नेपाल र भारतबीच वन्यजन्तुसम्बन्धी सीमापार बैठक
चितवन– नेपाल र भारत बीच वन्यजन्तुको संरक्षणमा देखिएका चुनौतीका विषयमा सीमापार बैठक मङ्गलबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सम्पन्न भएको छ । बैठकमा चितवन राष्ट्रिय निकुञ्जका तर्फबाट प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल र भारतका तर्फबाट वाल्मिकी टाइगर रिजर्भका फिल्ड डाइरेक्टर आर वी सिंहले दुई देशबीच वन्यजन्तुको आवतजावत, त्यसमा देखिएका समस्या एवम् समाधानका विषयमा जानकारी गराएका थिए ।
नेपालको चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष भारतको वाल्मिकी टाइगर रिजर्भसँग जोडिएका छन् । दुई देशबीचको जङ्गल इलाकामा वन्यजन्तु आवतजावत गर्ने गर्दछन् । बैठकमा वन्यजन्तुको अवैध व्यापार रोक्न र आवतजावतका बेला उनीहरुको बासस्थान संरक्षणका विषयमा छलफल भएको थियो ।
बैठकमा सहभागी चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार सूचनाको आदानप्रदान, गस्ती, सीमापार वन्यजन्तुको आवतजावत, बाटो लगायतका विषयमा छलफल भएको थियो । बाघ, गैँडाका अतिरिक्त गिद्धको संरक्षणका लागि दुवैतर्फ अपनाउनुपर्ने सतर्कताको विषयमा पनि छलफल गरिएको उनले बताए ।
घरपालुवा जनावरमा प्रयोग हुने डाइक्लोफेनेकका कारण गिद्धमा असर पर्ने भएकाले नेपालमा यो विषादीको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । भारतमा अझै यसको प्रयोग केही स्थानमा हुने गरेकाले त्यसमाथि प्रतिबन्ध लगाउन बैठकमा आग्रह गरिएको थियो । नेपालका नदीमा छाडिएका घडियाल गोहीसँगै डल्फिन भारतीय भूमिमा पुगेपछि नफर्कने समस्या छ । ती प्राणीको संरक्षण एवम् बासस्थानको विषयमा समेत बैठकमा छलफल भएको थियो ।
बाघ दुवै देशमा आवतजावत गरिरहने भएकाले उनीहरुको गणना दोहोरो नहोस् भन्नका लागि एकै साथ गणना गर्नुपर्ने प्रस्ताव अघि सारिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले बताए ।
नेपालका तर्फबाट मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयका उपनिर्देशक विष्णु पौडेलसहित चितवन र पर्सा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत, दुवै निकुञ्जका निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनका गणपति, नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो, चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका जिल्लाका वन अधिकृत, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति थियो ।
यस्तै बैठक गत वर्ष वाल्मिकी टाइगर रिजर्भमा भएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
-
साउन महिना नजिकिँदै जाँदा किनमेल गर्नेहरूको चहलपहल, तस्बिरहरू
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन उद्घाटन
-
जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण