानुनी बाटो हुँदै साउदी अरब आउने क्रम बढ्दै गएको छ ।
त्यसैगरी घरेलु महिला कामदार आपूर्ति गर्न कुबेतमा कार्यालय स्थापना गरेर बसेका नेपाली एजेन्टहरुले समेत मोटो रकम लिएर कुबेतमार्फत साउदी अरबमा भिजिट भिसामा घरेलु महिला कामदार पठाउने गरेको बुझिएको शर्माको भनाइ छ ।
कुबेतबाट तीन महिनाको भिजिट भिसामा साउदी ल्याइए पनि त्यसपश्चात् भिसा नवीकरण नगरी वर्षौंसम्म काम लगाउने गरेका कारण पनि साउदी आएका अधिकांश घरेलु कामदार गैरकानुनी ठहर्ने गरेका छन् । जसका कारण कानुनी उपचारबाट वञ्चित भई स्वदेश फर्कनसमेत कठिनाइ हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षयरोगका कारण प्रत्येक वर्ष प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
-
नायरा बनर्जीको बोल्ड अवतार, फ्यानहरुले भने– 'इन्टरनेटमा आगो लगाइन्'
-
अण्डाकार चित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण