बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

ल्यारक्याल लामालाई अर्को आपतः अख्तियारद्वारा विषेश अदालतमा मुद्दा दायर

बिहीबार, ३० वैशाख २०७३, १४ : ०२
बिहीबार, ३० वैशाख २०७३
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमाओवादी सांसद ल्यारक्याल लामाविरुद्व विषेश अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार प्रवक्ता कृष्णहरि पुस्करले अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा लामाविरुद्व आज विषेश अदालतमा मुद्दा दायर गरिएको रातोपाटीलाई जानकारी दिए । स्रोतका अनुसार अख्तियारले छानबिन थालेको २९ जना भिआईपी मध्येका लामालाई पहिलो व्यक्तिको रुपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । लामामाथि अकुत सम्पत्ती आर्जन गरेको आरोप छ । यसअघि अख्तियारले लामालाई गत फागुन ३० गते १४ थान गोलीसहित पक्राउ गरेको थियो । दरबारमार्गमा रहेको इनभेष्टमेन्ट बैंकको शाखामा उनको नाममा रहेको लकर जाँच गर्दा १४ थान थोली भेटिएको हो । सो प्रकरणसँगै ठगी मुद्दामा उनी धरौटीमा छुटेका थिए । यसैबीच अख्तियारले एक विज्ञप्ती जारी गरि लामाको सम्पत्ती मध्येको नौ करोड चौवालीस लाख बहत्तर हजार एकसय उनान्असि रुपैयाँ सत्चालीस पैसा स्रोत नखुलेको जनाएको छ । विज्ञप्ती पढ्नुहोस्

जि.सिन्धुपाल्चोक, हेलम्बु गाउँ विकास समिती-६ स्थायी घर भई हाल व्यवस्थापिका संसदका सदस्य डा.ल्हारक्याल लामाले पदमा बहाल रहदाँ आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो उच्च जीवनस्तर यापन गरेको भनि आयोगमा परेको उजुरी सम्बन्धमा अनुसन्धानका क्रममा निज डा. ल्हारक्याल लामा मिति २०५८।०९।१९ मा गुम्बा विकास समितीमा अध्यक्ष पदमा नियुक्त भएको र त्यस यताको समयमा नेपाल सरकारको राज्यमन्त्री, संविधानसभा सदस्य हुदैँ व्यवस्थापिका संसद सदस्य पदमा बहाल रहेकोमा निजले सार्वजनिक पद धारण गर्नु अघि र सार्वजनिक पद धारण गरेपछि आर्जन गरेको चल, अचल सम्पत्ति र आय - व्ययको अनुसन्धान गर्दा एवं निजले सार्वजनिक पद धारण गरेको आ.व. २०५८।०५९ देखि २०७२।०७३ (पौष मसान्त) सम्मको अवधिमा निजको आय तर्फ हेर्दा तलवभत्ता, जग्गा बिक्री, ऋण तथा सापटी समेत गरी निजले पेश गरेको सम्पत्ति विवरण समेतबाट निजको आयआर्जन गरेको रकम रु.२०,३४,४१,८२१।– (अक्षरुपी बीस करोड चौतिस लाख एकचालीस हजार आठ सय एक्काईस ) रहेकोमा निजले घर निर्माण, जग्गा खरिद,शेयर खरिद,सवारी साधन खरिद, ऋण/सापटी साँवा व्याज भुक्तानी, घरायसी सामान खरिद, नगद मौज्दात, बैंक मौज्दात समेत गरी खर्च तथा लगानी गरेको रकम रु.२९,७९,१४,०००।४७ (अक्षरुपी उनान्तीस करोड उनासी लाख चौध हजार सत्चालिस पैसा) देखिएकोले निजको आय भन्दा व्यय रु.९,४४,७२,१७९।४७ ( अक्षरुपी नौ करोड चौवालीस लाख बहत्तर हजार एकसय उनान्असि रुपैयाँ सत्चालीस पैसा) बढि देखिनुको साथै उक्त सम्पत्तीको श्रोत नखुलेको हुँदा निजले आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैर-कानूनी रुपबाट सम्पत्ति आर्जन गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले निज डा. ल्हारक्याल लामा उपर जम्मा विगो रु.९,४४,७२,१७९।४७ ( अक्षरुपी नौ करोड चौवालीस लाख बहत्तर हजार एकसय उनान्असि रुपैयाँ सत्चालीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५,दफा १६ (ग) तथा दफा २९ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ दफा २० को उपदफा (२) अनुसारको जरिवाना र कैद सजाय हुन साथै निज हाल व्यवस्थापिका संसदको सदस्य रहेकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४ (क) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन एवं भ्रष्टाचार गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन,२०१७ को दफा १६(ग), दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप