बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने

बिहीबार, ३२ असार २०८३, २३ : ११
बिहीबार, ३२ असार २०८३

सारांश

  • नयाँ बसपार्कभित्र यात्रु ताने कारबाही हुनेछ।
  • यातायात व्यवसायी, प्रहरी र लोत्सेले संयुक्त बैठक गरी निर्णय गरेका हुन्।
  • बसपार्क व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाइनेछ।

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्ने तथा दुःख दिनेलाई कारबाही गरिने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधि, नेपाल प्रहरी तथा लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिको आज (बिहीबार) बसेको संयुक्त बैठकले बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन उक्त निर्णय गरेको हो ।

पछिल्लो समय सरकारले नयाँ बसपार्कसहित कलङ्की, कोटेश्वर, बल्खु, चाबहिललगायत क्षेत्रमा जथाभाबी रूपमा यात्रुको झोला तान्ने तथा दुःख दिनेहरूविरुद्ध पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बसपार्कभित्र यात्रु तान्ने, भीडभाड सृजना गर्ने तथा अफवाह फैलाउने व्यक्तिविरुद्ध प्रहरीले कडा कारबाही गर्दै आएको बताए ।

बैठकमा चालक, सहचालक तथा अन्य कर्मचारीलाई अनिवार्य रूपमा पोसाक लगाउन र परिचयपत्र धारण गर्नसमेत निर्देशन दिइएको छ । लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले बसपार्कभित्र अनुशासन कायम गर्दै यातायात सेवालाई थप व्यवस्थित बनाउन आवश्यक पहल भइरहेको बताए ।

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित विष्णुमती खोला किनारमा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कबाट हाल ६० भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन आवतजावत गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप