बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

किन जोगाउँदैछ प्रहरी गड एन्जललाई ?

बिहीबार, ३० वैशाख २०७३, ११ : ३२
बिहीबार, ३० वैशाख २०७३

काठमाडौं–ओम नन्द, सुुप्रिम मास्टर, गड एन्जल, बाल तपस्वी, सदगुरु ओमनन्द लगायत विभिन्न नामवाट बेला बेलामा चर्चामा आईरहने भक्तकुमार राई पछिल्लो समय नेपाली पत्रकारहरुमाथि धावा बोल्न लागिपरेका छन् । विभिन्न चामत्कारिक काम गरेको दावी गर्दै आफुलाई भगवानको रुपमा स्थापित गर्ने प्रयासमा रहेका राईका यसविच थुप्रै अनुयायीहरु बढेका भएपनि पछिल्लो समय उनको विरुद्धमा पनि थुप्रै कुराहरु बाहिर आएपछि उनले नेपाली पत्रकारहरुलाई साइबर क्राइमको मुद्दा लगाएर दुख दिने योजनामा लागिपरेका छन् । सचेत किरात युवा मोर्चा प्रकाशक रहेको ठग गड एन्जल नामक पुस्तक बजारमा आएपछि गड एन्जलको गतिविधिमा भूइचालो नै आएपछि र सोही पुस्तकलाई आधार बनाएर पुर्वका बिभिन्न संचारमाध्यम र पत्रकारहरुले भक्त्तकुमार बारे समाचार लेख्न थालेपछि उनि साइबर क्राइमलाई आधार बनाएर चौथो अंगमाथि खनिन थालेका हुन् । पुस्तकले भक्तकुमारले आफुलाई भगवान भनि प्रचार गर्दै सोझा सिधा किरात राईहरुलाई ठगी गरीरहेको सप्रमाण चर्चा गरेको छ । आफु चमत्कारी भएको भन्दै समुदायको आँखा छलेर चमत्कार गर्ने र किरात राईहरुको मौलिक संस्कार बाहेक छुटटै संस्कारमा किरात राईहरुलाई आबद्ध गरी संस्कृति नै विटुल्याएको समेत पुस्तकमा सविस्तार लगाइएको छ । पुस्तक प्रकाशन पछि उनका अनुयायीहरु आश्चर्य र आक्रोश दुवै पैदा भएको पाइएको छ । कसैले भक्तकुमार खराब भएको भन्दै उसको पछि लाग्न छाडेका छन् भने कोही पुस्तकमा नियतवश गुरुलाई फसाउन खोजिएको भन्दै आक्रोसित बनेका छन् । अनयायीहरुले यो पुस्तकको लेखक पत्रकार भद्रगोल किरातीलाई भौतिक आक्रमणको धम्की समेत दिए । अनयायीहरुकै उजुरीका आधारमा हाल भद्रगोल प्रहरी हिरासतमा राखिएका छन् । मुलुकको चौँथो अंगमाथि आक्रमण पहिलो पुस्तिका बजारमा ल्याएपछि तरंगीत भएको एन्जलहरुले अनेक प्रश्न उठाएपछि पुरकका रुपमा भद्रगोल किराती (मनोजकुमार राई)ले अर्को पस्तक बजारमा ल्याएकाछन् । गड होईन ठग एन्जल नामक उक्त पुस्तक विमोचनको पुर्व सन्ध्यामा बैशाख २४ गते टेकु प्रहरीले केही बझ्न भनि नियन्त्रणमा लिएको थियो । आइतबार सम्पर्कमा आउने गरी छाडिएका उनलाई कार्यालयमा सम्पर्क गर्दा पुनः नियन्त्रणमा लिइएको छ । काठमाण्डौ जिल्ला अदालतले थप ५ दिनको म्याद दिएकाले उनी हाल प्रहरी हिरासतमै छन् । किराती काठमाण्डौवाट प्रकाशित हुँदै आएको गाउँले मासिकका सम्पादक हुन् । उनी किरात राई पत्रकार संघका पूर्व महासचिव समेत हुन् । उनी पटक पटक पक्राउमा पर्दै आएपछि सञ्चारजगतमा एककिसिमको तरंग छाएको छ । सुत्रका अनुसार किरात संस्कारलाई विटुल्याउने गड एन्जलका कार्यको विरोधमा रहेका पुर्वका केही सक्रिय पत्रकारहरुका नाममा समेत गड एन्जेलका अनुयायीहरुले भद्रगोलसँगै टेकुप्रहरीमा साइबर अपराध अन्तर्गत उजुरी हालेको र प्रहरी उनीहरुलाई पनि नियन्त्रणमा लिने तयारीमा रहेको बुझिएको छ । स्रोतका अनुसार पुस्तिका प्रकाशन भएपछि विभिन्न ठाउँवाट गड एन्जलका नकारात्मक कार्यका समाचार सार्वजनिक हुँदै आएकाछन् । यसै क्रममा पुर्वका विभिन्न जिल्लामा क्रियाशिल पत्रकारहरुले आक्रमणको धम्की समेत खेप्नुपरेको छ । तिनै पत्रकारहरुले फेसबुकमा आफ्नो धारणा पोष्ट गरेको विषयलाई साइबर क्राइम अन्तर्गत राखेर इलाम निवासी हेन्खामाको नामबाट उजुरी परेको स्रोत बताउँछ ।

मुलुकको चौँथो अंगका रुपमा रहेका पत्रकारमाथि नै गड एन्जलको कुदृष्टि बढ्दै गएपछि पत्रकारसम्बद्ध संगसंगठनले चासो राख्न थालेकाछन् । भद्रगोलको पक्राउ र अरु सक्रिय पत्रकार पनि पक्राउको लिष्टमा रहेको थाहा भएपछि किरात राई पत्रकार संघ, किरात राई लेखक संघ, आदीवासी जनजाति पत्रकार महासँघ फोनिज लगायत आवश्यक कदमका लागि छलफलमा व्यस्त भएको जनाइएको छ । उजुरीमा नाम उल्लेख भएका पत्रकार कार्यरत जिल्लाका ती संगठनका शाखा र नेपाल पत्रकार महासँघ शाखाहरुमा समेत विभिन्न चरणमा छलफल भईरहेको जनाइएको छ । नेपाल पत्रकार महासँघ केन्द्रिय कार्यसमितिमा समेत कुरा पगीसकेको तर अध्यक्ष डा. महेन्द्र विष्ट नेपाल बाहिर रहेका कारण आवश्यक निर्णय हुन नसकेको बताइएको छ । आफ्नो कार्यक्षेत्रमा क्रियाशिल पत्रकारहरुलाई समाजिक सञ्जालमा आफ्नो दृष्टिकोण पोष्ट गरेकै आधारमा साइबर अपराध वा जुनसुकै बहानामा गिरफ्तार गर्ने गराउने र मानसिक यातना दिने कार्य गरिन्छ भने पत्रकारीता जगत चुप लागेर नबस्ने नेपाल पत्रकार महासँघले जनाएको छ । कुनै पत्रकारका कुनैपनि समस्या आएका खण्डमा कुनै कतैवाट प्रभावित नभई सर्वप्रथम नेपाल पत्रकार महासँघसमक्ष जानकारी आउनुपर्ने समेत महासँघले जनाएको छ । जनताको सुचनाको हक र पत्रकारको लेखन स्वतन्त्रताको हक कुण्ठित नगर्न समेत महासँघले सबैलाई सचेत गराएको छ । किन जोगाउदैछ प्रहरी गड एन्जललाई ? पहिलो र दोस्रो पुस्तिकासम्म आईपग्दा अब भक्तकुमारका गलत कार्यहरु छताछुल्ल भईसकेका छन् । उनका कतिपय अन्धभक्तहरुमा समेत गडएन्जल मिथ्या हो, उनीद्धारा प्रदिपादित भनिएको प्रेमवाद केही होईन, भगवान होइनन् भक्तकुमार हुन्, चामत्कारिक पनि होइनन् भन्ने जस्ता सचेतना आईसकेको छ । जसले उनका अनयायीहरु विस्तारै घट्दै गएका मात्र होईनन् कार्यालयहरु समेत बन्द हुने अवस्थामा पुगेका छन् । यसरी ओरालो लागेको हरिणलाई प्रहरीले भने किन जोगाउन लागिपरेको छ त ? अहिले सबैले यही प्रश्न गरिरहेकाछन् । भक्तकुमार माओवादी जनयुद्धका बेला भगौडा छापामार हुन् । जनयुद्धमा टिक्न नसकेर भागेपछि उनी सेना र प्रहरीको शरणमा मात्र पुगेनन् उनीहरुको सुराकीका रुपमा समेत काम गर्न थाले । त्यहिबेला सेना र प्रहरीलाई गुण लगाएका उनले अहिले पनि उनीहरुको माया पाइरहेको हुनसक्छ । भक्तकुमार कुनैपनि बेला हामीलाई चाहिन्छ भन्ने हिसाब किताब उनीहरुले गरेको हुनसक्छ । यसबीचमा भक्तकुमारले अन्धभक्त नै सही, देश विदेशमा थुप्रै अनुयायी तयार गरिसकेको भन्ने सुरक्षा संयन्त्रको हिसाव किताव हुनसक्छ । त्यसैले अहिले भक्तकुमारलाई केही भईहालेमा वा गरिहालेमा वा अनुयायीहरुले चाहेको झैँ नुगरेमा अशान्ती उत्पन्न हुने आँकलन सुरक्षाले गरेको हुनसक्छ । तर अन्धभक्तहरुको जयजयकारमा बालुवामाथि उभिएको भक्तकुमारलाई जोगाउन लाग्नु तर भक्तले जे भन्यो त्यही गर्दै पत्रकारहरुलाई भने गिरफतार गर्ने शैली अपनाएर सुरक्षानिकायले किन उल्टो काम गरेको होला भन्ने चर्चा शुरु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप