शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

बिहीबार, ३२ असार २०८३, २३ : ३७
बिहीबार, ३२ असार २०८३

सारांश

  • सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा भएको छ ।
  • काठमाडौँलगायत धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ ।
  • बाढीपहिरोको जोखिमबारे प्राधिकरणले सचेत गराएको छ ।

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि काठमाडौँलगायत विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ ।

राति १०ः०० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३६ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो । काठमाडौँमै अपराह्न ५१ मिलिमिटर वर्षा हुँदा माइतीघरलगायतका क्षेत्र जलमग्न भएको थियो ।

यस्तै नवलपरासीपूर्वमा ९४ मिलिमिटर, कास्कीमा ७६, रुकुमपूर्वमा ५६, लमजुङमा ७६ र चितवनमा ५६ मिलिमिटर वर्षा भएको छ । अन्य धेरै जिल्लामा मध्यमदेखि भारीसम्म वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कार्यस्थले जानकारी दिएका छन् ।

विभागले बिहीबार साँझ जारी गरेको बुलेटिनअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केहीमाथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।

आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

त्यसैगरी, शुक्रबार देशका पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सूचनामार्फत सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती जलाधारमा ठुलो पानी परेको र राति थप पानी पर्ने सम्भावना भएकाले बाढीपहिरोको जोखिम रहेको जनाएको छ । आवश्यक सतर्कता अपनाउनसमेत प्राधिकरणले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप