बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दृष्टिविहीन सुदीपको चाहना : आँखा खोलिहेरौँला, दैवले नै अन्धकार बनायो, अर्को जुनी संसार फेरौँला

बिहीबार, ३० वैशाख २०७३, ११ : ३८
बिहीबार, ३० वैशाख २०७३
[caption id="attachment_49531" align="alignleft" width="848"] हरिजङ्ग थापा [/caption]

मेरो नाम सुदीप संगीत ओली हो । मैले २०४९ सालमा धर्ती टेकेँ । दाङको त्रिपुर नगरपालिका नारायणपुरमा उज्यालो छँदै जन्मिएको थिएँ । तर, मेरा आँखाले २३ वर्ष बितिसक्दासमेत रंगीन संसार देखेन । दिन र रातको फरक छुट्याउन सकेन । आमाको कोखमा रहँदा र धर्ती टेक्दाको फरक महसुस गर्न पाइनँ । जति बुझ्ने भएँ मन घोच्ने काँडाको पीडा बढ्दै गयो । अहिलेसम्म पनि त्यो काँडा झिक्न सकेको छैन । मनलाई शान्त राख्न सकेको छैन । बाल्यकाल जिज्ञासु हुँदैमा बित्यो । घरदेखि विद्यालयसम्मको बाटो पहिल्याउँदैमा बित्यो । आफ्नो ज्यानलाई झाडीमा पुग्नबाट बचाउँदैमा बित्यो । साथीहरू उफ्रँदै खेल्थे । म पनि कल्पनामा उफ्रन्थेँ । सपनामा अनेक खेल खेल्थेँ । साथीहरूले खेलमैदानमा चिच्याउँदै खेलेजसरी । तर, यथार्थ फरक थियो । सहाराविना पाइला चाल्न खोज्दा धेरैपटक लडेको छु । पछारिएको छु । सपनामा कहिल्यै लड्नुपर्दैनथ्यो । सरासर हिँडेको हुन्थँे । पढेको हुन्थेँ । खेलेको हुन्थेँ । त्यसैले मलाई सानैदेखि विपनाभन्दा सपना धेरै प्यारो लाग्थ्यो । घरको पर्खाल कट्नेबित्तिकै मेरो लडाइँ सुरु हुन्थ्यो । विद्यालय पुगेपछि विजयी भएको महसुस गर्थें । १० वर्ष यस्तो संघर्ष गरेपछि एसएलसी पास गरेँ । घरमा बसेको वर्षौं बिते पनि आफ्नै आमाबुवा चिन्न मुस्किल थियो । तर, विद्यालयले अक्षरसँग भने राम्रै चिनजान गरायो । ठूलो उपलब्धि हासिल गरेको महसुस भयो । गायक बन्ने, जागिर खानेलगायत अनेक चाहना पलायो । विवाह गरेँ । घरजम बसाएँ । विवाह गरेको एक वर्षसम्म जीवन रंगीन लाग्यो । जीवनसाथीको साथ मीठो थियो । उनी पनि आँखा देख्दिनथिन् । तर पनि कल्पनाको सहयोगले हामी एक–अर्कालाई देख्थ्यौँ । जीवन दुःखमा रहे पनि रंगीन संसारमा पुगेर रमाउँथ्यौँ । जीवनसाथीले छोरो जन्माइन् । खुसीको सीमा रहेन । आफ्नो सन्तान हेर्ने तीव्र इच्छा थियो । काखमा राखेर हेर्न खोजेँ । अँध्यारोबाहेक केही देख्न सकिनँ । देख्न नसक्दाको पीडा सही नसक्नुभयो । यो रमाइलो मिसिएको पीडा क्षणिक थियो । छोरो जन्माएर श्रीमतीले संसार छाडिन् । उनले छाडेदेखि उज्यालो देख्न नपाएको मैले झन् धेरै अन्धकार देखेँ । बिलौना गर्नुसम्म गरेँ । बिलौना गरेर फर्किने भए त मैले अहिलेसम्म त यो सुन्दर संसार, मेरो प्यारो छोरो संगीत र आफ्नी आमालाई पनि देखिसक्थेँ । सन्तान भए पनि जिम्मेवारीबोध हुँदोरहेछ । आफू दुःखमा डुबे पनि सन्तानलाई सुख दिन खोजिँदोरहेछ । त्यसैले सडक सांगितिक कार्यक्रम गर्दै हिँड्ने दुःख बेसाएको हुँ । तँलाई बाँचुन्जेल खान दिन्छु भन्नेहरूसम्म भेटेको छु । तर मलाई मेरो होइन, मेरो सन्तान र भावी पुस्ताको चिन्ता छ । म बाँचुन्जेल बसेर खाएँ भने मेरो छोराले मभन्दा बढी दुःख पाउँछन् । त्यसैले उसको सुखका निम्ति सडकमा घोक्रो सुकाएर गीत गाउँदै सहयोग बटुल्दै हिँड्दा मलाई कुनै अप्ठ्यारो लागेको छैन । यसैगरी, १२ कक्षासम्म पढेको छु । केही पैसा बचत गरेको छु । केही घर खर्च पठाएको छु । सुरुमा काठमाडौँका सडकमा एक्लै हिँड्थेँ । अहिले हाम्रो चारजनाको समूह छ । समूहमा दार्चुलाकी नम्रता ठकुरी, बुटवलकी खगेश्वरा पौडेल, सिन्धुलीका दीपराज परियार र म छौँ । एउटै समस्या भोगिरहेका हाम्रो मन मिल्छ । दुःख–सुख साटासाट गर्न सजिलो हुन्छ । काठमाडौँका सडक काट्न र शौचालय जान भरथेग हुन्छ । एकजना अनुपस्थित रहँदा पनि सांगीतिक कार्यक्रमले निरन्तरता पाउँछ । जागिर गर्ने रहर थियो । त्यसकै लागि दुःख गरेर पढियो । तर, सोचेर मात्र नहुँदोरहेछ । हाम्रा लागि त १०÷२० रुपैयाँ सहयोग गर्ने सहयोगी मनबाहेक अरू कोही छैनन् जस्तो लाग्छ । मेरो र मेरो परिवारका लागि राम्रो व्यवस्था हुँदो हो त सडक सांगीतिक कार्यक्रम गरेर मागेको पैसाले गुजारा चलाउनु पर्दैनथ्यो । २०६७ देखि सडकमा देखिन थालेको हुँ । बिहानदेखि बेलुकासम्म कार्यक्रम गर्दा, घोक्रो सुकाउँदा ५०÷६० रुपैँया भागमा आउँदा खानासमेत खान नपाएर भोकै बसेको छु । कहिले दिनमै हजार रुपैयाँ बचत गरेर खुसी भएका क्षण पनि छन् । खुसी हुने दिन कमै आउँछन् । तर पनि घर खर्चसँगै केही पैसा बचत गरेको छु । एउटा गीत निकाल्ने सोचमा छु । एकनारायण भण्डारीको शब्द र विनोद बाजुरालीको एरेन्ज रहने गीतले मजस्तै आँखा नदेख्नेको पीडा बोल्नेछ । गीतले भन्छ– मनको आँखा खोलिहेरौँला, दैवले नै अन्धकार बनायो, अर्को जुनी संसार फेरौँला । बचत गरेको पैसाले डेढ वर्षको छोरोलाई राम्रोसँग हुर्काउँछु । त्यसलाई पढाउँछु । सक्षम बनाउँछु । मेरो दृष्टि नहुँदा धेरैले गिज्याएका छन् । थोरैले सहयोग गरेका छन् । तर, मेरो सन्तानले मैलेजस्तो दुःखका दिन भोग्नु नपरोस् । दिनभरी बाटो ढुक्नु र घोक्रो सुकाउनु नपरोस् । योसँगै मेरो भावी पुस्ता आँखा नदेख्ने नै जन्मियो भने पनि सडकमा दिन कटाउन नपरोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप