बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

नौ नेपालीद्वारा सगरमाथाको सफल आरोहण, संसारलाई सकारात्मक सन्देश

बुधबार, २९ वैशाख २०७३, २२ : ४१
बुधबार, २९ वैशाख २०७३
काठमाडौँ– यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण सफल भएको छ । नेपाली नौ जना शेर्पा आरोहीले सगरमाथा (८,८४८ मि)को सफल आरोहण गरेका हुन् । पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले दिएको जानकारीअनुसार नौ शेर्पा आरोहीले साँझ ५ बजेर ५ मिनेट जाँदा दक्षिण पश्चिम मोडाबाट सगरमाथाको आरोहण गरेका हुन् । विभिन्न नौ कम्पनीका एक÷एक जना गरी नौ जनाको समूह बनाएर उनीहरू गएका थिए । उनीहरू सगरमाथाको चुचुरोमा डोरी टाग्न जाने शेर्पा टोली (रोप फिक्सिङ टिम) हुन् । सगरमाथा चुचुरोमा आरोहण पहिला शेर्पाले डोरी टाग्छन् । सगरमाथा आरोहण गर्नेमा ग्याल्जेन शेपा (टिम लिडर), ग्याल्जेन दोर्जे शेर्पा, आङ्पेम्वा शेर्पा, मिङमाछिरिङ शेर्पा, शेरा ग्याल्जेन शेर्पा, पासाङ तेन्जिङ, मिङ्मा शेर्पा, मिङमा छिरिङ शेर्पा र लाक्पा छिरिङ शेर्पा रहेका छन् । प्राकृतिक विपत्तिका कारण आरोहण रोकिएको दुई वर्षपछि यो पुनः सगरमाथाको आरोहण सुरु भएको हो । सगरमाथा आधार शिवर नजकि गएको हिमपहिरो आदिका कारण यसअघि सन् २०१४ र २०१५ मा सगरमाथा आरोहण बन्द भएको थियो । सन् २०१६ को यो मौसमको सफल अरोहणसँगै सगरमाथा आरोहण पुनः सुरु भएको छ । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले लामो समयपछिको सगरमाथाको सफल आरोहणले संसारलाई सकारात्मक सन्देश दिएको बताए । नेपाल मात्र नभई विश्वकै लागि यो ठूलो सफलता भएको बताउँदै उनले प्राकृतिक र मानव सिर्जित विपत्तिपछि गति लिएको समग्र पर्यटन प्रवद्र्धनमा सगरामाथासहित हिमाल आरोहणले उत्साज थपेको उल्लेख गरे । अध्यक्ष शेर्पाका अनुसार अहिले धेरै विदेशी आरोही सगरमाथाको चुचुरो नजिक अर्थात् क्याम्प चारमा छन् उनीहरूले आज राति ११ बजेबाट माथितिर चड्न सुरु गरी बिहीबार बिहान ७ बजेसम्म चुचुरो पुग्नेछन् । आधार शिविरमाथि २८९ विदेशीसहित ७०० आरोही गएका छन् । पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूहका एक हजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन् । त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँच वटा टिम आरोहणका लागि गएका छन् । नेपाल पर्वतारोहण सङ्घको विवरणअनुसार हालसम्म करिब सात हजार ७०० ले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । व्यक्तिगत रुपमा मात्रै करिब तीन हजार ८०० जनाले आरोहण गरेका छन् । सबैभन्दा बढी २१ पटक आप्पा र फुर्वा टाँसी शेर्पाले सगरमाथाको आरोहण गरेका छन् । साहसिक पर्वतीय पर्यटनको आधार सर्वोच्च शिखरसहितका आठ हजार मि अग्ला आठ हिमाल नेपाल मै छन् । सन् १९५३ मे २९ मा पहिलो पटक नेपाली तेन्जिन नोर्गे शेर्पा र विदेशी न्युजील्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता नेपालको पर्वतीय पर्यटन नेपालको पर्यटनको मेरुदण्डकै रुपमा कहलिएको हो । अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्गाजस्ता चर्चित हिमाल आरोहणका लागि विभिन्न मुलुकबाट सयौँको सङ्ख्यामा आरोही आउँछन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप