शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

वैशाख १२ देखि रानीपोखरी पुनःनिर्माण हुने

शुक्रबार, १० वैशाख २०७३, ०९ : ०७
शुक्रबार, १० वैशाख २०७३

काठमाडौँ– आगामी आइतबारदेखि रानीपोखरीको पुनःनिर्माणको काम सुरु हुने भएको छ ।

गतबर्ष वैशाखमा गएको भूकम्पका कारण पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरको समेत पूर्णरुपमा क्षति भएको थियो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार झन्डै ३५० वर्षपछि काठमाडौं महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरीलाई सुन्दर बनाउन लागेको हो ।

यस अभियानअन्तर्गत लामो समयसम्म सफा हुन नसकेको रानीपोखरीमा रहेको हिलो फाल्ने काम पनि गर्ने योजना रहेको कामपाले बताएको छ । “सफा नगरेको लामो समय भएकाले उक्त पोखरीमा कति हिलो रहेको र त्यसका लागि कति जनशक्तिको आवश्यक पर्ने भन्ने यकिन भएको छैन”, प्रवक्ता कार्कीले भने ।

पुनःनिर्माणका लागि रु १२ करोडको बजेट विनियोजन गरिएको छ । गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुगेर पुनःनिर्माण अभियानको थालनी गरिसकेका छन् । रानीपोखरीको नाममा झन्डै ६० रोपनी जग्गा रहेको छ । साठी रोपनी जग्गामध्ये ४० रोपनी पोखरीले ओगटेको छ । पोखरीको नाममा रहेको सबै स्थानमा सौन्दर्यकरण गरिने कामपाको योजना रहेको छ ।

रानीपोखरीका केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियालीसँगै सङ्गीतमय फोहरा बनाउने र पोखरी अवलोकन गर्ने प्रयोजनका लागि परिक्रमापथ पनि बनाउने कामपाले बताएको छ । निर्माण सुरु गरेको ६ महिनामा सम्पूर्ण काम सकी प्रयोगमा आउने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप