बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा

आमाको एउटा फोनले बचायो सयौँको ज्यान
बुधबार, ०३ असार २०८३, ०९ : ३८
बुधबार, ०३ असार २०८३

सारांश

  • एफबीआईले ह्वाइट हाउसमा यूएफसी खेलका क्रममा आक्रमण गर्ने योजना विफल पारेको छ।
  • यस योजनामा ​​राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स, इजरायली प्रधानमन्त्री नेतान्याहु र एलन मस्कसहित उच्च अधिकारीहरूलाई लक्षित गरिएको थियो।
  • पाँच जना संदिग्धलाई पक्राउ गरिएको छ र उनीहरूमाथि हत्याको षड्यन्त्र रचेको अभियोग लगाइएको छ।

वासिङ्टन डीसी । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले ह्वाइट हाउसमा आयोजित यूएफसी खेललाई लक्षित गरी रचिएको एउटा ठुलो र भयानक आक्रमणको योजनालाई असफल बनाइदिएको छ। 

अमेरिकी न्याय मन्त्रालयका अनुसार यस घटनामा संलग्न रहेको आरोपमा पाँच जना पुरुषलाई पक्राउ गरिएको छ। आरोपितहरूले विस्फोटक पदार्थले भरिएका ड्रोनहरू प्रयोग गरेर नजिकैका भवनहरूमा प्रहार गर्ने र हाइप्रोफाइल अधिकारीहरू माथि अन्धाधुन्ध गोली प्रहार गर्ने योजना बनाएको अधिकारीहरूले दाबी गरेका छन्।

यस बहु-राज्यीय अपरेसनका क्रममा एक संदिग्धलाई गत हप्ता ओहायोमा पक्राउ गरिएको थियो, जहाँ अनुसन्धानकर्ताहरूले उनीहरूको इन्क्रिप्टेड सन्देशहरू फेला पारेका थिए। अदालतको दस्तावेज अनुसार पक्राउ परेका व्यक्तिहरूले उग्रधार्मिक र सरकार विरोधी भावना व्यक्त गरेका थिए। एफबीआईका निर्देशक क्यास पटेलले सामाजिक सञ्जालमा यो योजनाबद्ध आक्रमणलाई पूर्ण रूपमा रोकिएको जानकारी दिएका छन्।

पक्राउ पर्नेहरूमा १९ वर्षीय टाइसेन सी प्रोपर (ओहायो), २४ वर्षीय ब्रायन ओमार रोआ र ३२ वर्षीय माइकल एलन थोमस (क्यालिफोर्निया), ३२ वर्षीय ड्यानियल के एस्क्रिज (मिसौरी) र ३१ वर्षीय अब्राहम हर्मोसिल्लो अल्भारेज (नेब्रास्का) रहेका छन्। अमेरिकी न्याय मन्त्रालय (डीओजे) का अनुसार उनीहरूलाई विभिन्न चार राज्यबाट पक्राउ गरिएको हो र सबैजना माथि हत्याको षड्यन्त्र रचेको अभियोग लगाइएको छ।

अदालती कागजातका अनुसार आक्रमणकारीहरूले सुरुमा ड्रोनको प्रयोग गरेर त्यहाँ उपस्थित भीडमा भागदौड र सन्त्रास फैलाउने र भागिरहेका मानिसहरूलाई स्नाइपर टोलीको निसानामा पार्ने योजना बनाएका थिए। त्यसपछि आक्रमणकारीहरूको दोस्रो लहरले ह्वाइट हाउसको गेटमा आक्रमण गर्ने रणनीति तय गरेको थियो। ह्वाइट हाउसको साउथ लनमा आयोजित उक्त विशेष खेलमा करिब ४,३०० आमन्त्रित पाहुना उपस्थित थिए भने वरपरका क्षेत्रबाट अन्य ८५,००० मानिसले खेल नियालिरहेका थिए।

आरोपित अल्भारेजसँग सम्बन्धित अदालती कागजातका अनुसार यस समूहको निसानामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र अर्बपति एलन मस्कका साथै थुप्रै अधिकारीहरू थिए, यद्यपि ती सबै अधिकारीहरू यूएफसी खेलमा उपस्थित भने थिएनन्।

यो ठुलो षड्यन्त्रको खुलासा संदिग्ध प्रोपरका कारण सम्भव भएको हो। गत जुन १० मा प्रोपरकी आमाले स्थानीय अधिकारीहरूलाई फोन गरेर आफ्नो छोराले ठुलो परिमाणमा हतियार खरिद गरेको र अनलाइनमा पूर्व सैनिक तथा इसाई समूह भनी दाबी गर्ने एउटा समूहसँग शङ्कास्पद कुराकानी गरिरहेको भन्दै चिन्ता व्यक्त गरेकी थिइन्।

यो समूहले धनी व्यक्ति र राजनीतिज्ञहरूलाई गोली हानेर देशमा एउटा क्रान्ति सुरु गर्न चाहेको आरोप छ। उनीहरूले सरकारी भ्रष्टाचार, इपिस्टिन फाइलहरूको व्यवस्थापन र डाटा सेन्टरहरूले समुदायको पानी रित्याएको जस्ता विषयमा सरकारप्रति तीव्र आक्रोश व्यक्त गरेका थिए। एफबीआईको दस्तावेज अनुसार उनीहरू अमेरिका गलत दिशामा गइरहेको विश्वास गर्थे र देशलाई फेरि नयाँ शिराबाट निर्माण गर्न यसलाई ध्वस्त पार्नुपर्ने मानसिकता बोकेका थिए।

जुन ११ मा एफबीआईसँगको सोधपुछका क्रममा प्रोपरले आफू यस योजनामा सहभागी भएको स्वीकार गरे। उनले यो समूह मार्च महिनातिर टिकटकको ‘भ्यानगार्ड अफ द ओल्ड’ नामक समूह मार्फत एकअर्काको सम्पर्कमा आएको बताए। यो समूह कुनै ठुलो संगठनसँग आबद्ध छ कि छैन भन्ने स्पष्ट भइसकेको छैन, तर यसका सदस्यहरू मुख्यतः टिकटकबाटै भर्ती गरिएका थिए।

टिकटकमा छानबिन गरिएपछि विश्वासिला सदस्यहरूलाई ‘सिग्नल’ नामक सुरक्षित मेसेजिङ एपमा सारिएको थियो। अभियोजकहरूका अनुसार मुख्य च्याट ग्रुपमा १९ जना थिए भने भूमिका र स्थानका आधारमा चार-पाँच जनाका साना उप-ग्रुपहरू बनाइएका थिए। थोमसले यस अपरेसनलाई चार तहमा विभाजन गरेका थिए, जसमा देशका लागि बलिदान दिन तयार हुने र कानुन तोडेर भूमिगत हुन सक्ने टोलीदेखि लिएर आर्थिक सहयोग गर्ने र प्रभाव पार्ने चौथो तहसम्मका मानिस सामेल थिए।

कागजातहरूका अनुसार उनीहरूले केही अमेरिकी सांसदहरू र व्यवसायीहरूको हत्या गर्ने विषयमा पनि छलफल गरेका थिए। इजरायल समर्थक लबीहरूबाट पैसा लिएको आरोप लगाउँदै केही सांसदहरूलाई निसाना बनाइएको थियो। न्याय मन्त्रालयका अनुसार अल्भारेज यस योजनाको मुख्य योजनाकार थिए र उनले ड्रोनको व्यवस्थापन हेरिरहेका थिए। उनीहरूले वासिङ्टनको नक्सामा स्नाइपर बस्ने ठाउँ, ड्रोन प्रहार गर्ने केन्द्र र पावर ग्रिडहरूलाई समेत निसानाका रूपमा चिन्ह लगाइसकेका थिए। प्रोपरका अनुसार उनी आफैँ गोली हान्न नजाने भए पनि समूहका अन्य सदस्यहरू हिंसा भड्काउन दृढ थिए।

यस विषयमा सिक्रेट सर्भिसका उपनिर्देशक म्याट क्विनले यो एउटा ‘गम्भीर खतरा’ भएको बताएका छन्। यद्यपि, अनुसन्धान जारी रहेकाले उनले धेरै विवरण दिन अस्वीकार गरे। अनुसन्धानको विवरण समयभन्दा अगाडै सार्वजनिक भएकोमा असन्तुष्टि जनाउँदै उनले अनुसन्धानको निष्पक्षता र सुरक्षा योजनाका लागि आफूहरूले यसलाई गोप्य राख्न चाहेको बताए। 

अर्कोतर्फ, फ्रान्समा भइरहेको जी-७ शिखर सम्मेलनका क्रममा यस षड्यन्त्रबारे सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूले यसबारे केही नसुनकेको प्रतिक्रिया दिएका छन्।

दोषी ठहर भएमा प्रत्येक संदिग्धले अधिकतम आजीवन कारावास र साढे दुई लाख डलर जरिवानाको सजाय भोग्नुपर्नेछ। प्रोपरले ह्वाइट हाउसको परिसरमा हिंसा गर्ने षड्यन्त्रसहित थप तीनवटा अभियोगहरूको सामना गरिरहेका छन्, जसमा थप पाँच वर्षको कैद सजाय हुन सक्छ। यस मामिलाको प्रारम्भिक सुनुवाइ जुन २९ का लागि तोकिएको छ।

यो घटना अमेरिकाको २५० औँ स्थापना वर्षगाँठ मनाउने क्रममा ह्वाइट हाउसको ‘द क्ल’ भनिने बाहिरी मैदानमा आयोजना गरिएको यूएफसी म्याचका क्रममा भएको हो। यो खेल ट्रम्पको ८० औँ जन्मदिनको अवसरमा परेको थियो। अमेरिकामा पछिल्लो समय राजनीतिक हिंसा बढ्दै गइरहेको विज्ञहरू बताउँछन्। 

मिसिगन स्टेट युनिभर्सिटीकी राजनीतिशास्त्रकी प्राध्यापक एरिका फ्रान्ट्जका अनुसार राजनीतिक हिंसा चक्रिय रूपमा चल्ने गर्छ, जहाँ एउटा हिंसाले अर्को हिंसालाई जन्म दिन्छ। सन् २०२४ देखि २०२५ को अवधिमा अमेरिकामा लक्षित हिंसा ३० प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। 
बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप