शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नयाँ वर्षका नयाँ अनुहार (फोटोफिचर)

बुधबार, ०१ वैशाख २०७३, १३ : १५
बुधबार, ०१ वैशाख २०७३

यो कथा तिनीहरूको हो, जो नयाँ वर्षको पहिलो बिहान धर्ती टेक्न आइपुगेका छन् । नयाँ पाहुना खोजीमा रातोपाटीकर्मी बिजु मानन्धर र पंक्तिकार परोपकार तथा प्रसूतिगृह थापाथली पुगेका थियौं । आज बिहान प्रसूतिगृहमा १० बच्चा जन्मेका थिए ।

रामेछापबाट सात वर्षअगाडि काठमाडौंको बल्खु आई गृहस्थी जमाएकी रेनुका श्रेष्ठको अनुहारमा नयाँ वर्षको पहिलो बिहानीले नयाँ उमंग थपिएको थियो । नयाँ वर्ष सुरु भएको केही मिनेटमै अर्थात् राति १२ बजेर १३ मिनेट जाँदा उनले दोस्रो सन्तानस्वरूप छोरालाई जन्माइन् । बल्खुमा होटल व्यवसाय गरेर बसेका श्रेष्ठका पति रवीन्द्रले मुसुक्क हाँस्दै खुसी बाँडे, ‘पहिलो सन्तान छोरो भएकाले दोस्रोपटक छोरी जन्मियोस् भन्ने हामी दुवैको चाहना थियो तर छोरा नै जन्मे पनि हामी खुसी छौं ।’

नुवाकोट घर भई हाल काठमाडौं गोंगबु बस्दै आएकी सर्मिला पौडेलले शल्यक्रियापश्चात् राति १२ बजेर २७ मिनेटमा पहिलो सन्तानस्वरूप छोरा जन्माएकी थिइन् । नयाँ वर्षको पहिलो दिनमा जन्मेको आफ्नो बच्चालाई हेरेर उनले आफ्नो शल्यक्रियाको पीडा बिर्सन खोज्दै थिइन् । आफ्नो छोरालाई धेरै पढाएर राम्रो मान्छे बनाउने इच्छा रहेको सुनाउँदै गर्दा उनको मुहारमा खुसी छचल्किरहेको थियो ।

रामेछापकी र्सिजना रायमाझीले पनि आफ्नो दोस्रो सन्तान छोरी होस् भन्ने चाहेकी थिइन् । रायमाझीले राति १ बजेर २५ मिनेटमा छोरा जन्माइन् । नयाँ वर्षको बिहानीमा जन्मेको नयाँ पाहुनालाई देखेर खुसी लागेको उनले बताइन् । राति २ बजेर ५७ मिनेट जाँदा शल्यक्रियाबाट पहिलो सन्तानस्वरूप छोरा जन्मेकोमा काभ्रेकी अमृता थापा औधी खुसी थिइन् । ललितपुर कुमारीपाटी बस्दै आएकी उनी आफ्नो छोरालाई संसारको सबै खुसी दिन्छु भन्दै मुस्कुराइरहेकी थिइन् ।

त्यस्तै नयाँ वर्षको पहिलो बिहानीमा यो धर्ती टेक्न आइपुगेको अर्काे नयाँ सदस्यकी आमा दुर्गा पौडेल पनि निकै उज्यालो अनुहार बनाएर आफ्नो नवजात छोरालाई स्तनपान गराइरहेकी भेट्टिइन् । लमजुङ घर भई हाल सतुंगल बस्दै आएकी पौडेलले सतुंगलस्थित लिटिल स्टारमा हिजोसम्म अध्यापन गराएको सुनाइन् । बच्चा जन्माएकै कारण आफ्नो जागिर फेरि पाउने नपाउने टुंगो नभए पनि आफू बच्चाको आगमनले निकै उत्साहित बनेको उनले सुनाइन् ।

बिहान ६ बजेर ३० मिनेटमा रामेछापकी प्रेमकुमारी मगरले छोरीलाई जन्म दिइन् । नयाँ वर्षको प्रारम्भमै नयाँ सन्तानको आगमनले आफू निकै रोमाञ्चित र खुसी भएको उनको अनुहारमा प्रस्ट देखिन्थ्यो ।

बिहान ६ बजेर ५५ मिनेटमा जन्मेको छोराको अवोध अनुहार हेरेर खुसी भइरहेकी थिइन्– बाँके नेपालगन्जकी गीता चिमाल । चितवन घर भएका जितबहादुर चिमालसँग वर्ष दिनअगाडि प्रेमविवाह गरेकी उनी नेपाली सेनाकी जवान हुन् । तीन महिनाको सुत्केरी बिदापछि सिंहदरबारभित्र आफ्नो जिम्मेवारी निर्वाह गर्न जाने उनले सगर्व बताइन् ।

सिरहा घर भई काठमाडौंमै बस्दै आऐकी कविता चौधरी केही घन्टा अगाडि मात्र आफ्नो जीवनमा आएको नयाँ सदस्यलाई छेउमा सुताएर सुम्सुम्याइरहेकी थिइन् । स्नातकोत्तर अध्ययन गर्दै गरेकी उनले भने बच्चासँगै आफ्नो पढाइलाई कसरी निरन्तरता दिने भनेर चिन्ता लागे पनि बच्चा जन्मेकोमा भने खुसी लागेको बताइन् ।

हेटौंडा कुलेखानीबाट प्रसूतिका प्रसुतिगृह आइपुगेकी सीता वाइबा आफ्नो छोरीलाई स्तनपान गराउँदै थिइन् । पहिलेको चार वर्षको छोरा घरैमा छाडेर आएकी उनी दोस्रो सन्तानस्वरूप छोरी पाउँदा निकै खुसी भएको उनको अनुहारमा चम्किरहेको आभाले प्रस्ट पारेको थियो ।

बिहान ९ बजेर ३७ मिनेटमा नुवाकोटकी रमिला तामाङले छोरी जन्माएकी थिइन् । तामाङकी छोरी प्रसूतिगृहको एनआईसीयूमा रहेको सानो शय्यामा मुस्कुराइरहेकी थिइन् भने आमा निदाइरहेकी हुनाले कुराकानी गर्न सकिएन । तर, नयाँ वर्षको पहिलो बिहानीमा छोरी पाउँदा छचल्किएको खुसी उनको निदाइरहेको निर्दोष अनुहारमा पूर्णिमाको जूनजस्तै चम्किरहेको थियो ।

प्रसूतिगृहको तथ्यांकअनुसार सामान्यतया वर्ष दिनमा १८ देखि २० हजारसम्म बच्चा जन्मिने गरेको डिपुटी मेटर्न आशा प्रजापतिले जानकारी दिइन् । यसरी जन्मिने बच्चामध्ये २० प्रतिशतको जन्म शल्यक्रियाबाट हुने गरेको छ भने ८० प्रतिशतको जन्म सामान्य तरिकाबाट हुने गरेको उनले बताइन् । उनले रातोपाटीलाई धन्यवाद दिँदै प्रसूतिगृहबाट जीवन सुरु भएका सबै बच्चाको उज्यालो भविष्यका लागि शुभकामना व्यक्त गरिन् । नयाँ वर्षको पहिलो बिहान धर्ती टेकेका नयाँ पाहुनालाई हाम्रो पनि धेरै–धेरै शुभकामना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप