बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

चोरी गरी भागेको तीन घण्टामै प्रहरी फन्दामा परेपछि...

शुक्रबार, ३१ भदौ २०७३, १५ : २३
शुक्रबार, ३१ भदौ २०७३

इटहरी । ठूलो परिमाणको सुन र नगद चोरी गरी फरार भएका एक चोरलाई प्रहरीले तीन घण्टामै पक्राउ गर्न सफल भएको छ । इटहरी ८ स्थित मानबहादुर कटुवालले संचालन गरेको सिद्धकाली होटलबाट चोरी भएको १ लाख ९४ हजार नगद र एक लाख बराबरको सुन तथा चाँदी चोरी गर्नेलाई प्रहरीले केही घण्टाभित्रै पक्राउ गर्न सफल भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले घटनाको जानकारी भएलगत्तै चोरको खोजीमा प्रहरी परिचालन गरेका थिए । होटल संचालक कटुवालले चोरीको विषयमा बिहान ११ः४५ मा प्रहरीलाई खबर गरेका थिए । प्रहरीको टोलीले चोरीमा संलग्न सोही होटलका काम गर्ने २३ वर्षीय महेश सुन्दासलाई इटहरी बसपार्कबाट पक्राउ गरेको थियो ।

सुन्दासबाट चोरी भएको नगद र सुनचाँदी उनैको साथमा तत्कालै बरामद गरिएको थियो । उनले बसमार्फत भाग्ने प्रयास गरेका थिए । डिएसपी सुवेदीको टोलीले टिनको बाकसमा राखिएको सम्पूर्ण बस्तु बरामद गरिएको जानकारी दिए ।

सुन्दासबाट एक लाख ९४ हजार ४५८ नगद, एक तोलाको सुनको बाला, आधा तोलाको सुनको तिलहरी, ६ आनाको सुनको औठी, चादीको पाउजु र धनीपुर्जा नागरिकता बरामद गरिएको छ ।

‘हामीले चोरी भएको तीनघण्टा भित्र अभियुक्त पक्राउ गर्न सफल भयौं, यो हाम्रो सफलता हो,’ डिएसपी सुवेदीले भने । ‘स्मार्ट पुलिसिङ’ अभियान एउटा उदाहरण भएको बताउँदै सुवेदीले चाडपर्वको समयमा हुने यस्ता चोरी घटनालाई तत्कालै नियन्त्रणमा ल्याउन विशेष टोलीसमेत परिचालन गरेको जानकारी दिए । बरामद समानहरु सम्बन्धित धनीलाई प्रहरीको रोहबरमा जिम्मा लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप