बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

उमेरै नपुगी बितेका ती ७ गायक/ गायिका

बिहीबार, ३० भदौ २०७३, ११ : ०८
बिहीबार, ३० भदौ २०७३

काठमाडौं । यही महिनाको सुरुवातमा चर्चित गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा नै निधन भएको खबरले धेरैलाई मर्माहत तुल्याएको थियो । तर महिना नबित्दै अर्का चर्चित पप गायक सुनिल बर्देवाको पनि निधन भएको छ, ४४ वर्षको उमेरमा । यो दुखको घडिमा, चित्त बुझाउन कै लागि भए पनि गुरुङ र बर्देवाभन्दा पनि कलिलो उमेरमा नै ज्यान गुमाउने र श्रोताको मन जित्न सफल भएका अरु संगीत श्रष्टाहरुको बारेमा यहाँ चर्चा गरिएको छ । लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा नै संसारबाट बिदा भएका यी ७ गायक ।

१. मञ्जु महतः २३ वर्षको अल्पायुमा संसारबाट बिदा भएकी प्रतिभाशाली मञ्जु महत चर्चित लोक गायिका थिइन् । सन् २०१४ मा काठमाडौंको गल्कोपाखामा गीत रेकर्डिङका लागि जमलको मालश्री स्टुडियो जाँदै गर्दा स्कूटर दुर्घटनामा परेर उनको निधन भएको थियो । उनका चर्चित गीतहरुमा ‘दुई दुना आठ, नभन है कसैलाई’ आदि पर्छन् ।

२. कुल पोखरेलः नयाँ शैलीको पप गायकका रुपमा परिचय बनाउँदै गएका कुल पोखरेलले पनि २३ वर्षको कलिलो उमेरमा नै आफ्नो जीवनलीला समाप्त गरे । झण्डै एक दशकअघि लागु औषधको दुव्र्यवसनीमा फसेका उनले छोटो समयमा राम्रो प्रतिभा प्रस्तुत गरेका थिए र आफ्नो भिन्न छवी स्थापित गर्न सफल भएका थिए । उनले मानसिक स्थितीलाई नियन्त्रणमा राख्न नसक्दा २०६१ सालमा आत्महत्या गरेका थिए । उनको ‘यसपाली दशैंमा ठूला दाई आउने रे, हुन्न र, बोलाउँदा खेरी बोल्दिनौ’ जस्ता बोलको गीतले धेरै नै चर्चा बटुल्न सफल भएको थियो ।

३. योगिता मोक्तानः पाँच वर्ष लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेको चार महिना नबित्दै गायिका योगिता मोक्तानले आत्महत्या गरेकी थिइन् । २८ वर्षीय उनले आफ्नै घरको सिलिङमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा उनलाई भेटिएको थियो । गायिका मोक्तानले ‘मइच्याङ, मनको गीत’ लगायतका एल्बम बजारमा ल्याएकी थिइन् । उनले सेलो बिटमा गीतहरु, नेपाली आधुनिक, लोक, तामाङ सेलो, पप विधा र चलचित्रका गीत गाएकी थिइन् । उनले केही नेवार गीतसमेत गाएकी थिइन् ।

४. लोकबहादुर क्षेत्रीः अर्का गायक छन् लोकबहादुर क्षेत्री जो ३२ वर्षको उमेरमा बितेका थिए । ४० को दशकमा रेडियो नेपालमा बज्ने र श्रोताले धेरै अनुरोध गर्ने गीत ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’ भन्ने गीतका गायक लोकबहादुर क्षेत्री अल्पायुमै बितिजाने गायकको सूचिमा पर्छन् । नवलपरासीको बर्दघाटमा भएको मोटरसाइकल दुर्घटनामा परेर उनको निधन भएको थियो । एफएम रेडियो र युट्युबको चल्ती नभएको समयमा पनि उनका गीत गाउँका कुनाकुनामा स्रोताहरुले गुनगुनाउने गर्दथे । उनका ‘छमछम नाचिदेउ निहुरेर, न्याउली रुँदै के भन्छ’ आदि गीतहरु सर्वाधिक रुचाइएका गीतहरु हुन् । ५. खेमराज गुरुङः ‘वारी जमुना पारी जमुना’ गीतबाट चर्चित भएका लोकगायम खेमराज गुरुङ गत भदौ ९ गते बितेका थिए । ४२ वर्षीय गुरुङको कलेजोमा समस्या आएपछि उनको उपचारको क्रममा निधन भएको हो । खानपिनको हेलचेक्राइँको कारणले उनले अल्पायुमा नै ज्यान गुमाउनुपरेको धेरैले टिकाटिप्पणी गरेका छन् । गुरुङले ‘वारी जमुना पारी जमुना, भन्छन् बुढा पाकाले’ आदि गीतबाट ख्याती कमाएका थिए । ६. सुनिल बर्देवाः चर्चित पप गायक, संगीतकार एरेन्जर, गीतारिष्ट सुनिल बर्देवाको ४४ वर्षको उमेरमा भदौ २८ गते राती अकस्मात् निधन भएको थियो । एक्कासी रगत बान्ता गरेपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो जहाँ उनको उपचारको क्रममा मृत्यु भएको थियो । एक छोरा र एक छोरीका बुवा बर्देवाले गाएको ‘गोरेटो अनि उस्तै छ गल्ली’ बोलको गीत निकै कर्णप्रिय र चर्चित छ ।

काठमाडौं धुम्बाराही निवासी उनकी श्रीमती शोभा बर्देवाको दुई वर्ष पहिले निधन भएको थियो । उनको गीत ‘गोरेटो अनि उस्तै छ गल्ली’ को कम्पोज उनकै श्रीमती शोभाले गरेकी थिइन् ।

सुनिल बर्देवाभन्दा अलि पाको उमेरमा ज्यान गुमाउनेमा अरुण थापा पनि पर्दछन् । ७. अरुण थापाः कलेज पढ्दाताका अरुण थापाको एक महिलासँगको प्रेम सम्बन्ध थियो । उनले त्यतिबेला गाएका सबै गीतहरु उनको प्रेमजीवनमा मेल खान्थे । थुप्रै गीतहरु रेकर्ड गरेपनि उनको ‘जति माया लाएपनि’ बोलको गीतले श्रोताहरुको ध्यान आकृष्ट गर्न सफल भएको थियो । त्यसले उनलाई रातारात चर्चित बनायो । प्रेमिकासँगको वियोगले उनलाई रक्सीको आदी बनायो जसका कारण उनको कलेजो र फोक्सोमा समस्या देखिन थाल्यो । यहि रोगले बिकराल रुप लिँदै २०५६ सालको ५ गते ४७ वर्षको उमेरमा उनको ज्यान लियो । उनका ‘ऋतुहरुमा तिमी, साँझको जुन सँगै, चोट के हो व्यथा के हो’ आदि गीतहरु सर्वाधिक चर्चित गीतमध्येका एक हुन् ।

उनका साथै, लोक गीतका सर्जक र संकलक सूर्य कुमार क्षेत्री पनि यही वर्ष ३३ वर्षको उमेरमा बितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप