बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

एसपीले ‘बुलबुले’ खोजेपछि...

शुक्रबार, १७ वैशाख २०७३, ०९ : ५४
शुक्रबार, १७ वैशाख २०७३

सुर्खेत–सल्यान जिल्लाबाट सुर्खेतको जिल्ला वन कार्यालयमा सरुवा भएर आएका जिल्ला वन अधिकृत हेमराज विष्ट पहिलो पटक बुलबुले उद्यान पुगे । उनले बुलबुले एउटा ठुलो ताल होला, तालमा पानी हाँसहरु पौडि खेलिरहेका होलान भन्ने सोचेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) वीरेन्द्र श्रेष्ठ पहिलो पठक बुलेबुले पुगे । बुलबुले तालकै छेउमा पुगेर उनले एक जनासँग सोधे–‘ ‘बुलबुले ताल कहाँनिर होला ?’ बुलबुले ताल नै यही हो भन्दा उनी अचम्मित भए ।

एसपी श्रेष्ठलाई पनि लागेको थियो कि बुलबुले ताल फेवा ताल जस्तै ठूलो होला । तर सानो क्षेत्रमा बुलबुले ताल फैलिएको देखेपछि श्रेष्ठ अचम्मित भए । एसपी श्रेष्ठले बुलबुले मै आएर बुलबुले कहाँ छ भनेर सोध्दा पछि आफैँलाई कस्तो अफ्ठ्यारो लागेको बताए ।

एसपी श्रेष्ठ र जिल्ला वन अधिकृत विष्ट मात्रै होइन पहिलो पटक बुलबुले जाने जो कोही पनि अचम्मित पर्ने गरेका छन् । बुलबुलेको चर्चा सुनेर त्यहाँ पुगेका उनीहरु सोचिए जस्तो अलिकति पनि नदेखेपछि अचम्मित पर्छन् । उनीहरुको साझा प्रश्न हुन्छ– ‘किन बुलबुलेको यति चर्चा अनि किन बुलबुले यस्तो अवस्थामा ?’

बुलबुले एउटा ठूलो ताल मात्र नभई उद्यान हो । तर, अहिले उद्यान पनि व्यवस्थित हुन नसक्दा पर्यटकलाई तान्न सक्ने अवस्थामा छैन । पहिलेका संरचनाहरु पनि ध्वस्त भएको नयाँ निर्माण नहुँदा बुलबुले कुरुप बन्दै गएको हो । २०२९ सालमा तत्कालिन राजा वीरेन्द्रको निर्देशनमा गुरुयोजना बनाएर काम सुरु गरिएको भएपनि काम पुरा नहुँदा बुलबुलेको विकास हुन सकेको छैन ।

पटकपटक बुलबुलेका बारेमा छलफल, बहस हुने र प्रतिबद्धताहरु जनाइने भएपनि कार्यान्वयन हुन सकेको छैन । यसको स्वामित्व बहन गरेको सुर्खेत उपत्यका नगर विकासले पनि बुलबुलेको विकासको लागि खासै काम गर्न सकेको छैन । तर, बुलबुलेलाई छोटो समयमै सुन्दर बनाउन विहीबार पनि सुर्खेतका सरोकारवालाहरुले पनि लिखित प्रतिबद्धता नै जनाएका छन् ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २४ औं स्थापना दिवसका अवसरमा बुलबुले उद्यानमै बुलबुलेको संरक्षण र विकास सम्बन्धी भएको अन्तरसंवाद कार्यक्रममा सहभागी सरोकारवालाहरुले ९ बुँदे लिखित प्रतिबद्धता जनाएका हुन् ।

९ बुँदे प्रतिबद्धतामा बुलबुले उद्यानभित्रको शान्ति सुरक्षा कायम गर्न आश्यकताअनुसार प्रहरी गस्ती बढाउने, प्रहरी बिट स्थापनाका लागि पहल गर्ने, आगामी जेठ १५ गनेसम्म बुलबुलेको तल्लो तालमा ढुङगा संचालनमा ल्याउने, बुलबुले तालबाट मोटर पानी तानिएको हुँदा सम्बन्धित पक्षमा समनवय गरी त्सलाई रोक्नेतर्फ छलफल गर्ने प्रतिबद्धता भएको छ ।

यस्तै बुलबुले उद्यानको समग्र विकासका लागि बुलबुले उद्यान विकास समिति बनाउने वा सम्भाव्यता अध्ययन गरी विकासका लागि ठोस योजना निर्माण गर्ने, उद्यानभित्र बगैँचा निर्माण गर्ने र प्रयाप्त शौचालयहरु निर्माण गर्ने, उद्यानभित्र यसै आर्थिक वर्षमा जिल्ला वन कार्यालयमार्फत एक सय वटा श्रीखण्डका बिरुवाहरु रोप्ने, पर्यटन विकास मञ्चमार्फत उद्यानमा रंगरोगन गर्ने, उद्यानको अल्पकालिन, दीर्घकालिन योजना निर्माण गरी गुरुयोजना अनुसार विकास गर्ने र उद्यानको विकासको लागि वार्षिक रुपमा हुने गरेको खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप