पुनःनिर्माणका लागि गाउँ-गाउँमा दक्ष कामदार उत्पादन
गोरखा– यस जिल्लामा पुनःनिर्माणका लागि गाउँ गाउँका युवालाई सिकर्मी र डकर्मी तालिम दिइएको छ । पुनःनिर्माण प्राधिकरणले लाभग्राहीलाई अनुदान रकम वितरण गरेपछि धमाधम घर बनाउन सुरु गर्ने भन्दै विभिन्न संस्थाले सिकर्मी, डकर्मी उत्पादन गर्न ११ वटा भूकम्प प्रभावित गाविसका युवालाई सात दिने तालिम दिएको हो ।
जिल्लास्थित भवन डिभिजन कार्यालयसँग समन्वय गरी केयर नेपाल नामक संस्थाले तालिम दिएको हो । छोप्राक, खोप्लाङ, हर्मी, गाँखु, मुच्चोक, बारपाक, लाप्राक, गुम्दा, उहिया, केरौँजा र कासीगाउँका भूकम्प प्रभावितलाई तालिम दिएर दक्ष कामदार उत्पादन गरिएको केयर नेपाल गोरखाका प्रमुख माधव ढकालले बताए ।
“भूकम्पले सबैको घर भत्किएको छ, गाउँमा काम नै काम छ तर कामदार छैनन्,” उनले भने – “वैदेशिक रोजगारीमा जानुभन्दा सीप सिकेर गाउँमा बस्नेले धेरै कमाउँछ ।” फुर्सदमा रहेका गाउँका युवालाई तालिम दिई दक्ष बनाएको भन्दै उनले पुनःनिर्माणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
गोरखाको ६० गाविस र दुई नगरपालिकामा तालिम सञ्चालन गरी कामदार उत्पादन गर्ने तयारी गरिएको छ । वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने र गाउँमा बसेर नयाँ घर निर्माण गर्ने कामलाई प्रोत्साहन दिन सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले विभिन्नखालका तालिम सुरु गरेका हुन् । प्रत्येक गाविसमा कम्तीमा ३० जनाको दरले कामदार उत्पादन भएका छन् ।
गोरखा पुनःनिर्माणमा रु ३० अर्ब खर्च हुने जिल्ला दैवीप्रकोप उद्धार समितिले बताएको छ । गत वर्ष वैशाख १२ मा गोरखाको बारपाक केन्द्रविन्दु रहेर गएको भूकम्पले ४७२ जनाको मृत्यु हुनाका साथै ६५ हजार ९३७ वटा घर पूर्णरुपमा ध्वस्त भएको थियो ।
यसैबीच, पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयले भूकम्प प्रभावित छवटा गाविस र गोरखा नगरपालिकाको १४÷१५ वडा नारेश्वर क्षेत्रमा सूची सार्वजनिक गरेर लाभग्राहीलाई अनुदान दिने प्रक्रिया सुरु गरेको प्राधिकरणका कर्मचारी गुणराज भट्टराईले बताए । सूची सार्वजनिक गरिएका गाविसका भूकम्पपीडितले आफ्नो नाम छुटेको भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र पुनःनिर्माण प्राधिकरणमा निवेदन दर्ता गरेका छन् ।
इञ्जियिनरले आफ्नो घरको विवरण छुटाएको आरोप लगाउँदै जिल्लाको धुवाँकोट गाविसका भूकम्पपीडित गाडी रिजर्भ गरेरै जिल्ला प्रशासन कार्यालय आएका थिए । घर भत्किएको नाम सूचीमा नपरेकामा भूकम्पपीडितले आपत्ति जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण