बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया

दुवै विश्वकपको ढाँचामा परिमार्जन
बुधबार, ३१ असार २०८३, १६ : ५९
बुधबार, ३१ असार २०८३

सारांश

  • आईसीसीले सन् २०२७ को एकदिवसीय विश्वकप र २०२८ को टी-२० विश्वकपको नयाँ ढाँचालाई स्वीकृति दिएको छ ।
  • नयाँ ढाँचा अनुसार २०२८ को टी-२० विश्वकपका लागि १२ टोली यसअघि नै तय भइसकेका छन् ।
  • नेपालसहित ८ टोली २०२६ को प्रदर्शन र वरीयताका आधारमा सीधै ग्लोबल क्वालिफायरमा पुगेका छन् ।

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ मा आयोजना हुने पुरुष एकदिवसीय क्रिकेट विश्वकप र सन् २०२८ को पुरुष टी–२० विश्वकपको परिमार्जित ढाँचालाई स्वीकृति दिएको छ ।

स्कटल्यान्डको एडिनबर्गमा सम्पन्न आईसीसीको वार्षिक साधारण सभामा यससम्बन्धी निर्णयहरू भएका हुन् । एसोसिएट राष्ट्रका तीन प्रतिनिधि सहितको आईसीसी बोर्डले मुख्य कार्यकारी अधिकारी समितिको सिफारिसका आधारमा नयाँ ढाँचा स्वीकृत गरेको हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप २०२७

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्नेछन् । यस प्रतियोगितामा साविक बमोजिम नै १४ टोली सहभागी हुने भए पनि खेलको ढाँचामा तीन चरणको नयाँ प्रणाली लागु गरिनेछ । 

पहिलो चरण छनोट (सुपर सिरिज)  भएका १४ टोलीमध्ये पुछारमा रहेका तीन टोलीबिच राउन्ड रोबिन ढाँचामा सुपर सिरिज खेलाइनेछ । यस सिरिजको विजेता टोली अर्को चरणमा प्रवेश गर्नेछ । 

दोस्रो चरणमा ३ खेल हुनेछन् । बाँकी १२ टोलीहरूलाई ६–६ टोलीको दुई समूहमा विभाजन गरी राउन्ड रोबिन खेल खेलाइनेछ । प्रत्येक समूहका शीर्ष तीन टोली र दुवै समूहमध्येकै उत्कृष्ट स्थानमा रहने थप एक टोली गरी कुल ७ टोली सुपर ७ मा प्रवेश गर्नेछन् । 

तेस्रो चरणमा सुपर ७ (२१ खेल) यस चरणमा सात टोलीबिच राउन्ड रोबिन खेल हुनेछन् । जसमध्ये शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा पहिलो स्थानको टोलीले चौथो स्थानको टोलीसँग र दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । 

आईसीसी पुरुष टी–२० विश्वकप २०२८

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने सन् २०२८ को टी–२० विश्वकपमा पनि २० टोलीकै सहभागिता रहनेछ । नयाँ संरचना अनुसार दोस्रो चरण (सुपर १०) मा धेरै टोलीहरूलाई समेट्ने प्रयास गरिएको छ । 

समूह चरण (३० खेल) मा सहभागी २० टोलीलाई चार–चार टोलीका दरले ५ समूहमा विभाजन गरिनेछ । यसअघि २०२६ को संस्करणमा पाँच–पाँच टोलीका ४ समूह बनाइएको थियो । प्रत्येक समूहका शीर्ष दुई टोली सुपर १० मा पुग्नेछन् । 

सुपर १० (२० खेल) यस चरणमा पाँच–पाँच टोलीका दुई समूह हुनेछन् र राउन्ड रोबिन खेल खेलिनेछन् । दुवै समूहका विजेता टोलीहरू सिधै सेमिफाइनलमा प्रवेश गर्नेछन् । 

एलिमिनेटर्स (२ खेल)  बाँकी दुई सेमिफाइनल स्थानका लागि नयाँ एलिमिनेटर चरण खेलाइनेछ । यसमा सुपर १० को एउटा समूहमा दोस्रो स्थान हासिल गर्ने टोलीले अर्को समूहको तेस्रो स्थानको टोलीसँग सामना गर्नेछ । यी खेलका विजेताहरू सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल र फाइनल खेलहरू भने साविककै ढाँचामा हुनेछन् । 

सन् २०२८ को टी–२० विश्वकप छनोट प्रक्रिया

सन् २०२८ को विश्वकपका लागि १२ टोलीहरू यसअघि नै तय भइसकेका छन् । सन् २०२६ को टी–२० विश्वकपको प्रदर्शन र वरीयताका आधारमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्टइन्डिज र जिम्बाब्वेले स्थान सुरक्षित गरिसकेका छन् । 

बाँकी ८ स्थानका लागि १६ टोली सम्मिलित ग्लोबल क्वालिफायर आयोजना हुनेछ । 

सन् २०२६ को विश्वकप खेलेका तर सीधै छनोट हुन नसकेका ८ टोलीहरू सीधै ग्लोबल क्वालिफायरमा पुग्नेछन्; जसमा नेपाल, क्यानडा, इटाली, नामिबिया, नेदरल्यान्ड्स, ओमान, यूएई र यूएसए छन् । स्कटल्यान्डलाई भने सन् २०२६ को सहभागितासँग जोडिएका विशेष परिस्थितिका कारण ग्लोबल क्वालिफायरमा नराखी सीधै युरोप क्षेत्रीय छनोटमा प्रवेश दिइएको छ । 

ग्लोबल क्वालिफायरका बाँकी ८ स्थान क्षेत्रीय छनोटबाट भरिनेछन् । जसअनुसार,

अफ्रिकाका  २ टोली
एसियाका  २ टोली
युरोपका २ टोली
अमेरिकाको १ टोली र
इस्ट एसिया प्यासिफिकको १ टोली

ग्लोबल क्वालिफायरमा प्रत्येक क्षेत्रबाट उत्कृष्ट हुने एक–एक टोली र समग्र प्रदर्शनका आधारमा त्यसपछिका अन्य तीन उत्कृष्ट टोली गरी कुल ८ टोलीले २०२८ को टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

यो नयाँ प्रतियोगिता संरचनालाई आईसीसी विकास समिति र मुख्य कार्यकारी अधिकारी समितिले सिफारिस गरेपछि बोर्डले अनुमोदन गरेको हो । यसलाई आगामी नोभेम्बर महिनामा बस्ने आईसीसीको बैठकले समीक्षा गरेपछि अन्तिम रूप दिइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप