शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेल समीक्षा २०७२ : आशा र निराशा दुवै पाएको खेलकुद क्षेत्र

बुधबार, ०१ वैशाख २०७३, १५ : ०३
बुधबार, ०१ वैशाख २०७३

म्याच फिक्सिङ प्रकरण असोज २७ गते एक्कासी नेपाल प्रहरीले राष्ट्रिय टिमका तत्कालिन कप्तान सागर थापासहित सन्दीप राई र रितेश थापालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा पूर्व खेलाडी अन्जन केसी र विकाससिंह क्षेत्री समेत थिए । उनीहरुले आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएका छन् ।

विशेष अदालतमा यो विषयमा मुद्दा जारी छ । तर मुद्दाको टुँगो लाग्नअघि नै एएफसीले उनीहरुलाई आजीवन प्रतिबन्धको सजाय सुनाइसकेको छ । नेपालमा घरेलु फुटबलमा फिक्सिङका हल्ला धेरै सुनिन्थे । तर अन्तर्राष्टिय खेलमा फिक्सिंग गरेको आरोपमा नेपाली फुटबलरहरु पक्राउ परेको यो पहिलो पटक हो । पक्राउ परेका खेलाडीहरु अहिले जमानतमा रिहा भइसकेका छन् । मिरा राईको सफलता यसै वर्ष नेपाली अल्टा रनर मिरा राईले दुलर्भ किर्तिमान आफ्नो नाममा लेखाइन् । भाग लिएका सबै अन्तर्राष्टिय प्रतियोगितामा उनको प्रदर्शन गर्व गर्न लायक रह्यो । फ्रान्समा भएको प्रतिष्ठित माउन्ट ब्लेन्क स्काईरनर वल्र्ड सिरिजमा भने उनले उपाधि नै जितिन्, त्यो पनि नयाँ किर्तिमान कायम गरेर ।

उनले ६ हजार मिटर उचाईमा टुंगिएको दौड १२ घण्टा ३२ मिनेट १२ सेकेन्डमा जितिन् । यसअघि अघिल्लो संस्करणमा उपाधि जित्ने क्रममा स्विडेनकी टिना इमिललीले १२ घण्टा ३८ मिनेट ४९ सेकेन्डमा दौड पुरा गरेर राखेको किर्तिमानलाई उनले ब्रेक गरिन् । आफ्नो छविलाई विश्वव्यापी रुपमा फैलाएर ग्लोबल सेलिब्रेटी बन्न सक्ने क्षमता भएकी खेलाडी हुन् राई । उनको अहिलेसम्मका उपलब्धिले यसै भन्छ ।

क्रिकेटको दुःखद वर्ष सिनियर त्रिकेटका लागि यो वर्ष निकै दुःखद रह्यो । नेपालले कुनै पनि खेलमा राम्रो गर्न सकेन । अघिल्लो संस्करणको टी २० विश्वकपमा नेपालले हराएको प्रतिद्वन्द्वी अफगानिस्तानले यस संस्करणमा सुपर एटको यात्रा गर्दा नेपाल छनोटबाटै बाहिरिएका कारण विश्वकप प्रवेशबाटै विमुख भयो । तर युवा क्रिकेटमा नेपालको प्रदर्शन संझनलाक रह्यो । नेपालले यु–१९ विश्वकप क्रिकेटमा सुपर एटसम्मको यात्रा गर्यो । त्यसक्रममा टेस्ट मान्यताप्राप्त न्युजिल्याण्डमाथि नेपाली टोलीले हासिल गरेको जीतलाई धेरैले संझनेछन् । मैदानबाहिर क्रिकेटको विवाद बढ्दा खेलमा यसको प्रत्यक्ष असर पर्यो । टंक आङबुहाङ लिम्बु नेतृत्वको कार्यसमितिले भ्रष्टाचारको मुद्धामा विशेष अदालतबाट सफाई पाएपनि यस कमिटीका सदस्यहरुले मिलेर क्रिकेट विकास गर्न सकेनन् । जसका कारण टंक र चतुरबहादुर चन्दको नेतृत्वमा दुई कार्यसमिति खडा भए । बढ्दो विवादपछि अहिले सिईओ भावना घिमिरेले नै नेपाल क्रिकेट संघका सम्पूर्ण जिम्मेवारी लिएकी छिन् । तर उनले पनि पर्याप्त काम गर्न सकेकी छैनन् । फुटबलमा नवयूग लामो विवादपछि यसै वर्ष नेपाली फुटबलले गति लिने संकेत देखाएको छ । तर यसको अर्थ नेपालले ठूलो स्तरको सिनियर प्रतियोगिता जित्यो भन्ने होइन । नेपालको यू २३ टोलीले दक्षिण एशियाली खेलकुद प्रतियोगितामा फुटबलतर्फ स्वर्ण जितेको छ । सन् १९९३ पछि नेपालले पहिलो पटक सागमा स्वर्ण जितेको हो । त्यस्तै नेपालले यसै वर्ष बंगलादेशमा सम्पन्न बंगबन्धुगोल्डकप फुटबलको उपाधि समेत जित्यो । सन् २००९ मा काठमाडौँमै आयोजना भएको प्रधानमन्त्री कप जितेपछि सिरियर टोली उपाधिविहिन थियो । त्यो खडेरीलाई चिरेपछि नेपालले आधिकारीक प्रतियोगितामा उपाधि जित्ने इतिहास बनाउन भने सकेन । बंगबन्धु र साग फुटबलमा स्वर्ण जित्नुअघि नेपाली टोली साफ च्याम्पियनसिपको समूह चरणबाटै घर फर्किएको थियो । युवा खेलाडीहरुले जितेका पछिल्ला दुई प्रतियोगितापछि नेपालले फेरि दक्षिण एशियाली क्षेत्रमा आफ्नो साख फर्काउने आशा गरिएको छ । नेपालका नवयूग श्रेष्ठ, विमल घर्तीमगर, अन्जन विष्ट, विक्रम लामा, विशाल राई लगायतका खेलाडीहरुले टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले । नवयुग श्रेष्ठ बंगबन्धु र साग खेलकुद दुबैमा सर्वाधिक गोलकर्ता चुनिए ।

निमा घर्तिमगर रोल्पाकी निमा घर्तीमगरले १२ औँ सागमा नेपाललाई पहिलो स्वर्ण दिलाईन् । स्वर्ण जित्ने क्रममा उसू खेलाडी निमाले भारत र पाकिस्तानका खेलाडीलाई हराइन् ।

जुडोको शान २ दशकपछि नेपाली खेलाडीले सागमा जुडोतर्फ पहिलो स्वर्ण जितिन् । नेपाललाई स्वर्ण दिलाउने खेलाडी फुपूल्हामु शेर्पा हुन् ।

खेलकुदमा एमालेको क्लिन स्विप अहिले एमाले अध्यक्ष केपी ओली देशका प्रधानमन्त्री छन् । त्यस्तै खेलकुद मन्त्रालय, राष्टिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीमा पनि एमालेकै नेतृत्व छ । यसरी नेपाली खेलकुदमा एमालेलाई क्लिन चिट प्राप्त भएको छ । तर विवादका कारण सबै पदहरु पाएर पनि सत्तासिन एमाले पार्टीले खेलक्षेत्रमा परिवर्तनको अनुभूति भने गराउन सकेको छैन । राष्टिय खेलकुद परिषद्मा एमाओवादीका युवराज लामापछि सदस्य सचिवको जिम्मेवारी सम्हाल्न आएका केशव विष्ट विवादरहित बन्न सकेनन् । उनीमाथि इन्चोन एशियाडका दौरान सेपाकटाक्रो खेलको टिम म्यानेजर बनेर जादाँ खेलाडी भगाएको आरोप छ । त्यसैले उनको नियुक्ति प्रक्रिया अझै विवादमा छ । वर्षौपछि नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् । तर निर्वाचन नगर्न अदालतले दिएको आदेश विपरित साधारणसभाबाट अध्यक्ष चुनिएका जीवनराम पनि विवादमुक्त छैनन् ।

गणेश थापामाथि प्रतिबन्ध २ दशकभन्दा लामो समयदेखी फुटबल हाँकिरहेका एन्फा अध्यक्ष गणेश थापाको रफ्तारमा गत वर्ष ब्रेक लागेको थियो । उनी तीन तीन महिनाका दरले दुईपटक एएफसीको निलम्बनमा परेका थिए । निलम्बन सकिएपछि यस वर्ष उनी आफैँ एन्फा सम्हाल्न आइपुगे । तर थापाको भाग्य बलियो थिएन ।

भ्रस्टाचारका आरोपित थापामाथि अन्तत फिफाले कारबाही गरिछाड्यो । उनीमाथि १० वर्षको प्रतिबन्ध लागेको छ । उनीमात्रै नभएर फिफाका तत्कालिन अध्यक्ष सेप ब्लाटर तथा महासचिव मिट्चेल प्लाटीनी पनि अहिले प्रतिबन्धमा छन् । थापामाथि लागेको प्रतिबन्धपछि अहिले पूर्व खेलाडी नरेन्द्र श्रेष्ठ एन्फाको कार्यकारी अध्यक्ष छन् । दक्षिण एशियाली खेलकुदमा खराब प्रदर्शन दक्षिण एशियाली खेलकुदमा नेपालको रेकर्ड खराब रह्यो । नेपालले प्रतियोगितामा केवल ३ स्वर्र्ण मात्रै जित्यो, त्यो पनि फुटबल समेत जोडेर । बृहद प्रतियोगितामा फुटबलको स्वर्णलाई अन्य स्वर्ण जत्तिको नमानिने भएका कारण युवा टोलीलाई अवसरका लागि खेलाईन्छ । यस हिसाबले नेपालका लागि यो साग बिर्सनलायक रह्यो । आवश्यकताभन्दा बढीको संख्यामा पदाधिकारी र एमालेका कार्यकर्ता तथा नेताहरु समेतको भिडले दक्षिण एशियाली खेलकुद एमालेको मिनी महाधिवेशन जस्तो देखिएको प्रतियोगित हेर्न जाने प्रत्यक्षदर्शीहरुले नै बताएका छन् ।

भूकम्पले पूर्वाधार क्षतविक्षत नेपाल सधैँ भौतिक पूर्वाधारमा कमजोर मूलुकमध्ये एक मानिन्थ्यो । भूकम्पले हल्लाएपछि देशका थुप्रै रंगशालामा तथा कभर्ड हल क्षतिग्रस्त भएका छन् । भूकम्पपछि काठमाडौँको किर्तिपुरस्थित टियूमैदान र दशरथ रंगशालामा ठूलो असर देखिएको छ । जसका कारण नेपालले अन्तर्राष्टिय स्तरका फुटबल प्रतियेगिता तत्काल आयोजन गर्न संभव छैन् । त्यस्तै अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता आयोजनाका लागि दाबेदारी प्रस्तूत गरेपनि नेपालले ति प्रतियोगिता आयोजना गर्न पाउने टुंगो छैन । भूकम्पका कारण देशका थुप्रै कभर्ड हल तथा रंगशालाहरु क्षतिग्रस्त भएका कारण घरेलु प्रतियोगिताहरु वर्षदिनभर प्रभावित भए । जसका कारण युवा प्रतिभाको उत्पादनमा समस्या देखिएको छ ।

तेक्वान्दोमा स्वर्णविहिन दक्षिण एशियाली खेलकुदमा नेपाल पहिलो पटक तेक्वान्दो खेलमा स्वर्णविहिन बन्यो । सन् १९९८ मा नेपालमै भएको आठौ सागपछि तेक्वान्दो खेल यस प्रतियोगितामा नियमित रुपमा समावेश हुदैँ आएको छ । तर प्रतियोगितामा नेपालको प्रदर्शन खस्कदोँ छ । १९९८ मा यस खेलमा मात्रै १६ स्वर्ण जितेको नेपाललाई प्रतियोगिताको नवौँ, दशौँ र एघारौँ संस्करणमा पनि खेलाडीहरुले स्वर्ण दिलाएका थिए । यसपटक दीपक विष्टको प्रशिक्षणमा नेपालले प्रतिस्पर्धा गरेपनि उनले खेलाडी छदाँजस्तो क्षमता प्रशिक्षकका रुपमा देखाउन सकेनन् । यसअघि एशियाली खेलका पछिल्ला दुई संस्करणमा नेपाल तेक्वान्दोतर्फ पदकविहिन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप