शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

६ महिनामा सरकारले ऐतिहासिक काम गरेको सञ्चारमन्त्रीको दाबी

आइतबार, ०५ वैशाख २०७३, १० : ४०
आइतबार, ०५ वैशाख २०७३
विराटनगर– सूचना तथा सञ्चारमन्त्री शेरधन राईले छ महिनाको अवधिमा सरकारले ऐतिहासिक र उल्लेखनीय काम गरेको दाबी गरेका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले देशभित्र र बाहिर संविधानका विषयमा फैलाइएका भ्रमलाई चिर्दै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने आधार खडा गर्न सरकार सफल भएको तर्क गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा संविधानको स्वागत गरेको स्मरण गर्दै उनले चीन भ्रमणका बेला संविधानको स्वागतका साथसाथै ऐतिहासिक पारवहन सन्धि सम्पन्न भएको उल्लेख गरे । स्थानीय निकायमा निर्वाचन नभएकाले विकास निर्माण कार्यमा कठिनाइ भइरहेको उनको भनाइ थियो । उनले जेठ १५ गते बजेट घोषणाका साथै स्थानीय निकाय निर्वाचनको तिथिसमेत घोषणा हुने विश्वास व्यक्त गरे । मन्त्री राईले यस पटक बजेटमा तराईलाई लक्ष्यित विकासका योजना ल्याइने जानकारी पनि दिए । यो वर्षात्सम्ममा भूकम्पपीडितलाई खुल्ला आकाशमा बस्न नपर्ने गरी सामूहिक आवासको निर्माण गरिसक्ने समेत सो अवसरमा उनले बताए । एक प्रश्नको जवाफमा उनले सङ्घीयता कार्यान्वयनका लागि समितिसमेत गठन भइसकेको र सीमाङ्कनलगायतका विषय टुङ्गो लगाउन गठित उच्चस्तरीय समितिले चाँडै नै पूर्णता पाउने विश्वास व्यक्त गरे । सञ्चारमन्त्री राईले १६ बुँदे भद्र सहमतिलाई स्मरण गर्न नेपाली काँग्रेसलाई आग्रह गर्दै संविधान कार्यान्वयनका साथै देश र जनताको हितका लागि सरकारमा सहभागी हुन पनि आह्वान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप