बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
बालमन्दिर रकम हिनामिना प्रकरण

बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब

बुधबार, ३१ असार २०८३, १६ : ४५
बुधबार, ३१ असार २०८३

सारांश

  • नेपाल बाल संगठन र बाल मन्दिरको रकम अपचलन गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
  • आशा श्रेष्ठले बालमन्दिरमा रहँदा १८ महिनाको दोहोरो तलब लिएको र ओमकृष्ण कर्माचार्यले बालसंगठन ललितपुर शाखाबाट डेढ लाख रुपैयाँ हिनामिना गरेको भेटिएको छ ।
  • राजेन्द्र कुमार श्रेष्ठले बालसंगठनको रकमबाट व्यक्तिगत नाममा कार खरिद गरेको अनुसन्धानमा देखिएको छ ।

काठमाडौँ । नेपाल बाल संगठन र बाल मन्दिरको रकम अपचलन गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका लागि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–११ घर भएकी ५४ वर्षीया आशा श्रेष्ठ, ललितपुर महानगरपालिका–५ थसिखेल घर भएका ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र गोकर्णेश्वर नगरपालिका वडा नम्बर–१ घर भएका ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ छन् । 

बाल संगठनको रकम हिनामिनाबारे उच्च अदालतका पूर्वन्यायाधीश हरिबाबु भट्टराई नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन–२०७७ को सिफारिसको आधारमा उनीहरू पक्राउ परेका हुन् ।

आरोपीहरूले बाल संगठनको रकम हिनामिना गरेर व्यक्तिगत लाभ लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । असार २४ मा पक्राउ गरेर उनीहरूमाथी ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले रातोपाटीलाई बताए ।

आशा श्रेष्ठ बाल मन्दिरको योजना तथा छात्रवृत्ति शाखा प्रमुख थिइन् । जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा उनलाई जिम्मेवारीबाट हटाइएको थियो । आशाले बालमन्दिरमा रहँदा १८ महिनाको दोहोरो तलब लिएको भेटिएको छ । नियमविपरीत लिएको रकमको १० प्रतिशत ब्याज र सावाँ रकम बुझाउन बालसंगठनले उनलाई पत्राचार गरेको थियो । पत्राचार गर्दा आशाले ‘कानुनी प्रक्रियामा जान्छु’ भनेको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् । उनले भनिन्, ‘उहाँले बालसंगठनलाई २ लाखभन्दा बढी तिनुपर्ने देखिन्छ ।’

सरकारले २०७७ मा विद्या न्यौपानेलाई बाल संगठनको अध्यक्ष नियुक्त गर्दै अपचलन गरेको सम्पत्ति असुल गर्नुपर्ने कार्यादेश दिएको थियो । त्यही कार्यादेशअनुसार न्यौपाने नेतृत्वको कार्यसमितिले अपचलन भएको केही रकम असुल गरेको छ । कार्यविधिविपरीत लिएको रकम बुझाउन अस्वीकार गरेकाहरूबारे महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पत्रको आधारमा सीआईबीले अनुसन्धान गरिरहेको हो ।

ओमकृष्ण कर्माचार्य बाल संगठनको ललितपुर जिल्ला कार्य समितिका तत्कालिन सभापति हुन् । २०७७ भन्दा अगाडि उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरमा छुट्टै जिल्ला कार्यसमिति थियो । अहिले ३ वटै जिल्लाको कार्यसमिति हटाएर केन्द्रीय कार्यालयबाट त्यहाँका बालबालिका र सम्पत्ति व्यवस्थापन गर्न थालिएको छ । बालसंगठन ललितपुर शाखाबाट कर्माचार्यले डेढ लाख रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट थाहा भएको सीआईबीका एसएसपी जबराले जानकारी दिए । बालसंगठनले कार्यविधिविपरीत लिएको रकम फिर्ता गर्दा ओमकृष्णले अस्वीकार गरेको अध्यक्ष विद्या न्यौपानेले बताइन् । उनले भने, ‘हामीले उहाँलाई पनि रकम फिर्ता गर्न भनेका थियौं, उहाँले मुद्दामा जान्छु भन्नुभयो ।’

आरोपी राजेन्द्र कुमार श्रेष्ठ बालसंगठनको काठमाडौँ जिल्ला कार्य समितिको तत्कालीन सचिव हुन् । श्रेष्ठले बालसंगठनबाट रकम निकाशा लिएर कार खरिद गरेको भेटिएको छ ।

बालसंगठनको पैसाबाट किनेको मारुती सुजुकी कार अहिले बालसंगठनले तानेको छ । तर, सो गाडी संस्थाको रकबाट राजेन्द्र कुमार श्रेष्ठले व्यक्तिगत नाममा खरिद गरेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘कार्यालयको पैसाले व्यक्तिको नाममा गाडी किनेको देखिएको छ ।’

गाडी खरिद गर्न आफुले सहकारीबाट पनि ऋण लिएको श्रेष्ठले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

उच्च स्तरिय जाँचबुझ आयोगले औंल्याएको हिनामिना रकम फिर्ता नगरेकाहरूको हकमा मात्र अनुसन्धान भइरहेको एसएसपी जबराले जानकारी दिए । उनले भने, ‘संगठनको पैसा आरोपीहरूले आफुले लिएर निजी स्वार्थमा प्रयोग गरेको देखिएको छ ।’

बालसंगठनको रकम हिनामिनाबारे अनुसन्धान गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयमा पत्राचार गरेको थियो । गृह मन्त्रालयको पत्रको आधारमा प्रहरी प्रधान कार्यालय हुँदै सीआईबीलाई अनुसन्धान गर्न भनिएपछि आरोपीहरू पक्राउ परेका हुन् ।

बालसंगठनको जग्गा कौडीको मूल्यमा भाडामा दिएर ठगेको आरोपमा सीआईबीले यसअघि पनि अनुसन्धान गरेको थियो । जग्गा लिज प्रकरणमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंहसहित १७ जनालाई प्रतिवादी बनाएर अदालतमा ठगी मुद्दा दायर गरिएको थियो । बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी ५ आना जग्गा लिजमा दिँदा बृहस्पति विद्या सदन र व्यापारिक घरानासँग मिलेर पूर्वपदाधिकारीहरूले आर्थिक लाभ लिएको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप