दमकल अभावले क्षति न्यूनिकरणमा समस्या
भरतपुर–भरतपुर उपमहानगरपालिका बारुण यन्त्र इकाइको फोन नम्बर ५२१०८३ मा जिल्ला प्रहरी कार्यालयबाट एका बिहानै फोन आयो । हेटौंडमा आगलागी भयो, जानुप¥यो । हतार–हतार गरेर दमकल (वारुण यन्त्र) ८ बजेर २० मिनेट जाँदा नगरपालिका गेटबाट बाहिरियो ।
रत्नननगर नगरपालिकाको दमकल चालु अवस्थामा नभएपछि भरतपुरको दमकल लैजान भनिएको थियो । दमकल चालक कृष्णकुमार श्रेष्ठका अनुसार लोथर पार गरेपछि मनहरी प्रहरीले दमकललाई आगो नियन्त्रणमा आइसक्यो भनेर जानकारी गराएपछि दमकल फर्कियो ।
‘आगलागी भएपछि खबर आएर जाँदाजाँदै कहिल्यै बीचबाटोबाटै फर्किनुपर्छ, कहिले पुग्दा क्षति धेरै भइसकेको हुन्छ’, दमकल चालक श्रेष्ठले भने, ‘यो काम यस्तै हो । चितवनमा ३ वटा दमकल रहेपनि २ वटामात्र सञ्चालनमा छन् । रोटरी क्लब अफ रत्ननगरको पहलमा रत्ननगर नगरपालिकामा भित्रिएको ४ सय लिटर पानी जम्मा गर्ने क्षमताको दमकल कर्मचारी अभावमा प्रयोगविहीन अवस्थामा छ ।
भरतपुर उपमहानगरपालिका अन्तर्गत ४ हजार लिटर र ५ हजार लिटर पानी बोक्न मिल्ने क्षमताको दमकल चालु अवस्थामा छन् । चितवनमा पहिलोपटक २०४८ चैत ७ गते जेसीजले जापनिज मोडेलको २ सय लिटर क्षमता पानी बोक्न सक्ने दमकल सञ्चालनमा थियो । भरतपुर उपमहानगरपालिका अन्तर्गत वारुणयन्त्र इकाइमा तहबाट दमकल सेवा सञ्चालनमा छ ।
‘आगो निभाउन गयो, पानी पाइपमै सकिन्थ्यो’, विगत सम्झँदै भरतपुरका अग्नि नियन्त्रक कृष्णबहादुर थापाले भने, ‘खरका छानामा आगलागी हुन्थ्यो, कागज फ्याक्ट्रीमा प्रायः आगो निभाउन जानुपर्दथ्यो ।’ नजिकै पोखरी ताल नहुँदा दमकलको पानी ट्याङ्की समयमै भर्न नपाउँदा क्षति कम गर्न कठिन हुने गरेको थापाले बताए ।
उनी २०५० सालदेखि वारुण यन्त्र इकाइमा कार्यरत छन् । पुरानो दमकल हाल नगर प्रहरीको सवारीसाधनका लागि प्रयोगमा छ । भरतपुर उपमहानगरपालिकाभित्र रहेका दुई दमकलले चालु आर्थिक वर्षमा ६३ वटा आगलागी नियन्त्रण गरेको छ । आर्थिक वर्ष २०७१/७२ मा ४६ वटा, २०७०/७१ मा ५६ वटा, २०६९/७० मा ५४ वटा आगलागीका घटनाहरु नियन्त्रण गरेको बारुण यन्त्र इकाई भरतपुरले जनाएको छ ।
जिल्लामा सञ्चालनमा रहेका दुई दमकलमध्ये एउटा २०५४ साल भदौमा स्थानीयको सहयोगमा नगरपालिका आफैँले खरिद गरेको थियो । चलिरहेको दमकल रोटरीले २०७० माघमा नगरपालिकालाई हस्तान्तरण गरेको थियो । वारुण यन्त्र इकाइमा १५ जना कर्मचारी कार्यरत छन् । इञ्चार्जसहित ३ जना चालक, २ जना कमाण्डर, ९ जना अग्नि नियन्त्रक कार्यरत छन् ।
वारुण यन्त्र इकाइका इन्चार्ज देवेन्द्रराज रेग्मीले नगरपालिका उपमहानगरपालिका स्तरोन्नति भएसँगै दमकलको संख्या पनि थप गर्नुपर्ने बताए । ‘साविक १४ वडा हुँदासमेत खबर पाएलगत्तै तुरुन्तै पुग्न समस्या हुने गर्दथ्यो’, उनले भने, ‘नगरपालिका गेटबाटै निस्कने बित्तिकै अस्तव्यस्त ट्राफिक जामले ढिलाइ हुन्छ, मुख्य बजार पार गरेलगत्तै जीर्ण सडकले समयमै पुग्न समस्या हुन्छ ।’ नवलपरासी कावासोतीमा गत वर्षदेखि ५ हजार लिटर पानी बोक्ने क्षमताको दमकल सेवा सुचारु छ ।
तर, सीमित कर्मचारीका कारण आगलागी हुनासाथ भरतपुरबाट दमकल कावोसोती, डण्डा, दुम्कीबाससम्म पुग्नुपर्ने अवस्था छ । लोथर मनहरीसम्म भरतपुरकै दमकल पुग्नुपर्छ । ‘खबर आएलगत्तै हिँड्दा पनि आधा घण्टा लामो दूरी पुगेर आगो निभाउनुपर्छ’, उनले भने, ‘हरेक नगरपालिकामा दमकल सेवा अनिवार्य हुन्छ, तर कार्यान्वयमा छैन ।’
उनले पर्सा, चनौली, गीतानगरमा दमल सटेशन निर्माण गरी कम्तिमा दुईवटा दमकल सेवा सञ्चालन गरिनुपर्ने बताउँछन् । ‘दूरी कम हुन्छ, चाँडै पुगेर आगो निभाउन सकिन्छ’, उनले भने, ‘आगलागी भएको बढीमा १० मिनेटमा पुग्न सकिए धेरै क्षति हुनबाट जोगाउन सकिन्छ ।’ पछिल्लो वर्ष विद्युत सर्ट, ग्यास सिलिण्डर पड्कने जस्ता कारणले आगलागी हुने गरेको छ । ‘व्यवसाय, फ्याक्ट्री, घर–घरमा अग्नि निरोधक ग्यास सिलिण्डर जडान गर्नुपर्छ’, उनले भने, ‘जडान भएका सिलिण्डर काम लाग्ने अवस्थामा भए नभएको अनुमगन गर्नुपर्छ ।’
जंगल नजिकका बस्तीमा सुकेका पातपतिङ्गर सफा नगर्दा आगलागी एक घरबाट अर्को घरसम्म फैलने गरेको बताए । पश्चिम चितवन, रामपुर, शारदानगर, पटिहानी, मेघौली, माडी क्षेत्रमा बढी आगलागीका घटना हुने गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अनुसार चितवनमा १६ वटा घरधुरी आगलागीका कारण पूर्णरुपमा क्षति पुगेको छ ।
६ हजार ९६ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सम्पर्क व्यक्ति बलराम लुइँटेलले वैशाख ७ गते बसेको बैठकले आगलागीका घटना न्यूनीकरण कार्यमा लाग्न सरोकारवालाहरुलाई आग्रह गरिएको बताए । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले चैत २९ गते जारी गरेको परिपत्रमा नगरपालिकाहरुलाई तत्काल दमकल खरिद गर्न आग्रह गरिएको छ ।
सामान्य दमकल खरिद गर्न ५० देखि ६० लाख रुपैयाँसम्म आवश्यक पर्ने गर्दछ । तर, बजेट नछुट्याइएका कारण यही वर्ष तत्कालै दमकल खरिद हुन सक्ने अवस्था छैन । आगोको स्रोत नियन्त्रण गर्न सचेत गराउने र सोबारे अनगुमन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएपनि चितवनमा अनुगमन भएको पाइँदैन । गर्मी तथा सुख्खा मौसममा बढ्न सक्ने आगलागीका घटना न्यूनीकरण गर्न उल्लेख्य काम भएको पाइँदैन ।
जिल्ला विपद् व्यवस्थापन समिति चितवनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नगरपालिकाहरुलाई तत्काल दमकलको व्यवस्था गर्न आग्रह गरिएको बताए । ‘आगलागीका घटनाहरु बढ्दै छन्, तत्काल आगो निभाउने दमकल सेवा सुचारु गर्नुपर्छ’, उनले भने, ‘गाविसबाट नगरपालिकामा स्तरोन्नती भएपछि यो सेवा अनिवार्य दिनैपर्छ ।’ हावाहुरी आउने समयमा आगलागीको उच्च जोखिम हुने भएकाले सन्देशमूलक सूचनाहरु प्रशारण तथा विपद् पूर्वतयारी अवस्थामा रहन आग्रह गरे । म्याद सकिएका अग्नि निरोधक राखेका होटल, व्यवसायीहरुलाई तत्काल म्याद ननाघेका अग्नि निरोधक उपकरण जडान गर्न पत्राचार गरिने जानकारि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण