गुडिरहेको बसमा ढुंगामुढा बर्साइयो, यात्रुसहित प्रहरी घाइते
गोरखा– आरुघाटबाट गोरखा सदरमुकामका लागि छुटेको यात्रुवाहक बसमा यातायात व्यवसायी समिति गोरखा आबद्ध युवाले ढुङ्गा प्रहार गर्दा चालक, यात्रु र प्रहरी घाइते भएका छन् । कच्ची रुटमा ‘सिन्डिकेट’ लाद्दै समितिका व्यवसायी र मजदुरले आज मध्याह्न फिनामको धनबासेमा यात्रुवाहक बसमा ढुङ्गामुढा गरेका हुन् ।
आरुघाट–गोरखा रुटमा आरुघाट यातायात प्रालिले बस सञ्चालन गरेपछि त्यसको विरोधमा यातायात व्यवसायी समिति गोरखाले गाडी तोडफोड गरेका हुन् । समितिका पदाधिकारी, मजदुरले आरुघाट प्रालिका अध्यक्ष खड्कबहादुर आलेको ना५ख ७२११ नंको बसमा ढुङ्गा हानेका हुन् । बसको अगाडिको सिसा फुटेको छ ।
त्यस्तै, बसमा यात्रारत यात्रु बगुवाकी बुद्धलक्ष्मी श्रेष्ठ, आरुचनौटेकी लीला गुरुङ, गुम्दा– ५ लप्सिबोटका कान्छा गुरुङ, आरुघाटका अर्जुन गुरुङलगायत यात्रुहरु घाइते छन् । उनीहरुको हातगोडा लगायतका अङ्गमा चोटपटक लागेको छ । गोरखा यातायात सम्बद्ध युवाले आरुघाट यातायात सम्बद्ध युवा चढेको ग६प ७६५६, बा६०प ५१५६, बा५०प ६९०२ र बा५५प ८१०५ नंको मोटरसाइकल तोडफोड गरी फुटाएका छन् ।
घाइते यात्रु बुद्धलक्ष्मीले भने– “असजिलो बाटोमा गुडिरहेको बसमाथि एक्कासी ढुङ्गा हाने । उच्छिटिएको ढुङ्गा र सिसाको टुक्राले हातमा चोट लाग्यो ।” उनी नातिको विवाहका लागि चितवन जान सो बस चढेका थिए । अर्की घाइते यात्रु लीला गुरुङले व्यवसायीको झगडामा यात्रुलाई मुछिएकामा दुःख लागेको बताउनुभयो । उक्त बसका चालक रामबहादुर रोका पनि घाइते भएका छन् ।
यात्रुवाहक बसमा ढुङ्गामुढा भएको जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरी टोलीलाई यातायात व्यवसायी समिति गोरखा सम्बद्ध युवाले हातपात गरेका थिए । प्रहरी जवान सिम्रन रायको टाउकामा चोट लागेको छ । उहाँको गोरखा जिल्ला अस्पतालमा उपचार गरिएको छ । प्रहरीले यातायात व्यवसायी समिति गोरखाका दिनेश तमु र नरेश बरामलाई घरेलु हतियारसहित पक्राउ गरेको छ ।
यस्तै, दुवै समितिका युवाबीच सडकमै झडप भएपछि प्रहरीले लाठी चलाउँदा यातायात व्यवसायी समितिका पूर्वसचिव नारायण दानी घाइते भएका छन् । झडपपछि गोरखा–आरुघाट सडकमा बस चलेको छैन ।
यातायात व्यवसायी समिति गोरखाका अध्यक्ष रामहरि केसीले आफूहरुले आरुघाट प्रालिको बस तोडफोड गरेको स्वीकार गरे । केसी सामुदायिक सेवा केन्द्र प्रहरीको गोरखाका सचिव छन् । प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बस तोडफोडमा संलग्न हुनेलाई कारबाही गरिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण