बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

साथीलाई भागेर विवाह गर्न सहयोग गरेको आरोपमा किशोरीको हत्या

शुक्रबार, २४ वैशाख २०७३, १६ : २९
शुक्रबार, २४ वैशाख २०७३

अबोटाबाद – पाकिस्तानमा एक किशोरीले आफ्नी स्कुलकी साथीलाई भागी विवाह गर्न सहयोग गरेको भन्दै गाउँलेहरुले उनको हत्या गरेका छन् । प्रहरीले गाउँकै अगुवाहरुको निर्देशनमा उनको हत्या भएको जानकारी गराएको छ ।

१६ वर्षिया यि किशोरी खाइबर प्रान्तस्थित अबोटावाद नजिक रहेको आफ्नै घरबाट अपहरणमा परेकी थिइन् । त्यसपछि उनको हत्या भयो ।

प्रहरीले यस प्रकरणपछि ति किशोरीकी आमासहित गाउँका थुप्रै व्यक्तिहरुलाई पक्राउ गरेको छ । पाकिस्तानमा स्थानिय भलाद्मीहरुको समूह मानिने जिरगाले नै गत हप्ता उनको हत्याका लागि निर्देशन दिएको प्रहरीको भनाई छ । माकोल गाउँमा यो घटना घटेको हो ।

जिरगाले अम्बेर नाम गरेकी ती किशोरीले आफ्नी साथीलाई भागेर विवाह गर्न सहयोग गरेको भन्दै सजायस्वरुप उनको हत्या गर्न निर्देशन दिएको प्रहरीको भनाई छ ।

पाकिस्तानकी अखबार ड्वानका अनुसार ति किशोरीलाई अपहरणपछि हत्या गरियो र उनको लासलाई भ्यानको पछिल्लो सिटमा राखेर पेटोल छर्केर जलाइयो । अन्य अखबारहरुले भने भ्यानमा उनलाई राख्दासम्म उनी जीवित रहेको र त्यसपछि उनलाई जिउँदै जलाइएको समाचार छापेका छन् ।

प्रहरीले यस प्रकरणपछि हालसम्म १३ जनालाई पक्राउ गरेको बताएको छ । ति किशोरीकी साथीले आफ्ना प्रेमीसँग भागेर विवाह गरेकी थिइन् र अहिले उनीहरु कहाँ छन् भन्ने कसैलाई थाहा छैन । पाकिस्तानमा यसरी जिरगाले आफ्नै स्थानिय निर्णयबाट गैरकानूनी रुपमा व्यक्ती हत्या गरेको यो पहिलो घटना होइन ।

गत वर्ष मात्रै ११ सय महिलाहरु यसरी नै आफ्नै आफन्तहरुका कारण ज्यान गुमाउन बाध्य भएको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ । प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाउँदै स्थानियहरुले यसरी पाकिस्तानमा गैरकानूनी रुपमा हत्या गरेर सजाय दिँदै आएका छन् ।

यसअघि गत फेब्रुअरीमा पाकिस्तानको सबैभन्दा ठूलो पन्जाब प्रान्तले महिलामाथि हुने सबै किसिमका हिंसा अपराध ठहरिने व्यवस्था गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप