शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चुरे विनासले धमाधम सुक्न थाले इनार : बर्दिवासमा खानेपानीको हाहाकार

बुधबार, ०८ वैशाख २०७३, १४ : १८
बुधबार, ०८ वैशाख २०७३

बर्दिवास - बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ ।

नगरपालिकाको किसाननगरमा इनार धमाधम सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको हो । सर्वसाधारण यसको कारण खोतल्दै चुरे संरक्षण गर्नुपर्ने टुङ्गोमा पुगेका छन् । किसाननगरका मनहरीपुर, कृष्णपुर, फूलबारीटोल, चौलिखा, प्रेमनगरसहितका बस्तीमा खानेपानीका स्रोत सुक्न थालेपछि स्थानीयबासिन्दा चुरे क्षेत्रको लगातारको उत्खनन, वनसम्पदाको चोरी निकासी र संरक्षण नपाएका जलाधार तथा सीमसार क्षेत्रबारे चासो देखाउन थालेका छन् । “हामीले बल्ल चुरे विनासले पानीका मुहान सुकेका थाहा पायौँ,” स्थानीय सुजोतियादेवी पञ्जियारले भनिन् । पानीको मुहान सुक्न नदिन चुरे संरक्षण र वन विनास नियन्त्रणमा लाग्नुपर्ने उनी बताउँछिन् । सडक, खानेपानी, विद्युत् र शिक्षासहितका पूर्वाधारको समुचित प्रबन्ध बिना बर्दिवास नगरपालिकामा गाभिएको किसाननगरमा अहिले खानेपानीको अभावले यहाँका बासिन्दा काकाकुल अवस्थामा छन् । चुरे दोहन र वन विनासका कारण पानीका मुहान सुक्दै गएको थाहापाएपछि यहाँका बासिन्दा सङ्गठित रुपमै चुरे संरक्षणमा लागेका छन् । वन अतिक्रमण, रुख कटान र चुरे क्षेत्रका वनसम्पदाको दोहन राजनीतिक संरक्षणमा भइरहेकाले त्यसतर्फ राजनीतिक दलको सहयोग आवश्यक भएको स्थानीय धनबहादुर स्याङ्वाको भनाइ छ । नगरपालिकाका गणन्ता, ढुङ्ग्रे, बरडाँडा, टुटेश्वर र भब्सी तथा हात्तीलेट, बिजलपुरा, पशुपतिनगर र भङ्गाहा गाविसका बस्तीमा खानेपानीका स्रोत धमाधम सुक्दै गएका छन् । बर्दिवास नगरपालिकाको मुख्य बजार, हटिया र चोक क्षेत्रमा भण्डारण केन्द्रमा पानीको कमी भएपछि धारामा पानी आउन छाडेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप