शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनसरीका आगलागी पिडित : आमाको अप्रेसनका लागि ल्याएको रकम झिक्नसमेत पाइएन

मङ्गलबार, ३० चैत २०७२, ११ : ५३
मङ्गलबार, ३० चैत २०७२

इटहरी –भोक्राह सुनसरीकी २९ वर्षीया फरदिन खातुनको आँखाअगाडि पाँच घर क्षणभरमै जलेर खरानी भएको तस्बिर मस्तिष्कमा ताजै छ । घरमा कसरी आगो सल्कियो खातुनलाई अझै सम्झना छैन । आफ्नो घर आगोको रापले दनदनी बलेको हेर्नबाहेक उनले केही गर्न सकिनन् । घरमा कोही थिएनन् । दाजु, बुवा र घरका अन्य सदस्य खेतीमा गएका थिए । अनि ७८ वर्षीया आमा मदिना खातुनको मुटुको अप्रेसनका लागि ऋण काटेर ल्याइएको आठ लाख रुपैयाँ पनि खरानी भयो ।

‘मुटु रोगको अप्रेसनका लागि आमालाई सोमवार काठमाडौँ लैजाने तयारी भइरहेको थियो, ‘फरदिन खातुनले दुःखेसो पोखिन्, ‘दैवको खेलले केही गर्न सकिनँ । घर जलेर क्षणभरमै खरानी भयो । घरभित्र रहेको नगद, कपडा, फर्निचर र करिब ४५ मन गहुँ र सय मन धान पनि खरानी भयो । आगोको रापले आफूलाई समाहल्न सकिनँ लडेछु ।’ भाइले जोगाए । घर छैन । संघ–संस्थाले दिएको एउटा पालको भरमा बिरामी आमालाई राखेर दुई दिनदेखि रात बिताइरहेकी छन् फरदिन । आमालाई बिरामीले च्यापिरहेको छ, अब कहाँबाट ल्याउने फेरि त्यत्रो रकम उनले भनिन् ।

२५ वर्षीया मुसरद अन्सारी आगोले खरानी भएको घरछेउमा पालको अस्थायी संरचनाभित्र छोरीलाई दूध खुवाउँदै थिइन् । ‘हजुर हाम्रो त केही बचेन, टिनले छाएको सानो घरसमेत ध्वस्त भयो,’ उनले भनिन्, ‘एकसरोबाहेक कपडासमेत निकाल्न सकिएन । श्रीमान्ले ज्यालादारी गरी कमाएको ६ मन गहुँ पनि आगोमै पर्यो ।’

छोराछोरीको बिजोग भयो । डढेको बाकस देखाउँदै अन्सारीले भने, ‘केही नगद र गरगहना सञ्चय गरेर बाकस नै डढ्यो । अब के गर्ने होला ?’

३० वर्षीय सरफराज मियाँको पीडा पनि उस्तै छ । मियाँले केही दिनअघि किनेका आधी केजी चाँदी आगोमा दनदनी बल्दा केही गर्न सकेनन् । पूरै गाउँमा आगो फैलिएको देखेका मियाँको मनमा अझै शान्त हुन सकेको छैन ।

‘पीडा छँदै छ । अल्लाहको के यस्तो मर्जी भयो, जहाँ बस्नलाई घर छैन खानलाई एक गेडो अन्न छैन । ऋण गरेर बनाएको घर अब फेरि कसरी बनाउने ?’

खातुन, मियाँ र अन्सारी प्रतिनिधि पात्रमात्रै हुन् । आगलागीमा २१ परिवारका ५६ घर खरानी भएको थियो । आगलागीका कारण पत्ता लागेको छैन । आगलागी हँुदा हुरीबतास चलिरहेका कारण घर–घरमा आगो फैलिएको थियो । आगो निभाउन गाह्रो भयो । आगलागीपीडित भन्छन्, ‘समयमै दमकल आइदिएको भए यति धेरै क्षति हुन्नथ्यो ।’ तर, सुनसरीमा अन्य क्षेत्रमा समेत आगलागी भएका कारण दकमल समयमै पुग्न सकेन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा तीन घन्टापछि आगो निभाइएको थियो । पीडितलाई राहत वितरण जिल्ला प्रशासन कार्यालय सुनसरीले गत शनिवार भोक्राहमा भएको आगलागीपीडितलाई पहिलो चरणको राहत वितरण गरेको छ । शनिवार भएको आगलागीबाट भोक्राह–९ स्थित मुसलमान बस्तीका २१ परिवारका ५६ घर ध्वस्त भएका थिए । आगलागीबाट करिब डेढ करोडबराबरको क्षति पुगेको थियो ।

आगलागीपीडितलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले पहिलो चरणको राहत वितरण कार्यअन्तर्गत पीडित परिवारलाई जनही पाँच हजार राहत वितरण गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागार्इंले आगलागी भएको स्थानमा पुगी राहत वितरण गर्नुभएको छ । जिल्ला दैवीप्रकोेप उद्धार समितिअन्तर्गत पहिलो चरणको राहतमा पीडित परिवारलाई जनही पाँच हजार नगद वितरण गरिएको प्रमुख जिल्ला अधिकारी मोहन चापागार्इंले बताउनुभयो ।

भोक्राहको मुसलमान बस्तीमा आगलागीबाट भौतिक संरचना र अस्थायी रूपमा बसोबास गर्ने सहज होस् भन्ने उद्देश्यले नगद वितरण गरिएको हो । आगलागीपीडित छिमेकीको घर तथा पालमा रात कटाउन बाध्य छन् । केही संघ–संस्थाले पाल वितरण गरे पनि अपुग भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि विभिन्न संघ–संस्थाको पहल र सहकार्यमा पुनः राहत वितरण गर्ने बताएको छ ।

यता, आगलागीपीडितले भने पाँच हजार नगदले केही नहुने भन्दै दुःखेसो पोखेका छन् । भएको घर, अन्नपात तथा नगद केही जोगाउन नसकेको बताउँदै उनीहरूले अस्थायी बसोबासका लागि घर बनाउन सहयोग गरिदिन सरकारसमक्ष आग्रह गरेका छन् । केही सातायता पूर्वाञ्चलका विभिन्न जिल्लामा हुरीबताससँगै आगलागीको जोखिम बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप