बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सडकमा उत्रिए नर्सहरु

बिहीबार, ३० वैशाख २०७३, १३ : ००
बिहीबार, ३० वैशाख २०७३

काठमाडौँ – अन्तर्राष्ट्रिय नर्सिङ दिवस (मे १२) को अवसरमा आज राजधानीमा बृहद् र्याली एवम् प्रभातफेरिको आयोजना गरियो ।

सुरक्षित कार्यस्थल, रोजगारीको व्यवस्था, गुणस्तरीय नर्सिङ सेवा, औद्योगिक र स्कुल नर्स सहितको प्लेकार्ड बोकेर माइतीघरबाट निस्केको र्याली थापाथली, त्रिपुरेश्वर, सहिदगेट, वीर अस्पताल हुँदै टुडिखेलस्थित खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो । नर्सिङ सेवामा सुप्रसिद्ध फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर यो दिवस मनाइने गरिन्छ ।

‘स्वास्थ्य प्रणाली सुधारका लागि नर्सिङसेवा’ नाराका साथ विश्वका १३६ मुलुकमा आज विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । नेपालमा सूचीकृत नर्सको सङ्ख्या ६५ हजार छ । मुलुकका १०७ कलेजमा नर्सिङ्ग पढाइ हुने गरेको छ । त्यहाँबाट अनमी, स्टाफ र विएन गरी वार्षिक रूपमा आठ हजारको सङ्ख्यामा नर्स उत्पादन हँुदै आएका छन् ।

नेपालमा नसिङ विषयमा स्नातकोत्तर तहको समेत पढाइ हुनेगर्छ । उत्पादनको तुलनामा रोजगारीको अवसर स्वदेशमा ज्यादै न्यून भएकाले विदेसिने नर्सको सङ्ख्या उल्लेखनीय रहेको छ । लाखौँ रुपैयाँ खर्च गरेर पढाइ पूरा गरेका नर्स स्वयम्सेवीका रूपमा कार्य गर्न बाध्य रहेको नेपाली नर्सिङ परिषद्को भनाइ छ ।

निजी क्षेत्रका अस्पतालले न्यूनतम एक वर्षको कार्यअनुभव भएकालाई मात्र रोजगारी दिने गरेकाले पनि अनुभव हासिल गर्नका लागि स्वयम् सेवा गर्नुपर्ने नर्सलाई बाध्यात्मक अवस्था रहेको छ । स्वास्थ्य क्षेत्रमा नर्सिङ क्षेत्रलाई हेर्ने नीति अझै सकारात्मक बन्न नसकेको गुनासो रहँदै आएको छ । नेपालको जनसङ्ख्या एक करोड भएको अवस्थामा सृजना गरिएको दरबन्दी अझै विस्तार हुन नसकेकाले नर्स विदेसिन बाध्य रहेको नेपाल नर्सिङ सङ्घका पूर्वअध्यक्ष सरला केसी बताउँछिन् ।

नर्सिङ पेसालाई स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा लिइन्छ । स्वदेशमा मात्र नभएर विश्व बजारमा समेत यो पेसामा रोजगारी पाइने हुँदा पनि यो पेसालाई आकर्षक मानिन्छ । र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले सबै जनतामा स्वास्थ्य सेवाको पहुँच सहज बनाउने सरकारको नीतिअनुसार नर्सिङ सेवालाई पनि सुधार र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप