शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

संगीतमा शोषण : कलाकार विभाजित हुँदा म्युजिक कम्पनीको राइँदाइँ

आइतबार, ०५ वैशाख २०७३, १३ : ५६
आइतबार, ०५ वैशाख २०७३

चर्चित कलाकार श्रीकृष्ण बम मल्ल बिरामी परे । ओछ्यानमा छटपटाउँदा बमलाई आफन्तले धेरै क्षेत्रबाट सहयोग गरे । तर, जीवनभरि मरिमेटेर लागिपरेको पेसाबाट उनले उपचारका लागि केही सहयोग पाएनन् । ‘नेपालको कलाकार हुँ, मेरो आम्दानी छ भनेर गर्व गर्ने अवस्था छैन,’ उनले निराश हुँदै भने, ‘किनकि म आफैँ बिरामी भएर छटपटाउँदा पनि मेरो रोयल्टी छ भन्ने अनुभूति हुनुको साटो परिवार र आफन्तकै मुख ताक्नुपर्छ । बिरामी पर्दासमेत आफ्ना लागि काम नलाग्ने रोयल्टीको के काम ।’ त्यसो त मल्ल आफैँ संगीत रोयल्टी संकलन समाज कोषाध्यक्ष पनि हुन् । त्यसैले उनीजस्तै हजारौँ स्रष्टा÷सर्जकले आफूले जीवनभरि गाएको गीतबाट रोयल्टी लिएर जीवन गुजारौँला भन्ने आस गर्दैनन् । संगीत उत्पादककहाँ पुगे पनि रोयल्टी समाज सदस्यकहाँ नपुग्ने रोयल्टी अरू स्रष्टा÷सर्जजकको हातमा पुग्ने कुरामा कलाकारलाई नै विश्वास छैन । यसको धेरै कारण छन् भन्ने कुरा कलाकारलाई पनि जानकारी छ । तर, रोयल्टी कार्यान्वयनमा आउन सकेको छैन । सरकारले प्रतिलिपि अधिकार ऐन–२०५९ बनाएर रोयल्टी र प्रतिलिपि अधिकार रक्षाका लागि काम सुरुवात गर्यो । ऐनको दफा ३९ बमोजिम नेपाल रोयल्टी संकलन समाज, प्रस्तोता समाज नेपाल र उत्पादनक समाज गठन भएका छन् । २०६४ जेठ २५ गते स्थापित रोयल्टी संकलन समाजको काम स्वदेश तथा विदेशका विभिन्न स्थानमा सार्वजनिक एवम् व्यापारिक रूपमा प्रयोग हुने नेपाली गीत–संगीतबापत रोयल्टी उठाई सम्बन्धित स्रष्टालाई वितरण गर्ने हो भने प्रस्तोता समाजले गायक÷गायिकालाई सदस्यता प्रदान गर्ने, रोयल्टी रकम निर्धारण एवम् वितरण गर्ने तथा गायन विधालाई अभिवृद्धि गर्नेलगायतका काम गर्छ । उत्पादक समाज भने आफैँ विवादको घेरमा परेर खारेज भयो । हालैमात्र नयाँ समिति गठन भएर काम गर्न सुरु गरेको छ । त्यसपछि धेरैपटक धेरै प्रयास भए । तर, रोयल्टी पाउने प्रावधान कार्यान्वयन हुन नसक्नुका कारण सबैभन्दा नियमनकारी निकायले नै प्रभावकारी काम गर्न नसकेको बताउँछन् कलाकार सुवास रेग्मी । के हो रोयल्टी ? संविधानको दफा २५ अनुसार बौद्धिक सम्पत्ति पनि अन्य सम्पत्तिसरह मौलिक हकका रूपमा राखिएको छ । त्यसअन्तर्गत गीत, संगीत, कला आदि पर्छन् । प्रतिलिपि अधिकार ऐन–२०५९ ले पनि त्यसको व्यवस्था गरेको छ । जसरी अन्य भौतिक सम्पत्ति प्रयोग गर्दा त्यसबापत निश्चित शुल्क तिरिन्छ । त्यसैअनुसार बौद्धिक सम्पत्ति प्रयोग गर्दा पनि तिर्नुपर्ने शुल्क नै संगीत रोयल्टी हो भन्छन् संगीत रोयल्टी संकलन समाज अध्यक्ष सुरेश अधिकारी । ‘जस्तै रोयल्टीलाई रोटीका रूपमा मान्यौँ भने प्राविधिक पक्ष दुई टुक्रा हुन्छ । अनि दुई दुक्रा क्रिएटिभ पक्ष,’ उनले भने, ‘त्यही क्रिएटिभ पक्षको उपयोगबापत तिरिने शुल्क नै रोयल्टी हो ।’ सर्जकले गीत रचना गर्छ, संगीतकाले संगीत भर्छ अनि कम्पनीले उत्पादन गर्छ । कम्पनीले त्यो गीत बेचेपछि रचनाकार, संगीतकार आदिका भागमा पर्न जाने शुल्क रोयल्टी भएको उनको भनाइ छ । तर, नेपालमा गीत प्रयोग गरेबापत रोयल्टी नै नउठेको उनको दाबी छ । कस्तो हुन्छ रोयल्टीको मुख ? कलाकारको रचना, संगीतकारको संगीत, भाका लय प्रयोग गरेर कुनै व्यक्तिले लगानी गरेर गीत बनाउँछन् । तर, त्यसबाट नाफा भने म्युजिक कम्पनीले लिन्छन् । पहिले म्युजिक कम्पनीले अडियो चक्का बेचे, त्यसपछि सिडी/भिसीडी बेचे, त्यसपछि फेरि सिआरबिटी र पिआरबिटीको जमाना आयो, पेनड्राइभमा गीत आदान–प्रदान पनि चलिहरेको छ, अहिले युट्युबमार्फत म्युजिक कम्पनीले गीत बेचेर पैसा कमाइरहेका छन् । अहिले म्युजिक नेपाल, हाइलाइट्स नेपाल, बूढा सुब्बा म्युजिक सेन्टर, सङ्स नेपाल, हनी इन्टरटेनमेन्ट, पीएनपी मिडिया हाउसलगायत च्यानल कलाकारको अनुमतिविना युट्युबमा गीत राखेर नाफा कमाइरहेको कलाकारको आरोप छ ।

‘मैले गाउन थालेको २०६५ देखि हो, बनाएर गीत दिएपछि म्युजिक नेपालले विभिन्न तरिकाले बेच्यो । अहिले युट्युबमा हाल्छ,’ लोकगायक मीन दर्लामी भन्छन्, ‘तर, कस्तो हुन्छ रोयल्टी भन्ने मैले अहिलेसम्म देखेको छैन ।’

कम्पनीले पैसा कमाए पनि कतिपय कलाकारले रोयल्टीबारे भेउ पाउन सकेका छैनन् । ‘मैले गाउन थालेको २०६५ देखि हो, बनाएर गीत दिएपछि म्युजिक नेपालले विभिन्न तरिकाले बेच्यो । अहिले युट्युबमा हाल्छ,’ लोकगायक मीन दर्लामी भन्छन्, ‘तर, कस्तो हुन्छ रोयल्टी भन्ने मैले अहिलेसम्म देखेको छैन ।’ रोयल्टीको कुरा आफूलाई राम्रोसँग थाहा भए पनि कम्पनीले कुरै नगर्दा दर्लामीले दुःख व्यक्त गरे । यत्तिका वर्षसम्म केही न केही जम्मा भए पनि म्युजिक नेपालले वास्ता नगरेको भन्दै उनले दुःखेसो पोखे, ‘म गीत रेकर्ड गर्न जाँदा डेढ/दुई लाख खर्च हुन्छ । अनि एउटा कम्पनीलाई जिम्मा दिन्छु, म्युजिक नेपालले युट्युबमा राख्छ ।’ तर, मलाई तपाईंको रोयल्टी यति भयो भनेर कहिल्यै नभनेको उनले बताए । कलाकार बाँडिदा आफैँलाई समस्या आफ्नै परिश्रमको फल पाउन वञ्चित हुनुमा कलाकार स्वयम्को समेत दोष छ । कलाकार आफूहरू एकजुट हुन नसकेर यस्तो हविगत भएको कलाकार हेमन्त शर्माको भनाइ छ । ‘हामीलाई के भइरहेको छ भन्ने थाहा छ, बाँडिएर होइन एकजुट भएर काम गर्यो भने हाम्रो सिर्जनाको रोयल्टी पाउने वातावरण बन्छ,’ शर्माले भने, ‘तर, त्यसका लागि एकजुट हुन सकिरहेका छैनौँ ।’ प्रस्तोता समाज नेपाल अध्यक्षसमेत रहेका उनले अहिले प्रविधि विकाससँगै रोयल्टी ठगीका नयाँ तरिका अपनाएकाले पुरानो सम्झौता खारेज गरी समयसुहाउँदो नयाँ सम्झौता गर्नुपर्ने बताए । ‘केही कम्पनीले वर्षौंदेखि अर्काको सिर्जनामा रजाइँ गरिरहेका छन्,’ उनी भन्छन्, ‘स्रष्टा÷सर्जकले आफ्नो सिर्जनाको कमाइ लिन एकजुट हुनुपर्छ ।’ रोयल्टी संकलन समाज अध्यक्ष संगीतकार सुरेश अधिकारी पनि सर्जक आफैँ सचेत हुनुपर्नेमा जोड दिन्छन् । नेपालमा अर्काको ठूलो भाग देखेर विरोध गर्ने र आफ्नो अधिकार के हो भनेर थाहा नपाउनेबीच समन्वय गरी पहल गर्नुपर्ने उनको भनाइ छ । ‘युट्युबले दिएको रकम जुन देशमा हेरियो, त्यहीँको सीएमओलाई दिन्छ । तर, हामी यहाँको संस्थाको विरोध गर्छौं,’ उनले भने, ‘हामीले त्यहाँको सीएमओबाट रोयल्टी ल्याउन पहल गर्नुपर्यो ।’ उनले नेपालमा रोयल्टी संकलन हुन नसकेको र त्यसमा राज्यको तदारुकता र जनतामा अर्काको सिर्जना प्रयोग गरेपछि रोयल्टी तिर्नुपर्छ भन्ने चेतना नभएको बताउँछन् । ‘कानुनले तिर्नुपर्छ भनेपछि पनि नतिर्ने र कानुन उल्लंघन गर्नेलाई कारबाही गर्ने राज्य संयन्त्र दुवैको कमजोरी छ,’ उनले भने । कानुनी लडाइँ सुरु पछिल्लो समय भित्रिएका नयाँ प्रविधिबाट आफूहरूको सम्पत्तिमाथि लुट मच्चाएको भन्दै कलाकारले त्यस्ता संस्थाविरुद्ध उजुरी दिन सुरु गरेका छन् । तीमध्ये अधिकांश उजुरी अनुमतिविना कम्पनीले आफ्ना गीत युट्युबमा अपलोड गरेको विषयमा परेका छन् । म्युजिक नेपाल, हाइलाइट्स नेपाल, बूढा सुब्बा म्युजिक सेन्टर, सङ्स नेपाल, हनी इन्टरटेनमेन्ट, पीएनपी मिडिया हाउसलगायतका युट्युबमा कलाकारका विनाअनुमति गीत अपलोड गर्ने र कमाउनेविरुद्ध उजुरी परेको हो । तीमध्यका पुरानो म्युजिक नेपालले अरूकै लगानीका भिडियो आफ्नो च्यानलमा राखेर कमाइ गरिरहेको छ । कलाकारले त्यसबारे आफूहरूलाई थाहै नभएको बताउँछन् । संगीतकार संघ नेपाल, संगीत रोयल्टी संकलन समाज नेपाल, गीतकार संघ नेपाल, प्रस्तोता समाज नेपाल र सांगीतिक संघ नेपालले सामूहिक रूपमा कानुनी लडाइँ सुरु गरेका छन् । उनीहरूले गत फागुन १६ गते युट्युब च्यानलमा गीत राख्नेलाई पत्र पठाएका छन् । सर्जक र निर्माताको अनुमतिविना युट्युबमा कुनै पनि रचना अपलोड नगर्न, गरिसकेको भए १५ दिनभित्र सच्याउन, नत्र कानुनी कारबाहीको भागीदार बन्न पत्रमार्फत चेतावनी दिइएको छ । सबै नेपाली युट्युब च्यानललाई यस्तो चेतावनीयुक्त पत्र पठाइएको हो । व्यवस्थापिकाको विकास समिति, सञ्चार मन्त्रालय, प्रशासन कार्यालय, नेपाल प्रहरी र प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलाई पनि त्यसको जानकारी दिइएको हो । कठघरामा ल्याउने प्रयास स्रष्टाले आफ्नो सिर्जनाको रोयल्टी पाउने कुरामा रोयल्टी संकलन समाज, प्रस्तोता समाज नेपाललगायतले विभन्नि निकायको ध्यान केन्द्रित गरेपछि संसद्को विकास समितिले उनीहरूलाई न्याय दिने प्रयास गरिरहेको छ । गत चैत २ गते संसद्को विकास समिति बैठकमा ‘रचनाकार, संगीतकार, गायक र लेखकले प्रतिलिपि अधिकार ऐन–२०५९ अनुसार आफ्ना सिर्जना प्रयोग भएबापत पाउनुपर्ने रोयल्टी, पारिश्रमिक प्रयोगकर्ताबाट उठाई सम्बन्धित स्रष्टाले पाउने व्यवस्था मिलाएर त्यससम्बन्धी प्रगति विवरण सम्बन्धित निकायमार्फत प्रत्येक तीन÷तीन महिनामा आफूकहाँ पठाउन’ र कार्यान्वयनका लागि पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले नवीन प्रविधि प्रयोगसमेत गर्दै समयानुकूल यथोचित व्यवस्था गर्न एवम् रोयल्टी प्रक्रियामा संलग्न नरहेका र नआएका प्रयोगकर्तालाई समेत प्रक्रियामा ल्याउन सूचना तथा सञ्चार मन्त्रालय र अन्तर्गतका निकायलाई निर्देशन गरेको थियो । समितिको सोही बैठकमा ऐनको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरीभित्र प्रतिलिपि अधिकार प्रहरी इकाइ गठन गरी कार्यान्वयनमा ल्याउनका लागि गृह मन्त्रालयलाई निर्देश गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप