बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बेनीमा पूर्वाधार विस्तारका लागि ६० लाखको आयोजना

शुक्रबार, १७ वैशाख २०७३, ०८ : ३९
शुक्रबार, १७ वैशाख २०७३

म्याग्दी – म्याग्दी सदरमुकाम बेनी बजारमा चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार विस्तारका लागि ६० लाख रुपैयाँको आयोजना सञ्चालन भएको छ ।

सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको आर्थिक सहयोगमा बेनी बजारमा ढल निकासका लागि नाली, कालोपत्रे र सडक मर्मत लगायतका पूर्वाधार विस्तार गर्न लागिएको हो ।

कार्यालयको ४५ लाख रुपैयाँ अनुदान र बजारबासीको ३० प्रतिशत सहभागिता गरि ६० लाख रुपैयाँ लगानीमा पुर्वाधार विस्तारको काम सुरु गरेको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष अम्बिककुमार श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार पहिलो चरणमा क्याम्पसचोकदेखि न्युरोडतर्फ ढल व्यवस्थापनका लागि १८२ मिटर पक्की नाली निर्माण कार्य सुरु भएको छ । न्युरोडस्थित म्याग्दीकाली एफएमको कार्यालयदेखि उद्योग वाणिज्य संघको भवनतर्फ जाने गल्ली र वाणिज्य बैंक चोकदेखि जामुनाखर्क तर्फ जानेबाटोमा पर्ने बस्तीमा पनि पक्कि नाली विस्तार गरिने उपभोक्ता समितिका सल्लाहकार अनोद श्रेष्ठले बताए ।

यसैगरी सोही बजेट अन्तरगत बेनी बजारभित्र जिर्ण भएको कालोपत्रे सडकको पनि मर्मत गर्ने योजना रहेको छ । जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको प्रवेशद्धार अगाडीको साँघुरो सडकलाई फराकिलो बनाउने र कालीपुल स्थित बालमन्दिर प्राविमा फलामको प्रवेशद्धार निर्माण गर्न लागिएको अध्यक्ष श्रेष्ठले बताए ।

समयमै योजना सम्पन्न गर्न यस वर्ष बैशाख महिनादेखिनै कामलाई तिब्रता दिइएकाले उपभोक्ताले सहभागिता जनाउनुपर्ने बजेट समयमै संकलन गर्न सकेमा थप बजेट पाउन सकिने अध्यक्ष श्रेष्ठको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप