आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

यसरी गर्नुपर्छ आकस्मिक बिमारीका घरेलु उपचार

मङ्गलबार, २१ भदौ २०७३, ११ : ४३
मङ्गलबार, २१ भदौ २०७३

आकस्मिक रूपमा हुने सामान्य स्वास्थ्य समस्यामा सामान्यतया डाक्टर वा स्वास्थ्य संस्थामा जाने प्रचलन खासै छैन । तर, सही उपचार भने हुनुपर्छ । घरमै उपचार गर्दा आफ्नै वरिपरि उपलब्ध साधनको भरपूर उपयोग गर्न सक्छौा । केही आकस्मिक बिमारी र उपचार विधि यस्ता छन् :

ज्वरो आएमा

ज्वरो आफैँमा रोग होइन, सम्भावित रोगको लक्षण हो । हाम्रो शरीरको तापक्रम ९८ डिग्री फरेनहाइट (३७ डिग्री सेल्सियसभन्दा तल) हुन्छ/हुनुपर्छ । तापक्रम ९८ डिग्री फरेनहाइटभन्दा माथि (३७ डिग्री सेल्सियस) भएमा ज्वरांश हुन्छ । त्यसपछि बढ्दै गएको तापक्रमले ज्वरोको मात्रा पनि गम्भीर बनाउँदै लैजान्छ । ज्वरो अत्यधिक हुन थालेपछि जाडो लाग्ने, शरीर काम्ने, शरीरको सन्तुलन कायम राख्न गाह्रो हुने हुन्छ । भाइरस ज्वरो छ भने टाउको, शरीर वा जोर्नी दुख्ने, वाकवाकी लाग्ने हुनसक्छ । रुघा–खोकीसँग लाग्ने ज्वरो पनि भाइरसकै कारणले हुन्छ । तापक्रमले थर्मोमिटरमा देखाइएको रातो धर्को काटेपछि उपचार गर्न सुरु गर्नुपर्छ । १०० डिग्री फरेनहाइटसम्मको तापक्रममा पारासिटामोल एक चक्की वा बच्चा भए त्यसको झोल औषधि एक चिया चम्चा खुवाउनुपर्छ । यो औषधि ८–८ घन्टामा दिइरहनुपर्छ । ज्वरो ज्यादै छ भने एकैपटक दुई चक्की (बच्चालाई १०१ डिग्रीभन्दा माथिको ज्वरोमा दुई चिया चम्चा) दिन सकिन्छ ।

याद राख्नुहोला, दुई चक्की खानुपर्ने ज्वरो १०४ डिग्री वा त्योभन्दा माथि हुनुपर्छ । ज्वरो आउँदा बाक्लो लुगा लगाउने वा झ्यालढोका थुनेर सिरक ओडेर सुत्ने गर्छौं । यो गलत तरिका हो । पातला लुगा लगाउनुपर्छ । बच्चा वा वृद्धवृद्धा सबैलाई यही विधि अपनाउनुपर्छ । ज्वरो बढ्न थाल्यो भने त्यसलाई जसरी भए पनि सामान्य अवस्थामा झार्न विभिन्न उपचार गर्न सकिन्छ । बच्चालाई १०१–२ र वयस्कलाई १०४–५ डिग्री छ भने त अनिवार्य रूपमा ज्वरो झार्नैपर्छ । यस्तो अवस्थामा चिसो पानीमा भिजाएको सुती कपडाको पट्टीले निधार ढाक्ने गरी राखिदिनुपर्छ । केही छिनपछि अर्को पट्टी फेर्नुपर्छ । हत्केला र पाइतालामा पनि चिसो पट्टीले पुछिदिनुपर्छ । पंखाले हम्किदिनुपर्छ । कोठामा खुला हावा र प्रकाश आउन दिनुपर्छ । तर, जाडोमा चिसो हावा (स्याँठ)बाट भने जोगिनुपर्छ । पानी र रसयुक्त खानेकुरा दिनुपर्छ । ज्वरो आउँदा कागतीपानी खान दिन सकिन्छ । तर, चिल्लो खाने कुराले तापक्रम बढाउँछ । भुटेको, तारेको खानेकुरा, दही–मही उपयुक्त मानिदैन । ज्वरो उत्रेको संकेतमा शरीरमा चिटचिट पसिना आउँछ । ज्वरो झरेन भने शरीरमा अन्य कुनै बिमारी भएको हुनसक्छ । त्यसको कारण खोज्नुपर्छ । स्वास्थ्य संस्था वा चिकित्सकसँग सम्पर्क गरिहाल्नुपर्छ ।

रुघा–खोकीमा

रुघा–खोकी ‘नियमित आकस्किमकता’को बिमारी नै हो । कसैलाई यसले धेरै चाप्छ भने कसैलाई तुलनात्मक कम हुन्छ । रुघा लागेपछि सिँगान बगिरहने, नाक टालिने, सास फेर्न गाह्रो हुने गर्छ । कफ जमेको छ भने छाती गह्रौँ हुने गर्छ, खोकी लागिरहन्छ । खोकी धुम्रपान, दम, धुलो–धुवाँ आदि प्रदूषणका कारणले पनि लाग्छ । स्वस्थ मानिसलाई रुघा–खोकी लागेमा हेरचाह गर्दा एक हप्ताभित्र ठीक हुन्छ । तर, लामो अवधिसम्म सुक्खा खोकी लागिरहेको छ, खोकीसँग ज्वरो छ, अझ खोक्दा मुखबाट रगत आउँछ भने त्यसलाई घरेलु उपचारले हुँदैन । डाक्टरको जाँच र सल्लाह नै चाहिन्छ । बिहान–बेलुकी सुत्ने वेलामा बाफ लिने गर्दा नाक टालिएको खुल्छ, कफ फुटेर निस्कन सहज हुन्छ । पिनास छ भने हाछ्युँ गर्दा आफ्नै नाकमा कुनै दुर्गन्ध भएको थाहा हुन्छ । यस्तोमा पनि पानीको बाफले आराम गर्छ । शारीरिक व्यायामले पनि कफ निस्कन सहयोग गर्छ । यस्तोमा अलिअलि गर्दै तातो पानी पिइरहने, तातो रसदार खानेकुरा खाने, तर कफी वा रक्सी भने लिनु हुँदैन । रुघा लाग्दा कसैले सुँघ्ने (इन्हेलर) उपयोग गर्ने वा नाकमा मलम दल्ने गर्छन् । तर, फोक्सोलाई स्वच्छ र स्वस्थ राख्न यो ठीक तरिका होइन । मासु, तारेको खानेकुरा वा दुग्ध पदार्थले कफ बढाउने हुनाले रुघा–खोकीका वेलामा नखानु उचित हुन्छ । ‘ए’, ‘सी’, ‘ई’ वर्गका भिटामिन रुघाखोकीमा राम्रो मानिन्छ । अदुवाको रस र मह आधा–आधा मिलाएर वयस्कले ठूलो एक चम्चा बिहान–बेलुकी खाएमा, तीन केस्रा लसुन पिसेर एक ठूलो चम्चा महमा १२ घन्टा मिसाएर राखी बिहान–बेलुकी खाने गर्दा पनि रुघा–खोकीमा राम्रो हुन्छ । एक गिलास तातो पानीमा एक चम्चा मह र कागतीको रस मिलाएर पिउनाले पनि लाभ हुन्छ । एक चिया चम्चाभन्दा कम अदुवा, पाँच/सातवटा तुलसीको पात वा तुलसीको रस, एक चिया चम्चा पिसेको अदुवा पकाएर सुत्ने वेलामा पिएर सुत्दा रातभरि निकै आराम हुन्छ । स्मरणीय छ, खोकीमा बेसारले निकै आराम दिन्छ । स्नोफेलियामा त बेसारले निकै राम्रो गर्छ । हल्का भुटेर पिसेको मेथीको पाउडर एक चम्चा तातो पानीसँग पिउँदा खोकीमा निकै आराम मिल्छ ।

मुर्छा परेमा

मानिस अचानक बेहोस हुन्छ । बेहोस हुनु आफैँमा बिमारी होइन, अन्य कुनै रोगको कारण वा लक्षण हो । तर छारेरोग, उच्च रक्तचाप, निम्न रक्तचाप (लो ब्लडप्रेसर), मधुमेह, दुव्र्यसनबाहेक चिन्ता, कमजोरी, कामको ज्यादै धपेडी, आदि कारणबाट पनि बेहोस हुनसक्छ । अति भोक, निद्रा आदि पनि कारण हुन सक्छन् । यस्ता अवस्थामा मुर्छा पर्नुको कारण दिमागमा पर्याप्त रक्तसञ्चार नहुनु हो । रक्तसञ्चार कम भएपछि दिमागमा अक्सिजनको मात्रामा पनि स्वत: कमी आउँछ । मांसपेशीहरू एकदमै शिथिल हुन्छन् । सामान्यत: बेहोस भएको मानिस विभिन्न उपाय गर्दा पनि २ मिनेटभित्र होसमा आएन भने चिकित्सकीय उपचारको आवश्यकता पर्छ । जुन बिमारीको कारणले भए पनि मुर्छा परेको अवस्थामा प्राथमिक उपचार कसरी गर्ने भन्ने प्रश्न आउँछ । यदि कसैलाई आफू बेहोस हुन लागेको, रिँगटा आदि पूर्वाभास भएमा वरिपरिको कुनै सुरक्षित ठाउँमा यसरी पल्टिनुपर्छ, ताकि टाउकोभन्दा खुट्टा अग्लो भएर रहुन् । यसो गर्दा दिमागमा रक्तप्रवाह अलिक सहज हुन्छ । त्यसरी पल्टिने ठाउँ भएन भने यसरी बस्नुहोस् कि आफ्नो शिर दुवै घुँडाको बीचमा परोस् । कोही बेहोस हुन लागेको छ भने तत्काल उसलाई टाउकोभन्दा खुट्टा अग्लो हुने गरी सुताइदिने वा बस्न मात्र मिल्ने भए टाउकोलाई घँुडाको बिचमा राख्न लगाएर बसाउनुपर्छ । बेहोस भएका वेलामा मुखमा पानी छम्किन र पंखा हम्किन हुन्छ, तर पानी खुवाउनु हुँदैन । कसैले जुत्ता वा मोजा पनि सुँघाउने गर्छन् । यो भ्रामक र गलत तरिका हो । बिमारीलाई खुला हावामा सुताउनुपर्छ । वरिपरि भीड छ भने भिड हटाएर स्वच्छ हावा आउन दिनुपर्छ । बेहोसीको कारण कुनै रोग हो भने रोगको उपचारमा लागिहाल्नुपर्छ । छारेरोग, स्नायु प्रणालीमा हुने गडबडीजस्ता बिमारीका कारण बेहोस भइरहने मानिसले एक्लै हिँड्नु हुँदैन, आगो वा कुनै चलिरहेको ठूलो मेसिनको छेउमा बस्नु हुँदैन । रक्तचापको समस्या छ भने त्यसलाई नियन्त्रणमा राख्ने उपचार गर्नुपर्छ ।

नयाँ पत्रिका दैनिकबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप