शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

युरोपबाट कमल थापालाई प्रश्नः पार्टीलाई कांग्रेस बनाउने कि माले ?

शुक्रबार, ०३ वैशाख २०७३, ११ : २५
शुक्रबार, ०३ वैशाख २०७३

काठमाडौं– पार्टीभित्र विचार विमर्श र मन्थन नहुने हो भने राप्रपा नेपाल प्रजातान्त्रिक पार्टी नबन्ने र राजसंस्था तथा हिन्दु राष्ट्रको एजेण्डा प्राप्त नहुने भन्दै राप्रपा नेपाल यूरोपले चिन्ता सार्वजनिक गरेको छ ।

फरक मत राखेकै आधारमा सह–अध्यक्ष केशर बहादुर विष्टलाई गरिएको निलम्बनको कारवाही ‘अन्यायपूर्ण, अवैधानिक’ भएको भन्दै पार्टी हितका लागि सो निर्णय फिर्ता लिन अध्यक्ष कमल थापालाई राप्रपा नेपाल यूरोपले संयुक्त वक्तव्यमा आह्वान गरेको छ ।

राप्रपा नेपाल डेनमार्कका अध्यक्ष गणेश खड्का नेपाली, राप्रपा नेपाल पोर्तुगलका अध्यक्ष रमेश राज बास्तोला, राप्रपा नेपाल फ्रान्सका अध्यक्ष हरि खत्री, राष्ट्रिय युवा मोर्चाका केन्द्रीय सदस्य प्रदीप अधिकारीले संयुक्त विज्ञप्तिमा भनेका छन्, ‘पार्टी भित्र विचारको मन्थन नहुने हो भने राप्रपा नेपाल परिवारवादी दलमा परिणत हुनेछ ।’

विज्ञप्तीमा पार्टी अध्यक्ष कमल थापालाई पार्टीलाई कांग्रेस जस्तै ठूलो पार्टी बनाउने कि माले जस्तो सानो पार्टी बनाउने भन्दै कमल थापालाई प्रश्न समेत गरिएको छ । पार्टीलाई फूट बाट बचाउन तथा शक्तिशाली बनाउन फरक मतको सम्मान हुनुपर्नेमा जोड दिँदै विज्ञप्तीमा भनिएको छ, ‘ नेपाली कांग्रेसमा कृष्ण सिटौला र गगन थापाहरुले गणतन्त्र एवं धर्म निरपेक्षको वकालत गर्छन् । महामन्त्री सशांक कोइराला र खुम बहादुर खड्काहरु हिन्दु धर्म, हिन्दु राष्ट्रको पक्षमा विचार राख्छन् तथापि कांग्रेसमा कोही कसैलाई कारवाही भएको छैन, हुन पनि राम्रो होइन । यदि यसरी नै कारवाही गर्दै जाने हो भने एक दिन सीपी मैनालीको माले जस्तै हैसियत पनि हाम्रो पार्टीको नहोला भन्न सकिदैन परिवारवाद पार्टी जो श्रीमती र श्रीमान आलोपालो मन्त्री बन्ने पार्टी जस्तै नहोला भन्न सकिदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप