बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

डेरी रीसर्च ईन्टिच्यूट स्थापनाको माग

मङ्गलबार, २८ वैशाख २०७३, १८ : ५९
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडौं । दुग्ध क्षेत्रको विकासका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न नेसनल डेरी रिसर्च इन्ष्टिच्युट (एनडीआरआई) स्थापना गर्नुपर्ने सम्बद्ध व्यवसायीले प्रस्ताव गरेका छन् । दुग्ध विकासका लागि अझै पनि नेपालमा पर्याप्त जनशक्ति, प्रविधि र नस्ल सुधार नभएकोले त्यसको परीपूर्तिका लागि रीसर्च सेण्टर स्थापना गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

नेपालको पहिलो डेरी स्थापनास्थल काभ्रेको नालस्थित टुसालमा एनडीआरआइको स्थापना गर्न पनि उनीहरुले सुझाव दिएका छन् । नेपाल डेरी एसोसिएसनले आफ्नो १७ वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी डेरी क्षेत्रका समस्या समाधानमा जोड दिएको हो ।

त्यस्तै पुनर्निर्माण प्राधिकरणलाई दुधको माग पूरा गर्न र किसानलाई यही व्यवसायमा टिकाइराख्न प्रत्येक भूकम्प प्रभावित क्षेत्रमा एक परिवार एक गाइ वा भैसी उपलव्ध गराइ स्थानीय रोजगार आव्दानीको व्यवस्था मिलाउनुपर्ने, दुध तथा दुग्धजन्य पदार्थको उपभोग वढाउन सेना तथा प्रहरीको रासनकार्डमा स्वदेशी दुध तथा दग्धजन्य पदार्थ अनिवार्य गरिनुपर्ने माग गरेको छ ।

त्यसैगरी कृत्रिम गर्भाधान कार्यक्रमलाई अझै व्यापक बनाइनुपर्ने, कच्चा दूधको लागत घटाउन र गुणस्तर बढाउन दानाको विकल्पमा पोषिलो घाँस उत्पादन र निशुल्करुपमा विउविजन उपलव्ध गराइनुपर्ने, साइलेस प्रविधि र नस्ल सुधारलाई व्यापक बनाइनुपर्ने, सहुलियत कर्जाको व्यवस्था गरिनुपर्ने, पशु वीमा कार्यक्रमलाई विस्तार गरिनुपर्ने र किसानलाई सरकारी तथा सार्वजनिक जमीन उपलव्ध गराइ घाँस उत्पादनका लागि प्रोत्साहित गरिनुपर्ने एसोसिएसनका महासचिव प्रल्हाद दहालले बताए ।

त्यस्तै एसोसिएसनका अध्यक्ष सुमित केडियाले दुध अत्यावश्यक खाद्य वस्तुको सूचीमा र चाँडै विग्रने भएकोले प्रत्येक उद्योगमा छुट्टै फिडरको व्यवस्था गरी नियामितरुपमा विद्युत उपलव्ध गराइनुपर्ने, विद्युत महसुलमा ५० प्रतिशत छुट गरिनुपर्ने, दुधको गुणस्तर सुधारका लागि एचएसीसीपी, जीएमपी र आइएसओलगायतका प्राविधि विषय उद्योगहरु कार्यान्वयनमा ल्याइनुपर्ने र दुध तथा दुग्धजन्य पदार्थ सेबनका लागि जनचेतनामूकल कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने बताएका छन् । एसोसिएसनका अनुसार २० हजारभन्दा बढीले प्रत्यक्षरुपमा रोजगार पाउँदै आएको नेपालको डेरी क्षेत्रमा १५ अर्बभन्दा बढी लगानी भइसकेको छ भने वार्षिकरुपमा करिव १२ अर्ब रुपैयाँ सहरी क्षेत्रमा जाने गरेको छ । हाल दैनिक ४८ लाख लिटर दुध उत्पादन हुने गरेको १५ प्रतिशतमात्रै डेरी उद्योगमा आउने गरेको छ । एसोसिएसनले साधारणसभा आगामी विहीबार काभ्रेको पाँचखालमा आयोजना गर्ने भएको छ । काभ्रे नेपालमै सबैभन्दा बढी दुध उत्पादन गर्ने जिल्ला हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप