शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चीनियाँ सम्राटले उपहार दिएको बिउबाट फैलिएको इलामको चिया बगान

बुधबार, १५ वैशाख २०७३, ११ : ३६
बुधबार, १५ वैशाख २०७३
इलाम– तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणा वि. सं. १९२० मा चीन भ्रमण गएको बेला चीनियाँ सम्राटले उनलाई चीनियाँ जातको चियाको बिउ उपहार दिएका थिए । नेपाल फर्केपछि उनले चियाको विउ कहाँ लगाउने भन्ने विषयमा छलफल गरे । आफ्ना ज्वाईँ तत्कालिन बडाहाकीम कर्णेल गजराज सिंह थापालाई ईलाममा चिया रोप्न आदेश दिईयो । सोही आदेशबमोजिम थापाले ईलाम चिया कमानको स्थापना गरे । त्यसको २ वर्षपछि अर्थात २०२२ सालमा फेरी झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापना गरे । ति चिया कमानहरु नै नेपालको चिया खेतीको शुरुवात मानिन्छ । नेपालमा चिया कमान स्थापना गर्ने दशकमा भारतको दार्जलिङ्गमा पनि चिया खेतीको शुरुवात भएको थियो । त्यहि चिया फैलिएर अहिले पूवी नेपालको झापा, ईलाम, पाँचथरका अतिरीक्त दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायतमा जिल्लामा फैलिएको छ । त्यसमध्ये इलाम चिया खेतीको लागि अग्रणी छ । ईलामका २० प्रतिशत जनता चिया खेतीबाट जिवन गुजार गरिरहेका छन् । इलाममा १२ हजार घरधुरीले जिल्लाको १३ हजार हेक्टर क्षेत्रफलमा चिया खेती गरेका छन् । वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गएपछि वि.सं. २०१६ सालमा झापा जिल्लाको रङ्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । इलाममा ठूला बगान (टि स्टेट) र साना किसानले करिब २० हजार घरधुरी चिया खेतीमा संलग्न रहेको राष्ट्रिय चिया तथा कफि विकास बोर्डले जनाएको छ । इलाममा कूल ४८ हजार घरधुरी छन् । कूल चिया कृषकमध्ये ७ हजार साना किसान छन् । इलाममा मात्रै ८ सय ५ हेक्टर क्षेत्रफलमा चिया खेती फैलिएको छ । इलामका वार्षिकरुपमा ४१ लाख ४६ हजार २ सय ७२ किलो चिया उत्पादन हुने गरेको चिया तथा कफी विकास बोर्ड इलामले जनाएको छ । चियाको निजी र सरकारी पहलमा चियाको उत्पादन हुन थालेपछि वि.सं. २०२३ असोज २३ गते सरकारले नेपाल चिया विकास निगमको स्थापना ग¥यो । शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो । यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो । अहिले ईलाममा मात्रै कन्याम टि स्टेट देखि एक करोड भन्दा बढी लगानीमा सञ्चालनमा १८ वटा उद्योग रहेका छन् । त्यस्तै १ सय किलो देखि ५ सय किलो सम्ममा चिया उत्पादन गर्ने ४० भन्दा बढी उद्योग रहेको छन । कन्याम टि स्टेट २२ सय रोपनीमन फैलिएको छ । नेपालमा विशेषत ३ प्रजातिको चिया खेती गरिन्छ । आसामी र कम्बोडियाली प्रजातिको चिया सिटिसी चिया उत्पादनको लागि प्रयोग हुन्छ भने चिनिया प्रजातिको चिया अर्थोडक्स चियाको उत्पादनमा प्रयोग हुन्छ । त्यस्तै, नेपाली सिटिसी चिया पनि कडकपन, चमकपन र तिक्खरताका लागि प्रसिद्ध छ । त्यसैले नेपाली चिया वास्तवमै प्रकृतिको अनुपम उत्पादन हो । इलाममा उत्पादन हुने चियाको ९० प्रतिशत भन्दा बढी अर्थोडक्स चिया उत्पादन हुन्छ । वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रोत्साहनका कार्यक्रमहरू गर्यो । विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो । चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई ह्रदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरन्द्र शाहको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चियाक्षेत्र घोषणा गर्यो । चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो । नेपाल सरकारले सरकारले राष्ट्रिय चिया नीति २०५७ र राष्ट्रिय कफी नीति २०६० स्वीकृत गरी लागु गरेको छ । चियाको प्रवद्धनका लागि नेपाल सरकारले बैशाख १५ लाई राष्ट्रिय चिया दिवसको रुपमा पनि मनाउने गरेको छ । आज १९ औँ राष्ट्रिय चिया दिवस हो । सरकारले चियाको पकेट क्षेत्र घोषणा गरेर उत्पादन बिस्तार गरिरहेको छ । बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले गत आर्थिक बर्ष २०७१।७२ मा २६ हजार हेक्टरमा खेती भई २ करोड ३१ लाख किलो चिया उत्पादन भएको बताए । त्यसमा १ करोड ८२ लाख किलो सिटिसि र ४९ लाख किलो अर्थोडक्स चियाको उत्पादन स्थिति छ । बोर्डले चिया क्षेत्रका समस्या समाधान गर्नका लागि आवश्यक बजेटको अभाव भएको बताएको छ । योजना अधिकृत लुइतेलले चालू आवमा ११ करोड बजेट रहेकोमा आगामी आव २०७३÷७४ मा घटाएर ६ करोड ५० लाखमा सिमित गरिदिएकोभन्दै बोर्ड र किसान गुनासो गर्छन् । बोर्डका अनुसार चिया उद्योगले करिब ५७ हजार ५०० श्रमिकलाई प्रत्यक्ष रोजगारी दिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत आवमा २ अर्व ६८ लाख रुपैयाँ बराबारको ११ हजार १ सय ४२ टन चिया निर्यात भएको थियो । चिया प्रवद्र्धनमा सहयोगका लागि गतवर्षदेखि बोर्डले छुट्टै ट्रेडमार्क दर्ता गरी सञ्चालनमा ल्याएको छ । ट्रेडमार्क दर्ता गरेर हिमालय अर्थोडक्सलाई प्रयोगका लागि दिईएको बोर्डले जनाएको छ । अर्थोडक्स उत्पादकले आफ्नो फरक पहिचान आवश्यक परेको भन्दै ७ वर्षअघिदेखि बोर्डसँग माग गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप