बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...

बुधबार, ०३ असार २०८३, ०९ : २३
बुधबार, ०३ असार २०८३

सारांश

  • विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा साँझको आरतीका क्रममा फिल्म प्रचार गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।
  • असार १ गते पुरुषोत्तम महिनाको अन्तिम दिन र औँसीको अवसरमा आयोजित आरतीमा 'आई एम जित बहादुर' फिल्मको प्रचार गरिएपछि श्रद्धालुहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
  • फिल्म प्रचार तथा दाताहरूको नाम घोषणा गर्दा आरती निर्धारित समयभन्दा ढिलो भएको र यसले धार्मिक स्थलको व्यावसायिक प्रयोगबारे बहस निम्त्याएको छ ।

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत तथा हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पशुपतिनाथ मन्दिरमा हुने साँझको आरतीका क्रममा फिल्म प्रचार गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा व्यापक आलोचन सुरु भएको छ । 

असार १ गते सोमवार पुरुषोत्तम महिनाको अन्तिम दिन तथा औाशीको अवसर पारेर आयोजित आरतीमा फिल्म ‘आई एम जित बहादुर’ को प्रचार–प्रसार गरिएको भन्दै श्रद्धालुहरूले सामाजिक सञ्जालबाट असन्तुष्टि पोखिरहेका छन् ।

साँझ फिल्मका मुख्य कलाकार जितु नेपाल, प्रियङ्का कार्की, वर्षा राउत लगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । आरती प्रारम्भ हुनुअघि फिल्मको प्रचार–प्रसार गरिनुका साथै विभिन्न दाताहरूको नामसमेत घोषणा गरेका थिए । पशुपतिनाथमा दैनिक रूपमा हुने साँझको आरतीमा उक्त दिन उपस्थिति निकै बढी थियो । यही अवसरलाई उपयोग गर्दै फिल्म निर्माण टिमले आफ्नो फिल्मको प्रचार त्यहाँ गरेको हो ।

तर फिल्म प्रचार तथा अन्य घोषणाका कारण आरती निर्धारित समयभन्दा करिब ३० देखि ४५ मिनेट ढिलो हुन पुग्यो । सोही कारण श्रद्धालुहरू आक्रोशित बनेका थिए । केही भक्तजन आरती नहेरी फर्किएको तथा केहीले स्थलमै बसेर विरोध जनाएका थिए ।

‘हामी आरतीमार्फत शान्ति र आध्यात्मिक ऊर्जा प्राप्त गर्न गएका थियौँ । तर हाम्रो विश्व सम्पदास्थल यति व्यापारिक बन्छ भन्ने कल्पना गरेका थिएनौँ । लामो समयसम्म दाताहरूको नाम घोषणा गरियो र त्यसपछि फिल्मको प्रचारसमेत गरियो,’ एक युजर्सले सामाजिक सञ्जालमा लेखेका छन् ।

उक्त पोस्टमा अभिनेत्री वर्षा राउतलाई समेत प्रश्न गर्दै कलाकारहरूले आफ्नो धारणा राख्न सक्ने अवस्था हुँदा–हुँदै किन मौन बसेको भन्ने जिज्ञासा व्यक्त गरिएको थियो ।

यसको जवाफ दिँदै अभिनेत्री वर्षा राउतले आफू केवल आरतीमा सहभागी हुन गएको र त्यहाँ फिल्म प्रचार हुनेबारे पूर्वजानकारी नभएको स्पष्ट पारेकी छिन् ।

तर वर्षाको उक्त स्पष्टीकरणपछि पनि बहस रोकिएको छैन । अर्का एक प्रयोगकर्ताले कलाकारहरू निर्माता–निर्देशकका ‘कठपुतली’ मात्र हुन् कि भन्ने प्रश्न उठाउँदै कलाकारहरूको पनि आफ्नै विचार र जिम्मेवारी हुनुपर्ने टिप्पणी गरेका छन् ।

यस घटनापछि पशुपतिनाथजस्तो धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको स्थलमा व्यावसायिक गतिविधि तथा फिल्म प्रचार गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा सामाजिक सञ्जालमा तीव्र बहस सुरु भएको छ । एक पक्षले धार्मिक आस्थाको केन्द्रलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न नहुने तर्क गरिरहेका छन् भने अर्का पक्षले कलाकारहरूलाई मात्र दोष दिन नहुने र यस्ता निर्णयमा आयोजक तथा सम्बन्धित निकायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने बताएका छन् ।

जितु नेपालको निर्माण  अभिनय रहेको फिल्म असार ५ गते शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आउदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप