गाउँमा तीन दिन बत्ती नआए पानीको हाहाकार
काभ्रे– काभ्रेपलाञ्चोकको डराउनेपोखरीस्थित पुरानो हटियामा तीन दिनसम्म बिजुलीबत्ती नआए खानेपानीको हाहाकार हुने गरेको छ ।
चारसय घर रहेको पुरानो हटियामा पहिलेपहिले गाउँको बीचमा रहेका तीनधारा र नारायण कुवाको पानी प्रयोग गर्दै आएपनि अहिले कुनै धारामा पानी आउँदैन । डराउनेपोखरीका मानिस पानी नआएपछि अहिले सात किलोमिटर तल रोशीखोलाबाट बिजुलीले तानेर पानीको प्रयोग गर्न बाध्य छन् ।
रोशीखोलाबाट एकपटकमा एक लाख लिटरसम्म पानी तान्ने गरेका डराउनेपोखरी हटियावासीले पानी प्रयोगका लागि मासिक ३५० रुपैयाँ तिर्ने गर्दछन् । तीन दिन बत्ती आएन भने बिजुलीबाट खानेपानी तान्न नपाएपछि पानीको हाहाकार हुन्छ ।
तीन दिनसम्म पनि बत्ती आएन र खानेपानीको हाहाकार भएपछि एक घन्टा हिँडेर ठूलोधारा भन्ने ठाउँमा पानी लिन जानुपर्छ । गाँउभरि नै पानी नआएपछि सबै जाँदा एक गाग्रो पानीका लागि तीन÷चार घन्टा लाइन बस्नुपर्ने बताउँछन्, स्थानीय पोडेमाया तामाङ । उनी भन्छन्, “भूकम्पपछि त गाउँका कुवा र धारामा पानी देख्नै पाइएन ।” त्यहाँका कतिपय जनताले त पानीको समस्याले गर्दा बसाइँसराइ नै गरेका छन् । पछिल्लो समय पानी पर्ने समयमा पानी नपरेपछि पानीको हाहाकार भएको हो ।
पहिलेपहिले प्रशस्त पानी हुने गरेपनि दुई–तीनवर्ष यतादेखि खानेपानीको समस्या देखापरेको हो । स्थानीयवासी ७० वर्षीय हर्कबहादुर श्रेष्ठले पछिल्लो समय पिउने पानीको समस्या भएको बताउँछन् । उनी भन्छन्, “म ७० वर्ष भएँ अहिलेसम्म यो गाउँमा पानीको समस्या थिएन, विगत दुई÷तीन वर्षदेखि पानीको साह्रै समस्या भएको छ, पानी खान नपाएर मरिन्छ कि भन्ने चिन्ता लागेको छ ।”
स्थानीयवासी रामचन्द्र श्रेष्ठले प्रत्येक दिन बिहान आधा घन्टा पानी थाप्ने व्यवस्था भएको र २० मिनेटभन्दा बढी पानी थापे थप ५० रुपैयाँ लिने गरेको गुनासो गरे । पानीको समस्या भएपछि डराउनेपोखरी हटियाका मानिसले गाईवस्तुसमेत कम पाल्न थालेका छन् ।
माथि उल्लिखित मानिस त केवल त्यस क्षेत्रका प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय मध्यपहाडी क्षेत्रको अधिकांश स्थानमा पानी सुक्ने समस्या हुने गरेको छ । सो गाउँमा घरदेखि बैठकसम्म पानीको बारेमा छलफल हुने गरेको छ ।
नेपाल खानेपानी संरक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा दीपक ज्ञवालीले मध्यपहाडी क्षेत्रको अधिकांश स्थानमा पानी सुकेको बताए । ज्ञवालीले प्रविधिको विकाससँगै धेरै क्षेत्रमा मेसिनबाट पानी तान्ने गर्दा पानी सुकेको उल्लेख गरे ।
उनले भने, “स्थानीय सरकार जबसम्म बलियो हुँदैन तबसम्म पानीको समस्या समाधान हुँदैन ।” प्रतिष्ठानले उक्त क्षेत्रमा गत दुई वर्षदेखि खानेपानीको अध्ययन गरिरहेको छ ।
यस्तै, प्रतिष्ठानले ग्रामीण भेगमा भएका अलिअलि धारा पनि पूरा नसुकुन् भन्नका लागि पोखरी संरक्षण अभियानसमेत थालेको छ । सो क्षेत्रमा रहेका २५० पोखरीमध्ये १४ वटा पोखरीलाई लिएर अध्ययनसमेत गरेको छ ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडका पानी तथा जलवायुविज्ञ डा सन्तोष नेपाल पानीको धारा सुक्न नदिन र दिगो बनाउन पोखरीको संरक्षण गर्नुपर्ने बताउँछन् । उनी भन्छन्,, “उच्च क्षेत्रमा बोटबिरुवा संरक्षण गर्ने पोखरीको संरक्षण गर्ने हो भने तल्लो क्षेत्रका जनतालाई पानीको समस्या पर्दैन ।” पानीको समस्या कम गर्नका लागि उच्च क्षेत्र र तल्लो क्षेत्रका जनताबीच एकआपसमा सहयोगको भावना हुनु जरुरी छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण