शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अछाममा पहिलो पटक भित्रियो बोयर बोका

बिहीबार, ०९ वैशाख २०७३, १९ : २६
बिहीबार, ०९ वैशाख २०७३

अछाम – अछाम जिल्लामा पहिलोपटक उन्नत जातको बोयर बोका भित्रिएको छ । जिल्ला पशुसेवा कार्यालय अछामले नश्ल सुधार र उत्पादकत्व वृद्धिका लागि दैलेख जिल्लावाट ८ गोटा उन्नत बोयर क्रस बोका भित्र्याएको हो ।

जिल्ला पशुसेवा कार्यालयमार्फत सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजना अन्र्तगत आयोजना सञ्चालित गाविसमा गठन भएका समूहका लागि बोका अनुदानमा उपलब्ध गर्ने र उत्पादनमा सुधार गरी मासुमा जिल्लालाई नै आत्मनिर्भर गराउने उद्देश्यले जिल्लामा यो जातको बोका ल्याएको जिल्ला पशुसेवा कार्यालय अछामका प्रमुख डा. बेदप्रकाश भट्टले बताए ।

उक्त आयोजना सञ्चालित गाविसमध्ये मंगलसेन, ओलीगाँउ, बस्ति, जाल्पादेवी, सिद्देश्वर र बुढाकोटमा बोका वितरण गराइने उनले बताए । सिद्देश्वर र मंगलसेनमा भने २(२ वटा उपलब्ध गराईने छ भने अन्य ४ गाविसमा एक–एक बोका समूहलाई दिइने छ ।

प्रजनन शक्ति धेरै भएको, सेतो मासु हुने भएको र धेरै तौल हुने भएकाले यो बोकाको क्रसिङबाट जिल्लामा बाख्रा उत्पादनमा निकै सुधार हुने आशा गरिएको छ, डा. भट्टले भने– ‘यो जातको बोकाका विभिन्न फाईदा छन्, जिल्लालाई मासुमा आत्मनिर्भर बनाउन पनि यसले निकै काम गर्ने हामीले आशा गरेका छौं ।’ जिल्लालाई मासुमा आत्मनिर्भर हुन प्रेरित गर्ने लक्ष्यसहित बाख्रापालन समूहमा यो उन्नत जातको बोका वितरण गरिएको उनले बताए ।

डेढ क्वीन्टलसम्म तौल हुने यो बोकाको लागि कार्यालयले जिउँदो प्रतिकेजी रु ८०० का दरले खरिद गरि ल्याइएको र ढुवानीसहित ८ बोकाको लागि जम्मा २ लाख ५० हजार लगानी भएको बताइएको छ । अछाममा बोयर क्रस बोका पहिलोपल्ट भित्रिएकाले यहाँका कृषकका लागि उत्पादन वृद्धि गर्न यो सुनौलो अवसर भएको भट्टको भनाई छ । हाल अछाममा जिल्ला बाहिरबाट ठूलो परिणाममा खसी बोकाहरु र ब्रोईलर कुखुरा मासुका लागि भित्रिने गरेका छन् ।

जिल्ला पशुसेवा कार्यालय अछामले डा. विश्वेश्वर प्रसाद खनाल र पशु प्राविधिक कृष्ण रोकायासहितको टोली दैलेख पठाई बोयर बोका खरिद गरी अछामका कृषकलाई वितरण गरेको हो । अष्ट्रेलियाबाट नेपालमा भित्रिएको बोयर जातको बोका नेपालका विभिन्न जिल्लामा बोयर क्रस हुँदै विस्तार भैरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप