आचारसंहिताविपरीत चोक–चोकमा लेखापरीक्षण, खुलेआम दलाली
चोक–चोकमा देखिन्छन् आचारसंहिता उल्लंघनका प्रमाण आईक्यानले तोकेको आचारसंहिताअनुसार लेखापरीक्षणसम्बन्धी कामको भड्किलो प्रचार गर्न पाइँदैन । लेखापरीक्षण सेवा प्रदान गर्ने भनी कतै विज्ञापन वा अन्य प्रचारात्मक सामग्री राख्न आईक्यानले बन्देज गरेको छ । यससम्बन्धमा लेखापरीक्षण फर्मका लागि निश्चित मापदण्डसमेत बनाइएको छ । फर्मले प्रयोग गर्ने होर्डिङबोर्डको साइज कत्रो र कस्तो हुने भन्ने विषयमा समेत स्पष्ट मापदण्ड बनाइएको छ । तर, उक्त आचारसंहिता र नियमको उल्लंघन गरेको प्रमाण जताततै देखिन्छ । माथिको तस्बिरलाई राम्रोसँग नियाल्नुहोस् । उक्त लेखापरीक्षण फर्मले सटरमा राखेको प्रचारात्मक जानकारी आईक्यानको मापदण्डविपरीत छ । अझ उक्त सटरमा राखिएको जानकारीले आईक्यानको आचारसंहितालाई गिज्याइरहेको छ । उक्त प्रचारात्मक जानकारीमा स्पष्टसँग आफूहरूले ‘ट्रायल ब्यालेन्स’, ‘पीएल एकाउन्ट’ जस्ता ‘फाइनान्सियल स्टेटमेन्ट’ बनाउने सेवा पनि दिने उल्लेख छ, जब कि त्यो लेखापरीक्षण फर्मको कामै होइन । लेखापरीक्षण मानलाई हेर्ने हो भने स्पष्टसँग ‘फाइनान्सियल स्टेटमेन्ट’ बनाउने जिम्मेवारी व्यवस्थापनको हो भनिएको छ । व्यवस्थापनले बनाएको तीनै वित्तीय विवरण ठीक छ कि छैन भन्ने हेरी आफ्नो रायसहितको प्रतिवेदन दिने लेखापरीक्षकको काम हो । तर, ती वित्तीय विवरण आफैँ बनाउने र लेखापरीक्षण पनि आफैँ गर्नेगरी आफैँ बोक्सी, आफैँ झाँक्री शैलीमा कतिपय लेखापरीक्षकले गलत काम गरिरहेका छन् । आईक्यान ऐन–२०५३ मा यस्तो विज्ञापन राख्न नपाइने स्पष्ट व्यवस्था छ । यस्ता विज्ञापन प्रायः कर कार्यालयवरिपरि भेटिने गरेका छन् । खुलेआम आचारसंहिताको उल्लंघन भइरहँदा पनि नियमन गर्ने निकाय भने मौन रहेको लेखा व्यवसायीको आरोप छ । रातोपाटीसँग कुराकानी गर्दै आईक्यानका एक सदस्य भन्छन्, ‘थुप्रै ठाउँमा आचारसंहिता उल्लंघन भएका छन् तर उसले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सकेको छैन । यो नेपाली लेखा व्यवसायका लागि निकै ठूलो विडम्बना हो ।’ उनका अनुसार आईक्यानका कतिपय सदस्य वा पधाधिकारीले नै आईक्यानले बनाएको कतिपय आचारसंहिता उल्लंघन गर्ने गरेका छन् । उनी भन्छन्, ‘नियमविपरीत काम गर्नेको हालीमुहाली हुँदा नियममै रहेर काम गर्नेलाई भने गाह्रो भइरहेको छ ।’
यसरी हुन्छ खुलेआम दलाली प्रतिष्ठित लेखा व्यवसायमा केही दलाली गर्नेको घुसपैठ भएपछि नेपाली लेखा व्यवसायमा समेत नियम विपरीत काम हुनेक्रम बढेको लेखा व्यवसायीको आरोप छ । आईक्यानको आचारसंहिता उल्लंघन गर्दै कतिपय दलालले पत्रपत्रिकामै विज्ञापन छापी अडिट रिपोर्ट चाहिएमा सम्पर्क गर्नू भनी व्यवसायलाई नियमविपरीत अगाडि बढाइरहेका छन् । यसअघि पनि रातोपाटीले लेखा व्यवसायलाई लिएर नियमविपरीत विज्ञापन छापिने गरेको समाचार प्रकाशनपछि काठमाडौँबाट प्रकाशित हुने एक पत्रिकामा नियमित रूपमा आइरहेको नियमविपरीत विज्ञापन रोकिएको थियो । तर, यो क्रम भने अझै रोकिएको छैन । कतिपय दलालले पर्चा, पत्रपत्रिकामा विज्ञापन छापेर वा काम ल्याउनेलाई कमिसन दिएरसमेत आचारसंहिता उल्लंघन गरी लेखापरीक्षणसम्बन्धी काम गरिरहेका छन् । लेखापरीक्षणसम्बन्धी काम ल्याउने र सस्तोमा दर्तावाला लेखापरीक्षकलाई सही गराएर कमिसन लिने दलालको संख्या पनि नेपाली लेखा व्यवसाय क्षेत्रमा उल्लेखनीय रहेको लेखा व्यवसायीहरूकै गुनासो छ । यसअघि काठमाडौँबाट प्रकाशित एक साप्ताहिकको वर्ष ६, अंक ३४, २०७२ फागुन २४ मा प्रकाशित यो विज्ञापनसम्बन्धी समाचार रातोपाटीले सार्वजनिक गरेपछि यो काम नेपाली लेखा व्यवसायमा चर्चाको विषय बनेको थियो । विज्ञापनको छैटौँ बुँदामा ‘बैंक ऋणका लागि अडिट रिपोर्ट’ भनेर लेखिएको आईक्यानको नियमविपरीत थियो । लेखापरीक्षण शुल्कसमेत आचारसंहिता उल्लंघन आईक्यानले दर्तावाला लेखापरीक्षक र चार्टर्ड एकाउन्टेन्टले लेखापरीक्षण गरेबापत न्यूनतम कति शुल्क लिने भने स्पष्ट व्यवस्था गरेको छ । यसका साथै उसले कुन वर्गको लेखापरीक्षकले कति कारोबारसम्मको लेखापरीक्षण गर्न पाउने भन्नेसमेत स्पष्ट व्यवस्था गरेको छ । तर, उक्त व्यवस्थाको बर्खिलाप गर्दै कतिपय लेखापरीक्षकले नियमविपरीत काम गरिरहेका छन् । आईक्यानको नियमअनुसार आफूले गर्न नमिल्ने कारोबार भएको संस्थाको समेत कतिपय लेखापरीक्षकले काम गरिरहेका छन् । आईक्यानकै एक सदस्य भन्छन्, ‘यहाँ त क्लाइन्ट कसरी खोस्ने भन्ने काम भएको छ । आईक्यानले तोकेको नियमबाहिर रहेर समेत काम गरिएको छ । त्यसरी काम गर्ने कतिपय लेखापरीक्षक आईक्यान नेतृत्वसँग नजिक हुने गरेकाले कारबाहीको उनीहरूलाई डर हुँदैन । यस्तै केही गलत काम गर्नेले नेपाली लेखा व्यवसायलाई धमिलो बनाइरहेका छन् ।माथिको तस्बिरलाई हेर्नुहोस् । यो २०७० र ७१ को श्री नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको वासलात हो । यसमा वासलातको जम्मा रकम १५९१२९१८८।३२ छ । यो कारोबार भएको वासलातलाई ‘ख’ वर्गका दर्तावाला लेखापरीक्षण फर्म एनआर भट्टराई एन्ड एसोसिएट्सले लेखापरीक्षण गरेका छन् । जुन सरासर नियमविपरीत छ । आईक्यानको तत्कालीन नियमअनुसार पनि १५ करोड कारोबार भएको संस्थाको लेखापरीक्षण ‘ख’ वर्गको लेखापरीक्षकले गर्न पाउँदैन । अहले उक्त कारोबार रकमको हद झन् घटेको छ । आईक्यानकै उपल्लो तहमा रहेकाबाटै उल्लंघन नेपाली लेखा व्यवसायलाई नियमन गर्ने निकाय आईक्यान भए पनि संस्थाकै कतिपय उपल्लो तहमा रहेका लेखापरीक्षकले आईक्यानको नियम नमान्ने गरेको लेखा व्यवसायीहरूको भनाइ छ । आईक्यानका एक सदस्य भन्छन्, ‘आईक्यानका एक पदाधिकारीले नै मलाई नसोधी मैले गरिरहेको लेखापरीक्षण संस्थाको लेखापरीक्षण गर्न लागेका छन् । यसका लागि उक्त संस्थाले लेखापरीक्षणको काम कसलाई दिने भन्नेसमेत माइन्युट गरिसकेका छन् ।’ उनका अनुसार कुनै पनि लेखापरीक्षकले तीन वर्ष नपुग्दै लेखापरीक्षक परिवर्तन भएको खण्डमा पूर्वलेखापरीक्षकसँग सल्लाह गर्नुपर्ने, के–कसो भएको हो वा विगतमा कति शुल्क लिएको हो लगायतका जानकारी लिई ‘नो अब्जेक्सन’ लिनुपर्ने व्यवस्था लेखापरीक्षण आचारसंहितामा उल्लेख छ । उनी अगाडि भन्छन्, ‘यस्ता नियमविपरीत काम थुप्रै ठाउँमा हुने गरेको छ । आईक्यानका कतिपय जिम्मेवार सीएले नै यस्तो गरेपछि बजार धमिलिएको हो । यसमा आईक्यान बलियो भएर अगाडि आउन जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण