बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पानामा पेपर्स प्रकरणमा मुछिएपछि उपेन्द्र महतोको आयो यस्तो प्रतिक्रिया

बुधबार, २९ वैशाख २०७३, १७ : ५४
बुधबार, २९ वैशाख २०७३

काठमाडौं– अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पानामा पेपर्सको दोस्रो विवरणमा आफ्नो नाम समेत सार्वजनिक भएपछि व्यवसायी डाक्टर उपेन्द्र महतोले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले आज एक विज्ञप्ती जारी गर्दै आफ्नो नेपाल बाहेक युरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा व्यवसायिक प्रतिष्ठानहरु तथा लगानीहरु रहेको तर सो कानुनसम्मत रहेको बताएका छन् । ‘मूलतः व्यवसायमा संलग्न रहेको हुँदा नेपाल बाहेक युरोप, एसिया र अफ्रिकाका विभिन्न देशमा मेरा व्यवसायिक प्रतिष्ठानहरु छन्, लगानी छ । मैले विदेशमा जेजति लगानी गरेको छु, त्यो पूँजी विदेशमै आर्जन गरेको स्वतः स्पष्ट नै छ ’, उनले विज्ञप्तीमा भनेका छन्, ‘ विदेशमा बस्ने नेपालीले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीँ वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी प्रचलनमा छ । धेरै देशमा लगानी गर्न सहजताको लागि अन्तर्राष्ट्रिय कानून र प्रचलन अनुसार मैलेपनि विदेशमा कम्पनी खोलेको छु, जस मार्फत विभिन्न देशमा त्यहाँको स्थानीय कानून अनुसार लगानी भएका छन् ।’

उनले पानामा पेपर्सको दोस्रो विवरणमा अफसोर कारोबार गर्ने भनी आफ्नो नाम आएपछि गैरकानूनी काम गरेको हो कि भन्ने ढंगले समाजमा उत्पन्न हुनसक्ने नकारात्मक प्रतिक्रिया र भ्रमलाई चिर्न आवश्यक ठानेर धारणा सार्वजनिक गरेको समेत बताएका छन् । विगत ३५ वर्षदेखि अध्ययन र व्यवसायको सिलसिलामा आफू विदेशमा रहेको तर मातृभूमिसँग जोड्ने आफ्नो अभियान पनि जारी रहेको भन्दै उनले अगाडि भनेका छन्, ‘मातृभूमिसँग जोड्ने र आ–आफ्नो क्षमता अनुरुपको योगदान गर्न उत्प्रेरित गर्ने उद्देश्यले संचालित गैरआवासीय नेपाली अभियानको नेतृत्व गर्दै मैले सन् २००३ देखि २००९ सम्म गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्षको हैसियतमा समुदाय र मुलुकको सेवा गर्ने सौभाग्यपनि पाएको छु । गैरआवासीय नेपाली अभियानकै प्रेरणाले विदेशमा बस्ने धेरै भन्दा धेरै नेपालीहरुमा आफ्नै कर्मभूमिमा व्यापार–व्यवसायको विकास गर्ने, संचित पूँजीलाई नेपाल भित्र्याएर व्यवसाय र रोजगार सृजनामा योगदान दिने जुन पहल विकसित भएको छ, एक अभियन्ताका नाताले त्यो मेरालागि ठूलो आत्मसन्तुष्टीको विषय हो । ’ उनले आफूले नेपालमा गरेको लगानीपनि विदेशबाटै ल्याएको र अझै ल्याउने दृढ समर्पणका साथ काम गरिरहेको पनि बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप