महोत्तरीमा कैदी बिरामी हुने क्रम बढ्यो
बर्दिवास - महोत्तरी कारागारमा कैदी थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ ।
नयाँ वर्ष प्रारम्भसँगै बढेको प्रचण्ड गर्मी र तातो हावाले कारागारभित्र कोचिएर बस्दैआएका कैदी थुनुवा बिरामी हुने क्रम बढेको कारागार प्रशासनले नै स्वीकार गरेको छ ।
जम्मा १३५ कैदी थुनुवा राख्न सकिने क्षमताको कारागारमा अहिले ३९३ जनालाई राखिएको छ । क्षमताभन्दा झन्डै तेब्बर बढी कैदी थुनुवा राख्नुपर्दा बसाइँ अस्तव्यस्तताकै कारण बिरामी हुने क्रम बढेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले स्वीकार गर्नुभयो । कारागारमा दम ९श्वासप्रश्वास०, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ ।
कारागारले थेग्न नसक्ने कैदी थुनुवा न्यायिक निकायले पठाइदिने गरेपछि उनीहरुको बसाइँ व्यवस्थापन मिलाउन गाह्रो भएको र बिरामी पर्ने क्रम बढेको कारागार प्रशासनको भनाइ छ । अहिले दिनहुँ नियमित उपचार लिनेकोे सङ्ख्या ५० को हाराहारीमा रहने गरेको कारागारका वरिष्ठ स्वास्थ्यकर्मीसमेत रहनुभएका प्रमुख ठाकुरले बताए ।
कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन् । अहिले महिला कक्षमा पाँच आश्रित बालबालिकासहित ३७ जना र पुरुष कक्षमा ३५६ जना कैदी थुनुवा रहेका छन् ।
कारागारमा ठाउँको अभावसँगै, सीमित शौचालय र धारामात्र हुँँदा दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घन्टौँ पालो कुर्नुपर्ने एवम् सुत्न बस्न नै ठाउँ नपाइँदा आफूहरुलाई निकै गाह्रो भइरहेको कैदी थुनुवाले बताएका छन् ।
खासगरी नियमित सरसफाइ गर्न नपाएर नापेर दिएको एकहात चौडा चारहात लम्बाइको सीमित ठाउँमा कुँजिएर बस्नुपर्दा कारागारमा सद्दे पसेको मान्छे पनि एक दुई दिनभित्रै बिरामी हुने गरेका कारागारकै पाका उमेरका कैदी ७१ वर्षीय रामदेव मुखिया बताउँछन् । सीमित ठाउँमा खाँदिएर बस्न सुत्न पर्दा आफूहरुमध्ये धेरैलाई मुर्छा पर्ने, रिङ्गटा लाग्ने र लुतो लाग्ने समस्याले सताएको अर्का कैदी रामदुलार यादवले बताए ।
कारागार प्रमुख ठाकुरले आफूकहाँ कैदीबन्दी थपिएअनुपातमा कारागार व्यवस्थापन विभागले उपचार खर्च उपलब्ध नगराएको गुनासो गरे ।
कारागारमा ३९३ कैदी थुनुवाका लागि जम्मा दुईवटा धारा र चारवटा शौचालयमात्र भएकाले उनीहरुले दैनिक ठीक समयमा नित्यक्रिया दिसापिसाब र नुहाइधुवाइ गर्न समेत पाउँदैनन् ।
कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढी कैदी थुनुवा बन्दी अन्यत्र लान र कारागारमा भौतिक सुधार गर्न स्थानीय प्रशासन, कारागार व्यवस्थापन विभाग र गृहमन्त्रालयमा कैयौँपटक आग्रह गरिए पनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ ।
कारागारको यस्स्तो दयनीय अवस्था अन्त्यका लागि सम्बन्धित निकायले तत्कालै पहल गर्नुपर्ने जिल्लामा मानवअधिकार क्षेत्रमा कार्यरत इन्सेक जिल्ला प्रतिनिधि अजय साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण